• २२ भदौ २०८१, शनिबार

लोपोन्मुख गिद्ध संरक्षणमा चुनौती

blog

संरक्षणकर्मी डिबी चौधरीले सचेतना दिवसमा जिल्लामा गिद्धको अवस्था बारे जानकारी गराउँदै । तस्बिर : मीना कंडेल

मीना कंडेल
कावासोती, भदौ २२ गते । 
नवलपुरमा पछिल्लो समय लोपोन्मुख गिद्ध संरक्षणमा चुनौती थपिएको छ । जिल्लामा एक वर्षको अवधिमा विषादीयुक्त आहाराका कारण २३ गिद्धको मृत्यु भएको छ । लोपोन्मुख गिद्ध संरक्षण गर्नका लागि जुन ठाउँमा रेष्टुरेन्टको स्थापना गरिएको छ त्यहीँ यति धेरै गिद्ध मरिनु चिन्ताको विषय भएको सरोकारवाला बताउँछन् ।

प्रत्येक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिवार अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइरहँदा गिद्ध संरक्षणमा चुनौती देखिएको बताइएको छ । लोपोन्मुख गिद्ध संरक्षणमा एक जनाले मात्र नभई समुदायस्तरको पनि उतिकै भूमिका रहने हुनाले यसतर्फ सबै सचेत हुनुपर्नै सुधन लम्सालले बताउनुभयो । उहाँका अनुसार गिद्ध बस्ने तथा गुँड लगाउने सिमलका रुख मासिँदै गएपछि गिद्धको वासस्थानमा ह्रास आएको उहाँले बताउनुभयो  ।

जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले पर्यापर्यटन र जैविक विविधता अध्ययन गर्ने तथा गिद्ध अवलोकनका लागि पछिल्लो समय विदेशी तथा स्वदेशी पर्यटक पछिल्लो समय बाक्लोरूपमा आउने गरेकाले पनि गिद्ध संरक्षणमा सबैले चासो राख्नुपर्ने जिकिर गर्नुभयो ।

जटायु रेस्टुरेन्टका अध्यक्ष एवम् संरक्षणकर्मी डिबी चौधरी विषाक्त आहाराका कारण गत वर्ष एक वर्षभित्रमा २३ गिद्ध मरेका बताउनुभयो । उहाँले भन्नुभयो, “विषादी प्रयोग गरेर कुखुराको मासु कुकुर र स्याललाई मार्न खुवाउने गरिएको छ । विषयुक्त मासु खाएर मरेका कुकुर र स्यालको सिनो खाँदा गिद्ध मरेका हुन् ।” अहिलेसम्म पनि कुन विषादी कुकुर र स्याललाई मार्नका लागि खुवाइएको छ भन्ने पत्ता लाग्न नसकेको चौधरी बताउनुहुन्छ ।

लोपोन्मुख गिद्धलाई विषादीरहित आहारा उपलब्ध गराएर संरक्षण गर्ने उद्देश्यले कावासोती–१३ मा जटायु रेष्टुरेन्ट स्थापना गरिएको छ । गिद्ध संरक्षणका लागि पहिलोपटक सन् २००६ मा समुदायस्तरबाट रेष्टुरेन्टको सञ्चालन र व्यवस्थापन गरिएको हो । सुरुवातमा ७२ वटा गिद्धबाट जटायु रेष्टुरेन्ट सञ्चालन गरिएको थियो । २०२३ मा पाँच सय १७ वटा गिद्ध रहेको अध्यक्ष चौधरीले बताउनुभयो । गत वर्ष सातौँ पटकमा ६९ वटा गिद्ध जटायुरेष्टुरेन्टबाट प्रकृतिमा छोडिएको थियो । क्रमिक रूपमा गिद्ध बस्ने तथा गुँडमा पनि वृद्धि भएको छ । सुरुमा १७ वटा रहेकोमा अहिले ८० वटा गुण रहेको छ ।

कावासोती–१३ मा रहेको नमुना सामुदायिक मध्यवर्ती वनको करिब ५० हेक्टर क्षेत्रफलमा फैलिएको जटायु रेष्टुरेन्टमा नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये आठ प्रजातिका गिद्ध पाइने अध्यक्ष चौधरीले बताउनुभयो । यहाँ रैथाने प्रजातिका डङ्गर, सेतो, सुन र सानो खैरो गिद्ध तथा आगन्तुक प्रजातिका राजगिद्ध, हिमाली गिद्ध, खैरो गिद्ध र लामो ठोडेगिद्ध रहेका छन् ।

आगन्तुक प्रजातिका गिद्ध भने हिउँदको समयमा आउने गरेका छन् । रेष्टुरेन्टले गिद्धको आहाराका लागि गाउँघरबाट बूढाखाडा भएका गाईभैँसी ल्याएर पाल्ने गरेको छ । रेष्टुरेन्टको गौशालामा पालिएका गाईबस्तु मरेपछि गिद्धका आहाराका लागि प्रयोग गरिने चौधरीले बताउनुभयो  ।