• ५ मंसिर २०८२, शुक्रबार

कलमखोला पुल निर्माणमा ढिलाइ

blog

दंगीशरण–२ कलमखोलामा निर्माणाधिन पक्की पुल । तस्बिर सौजन्य : माधव केसी

लीलाधर वली

घोराही, मङ्सिर ५ गते । दाङमा बजेट अभावका कारण पुल निर्माणको काममा ढिलाइ भएको छ । दंगीशरण गाउँपालिका वडा नं. २ मा दमारगाउँ हुँदै गोलटाकुरी जोड्ने सडकखण्डको कमलखोलामा निर्माण हुन थालेको पुल बजेट अभावका कारण अलपत्र परेको हो ।  

विं.स २०८० पुस मसान्तभित्र पुल निर्माणको काम सक्ने गरि २०७८ असार १५ गते बाबुल/केशव शाह–श्रीकृष्ण जेभी कोहलपुरसँग भ्याटसहित तीन करोड ३४ लाख २० हजार ६ सय रुपियाँमा ठेक्का सम्झौता भएको थियो । पुल निर्माणका लागि ठेक्का सम्झौता भएको समय सकिन दुई बर्ष हुन लाग्दासमेत ४५ मिटर लम्वाई र ११ मिटर चौडाइ रहेको पक्की पुल निर्माण हुन सकेको छैन । समयमा पुल निर्माण नहुँदा स्थानीयलाई हिँड्डुल गर्न समस्या भइरहेको छ ।

सङ्घीय सरकारको शसर्त अनुदानअन्तर्गतको बजेटबाट पुल निर्माणको काम भइरहेपनि दंगीशरण गाउँपालिकाका इन्जिनियर अर्जुन श्रेष्ठले जानकारी दिनुभएको छ । उहाँका अनुसार पुल निर्माणको मुख्य काम सकिएपनि पुलको दायाँबायँ एप्रोज र सल्याव निर्माण, पुलमा पिच, रेलिङ निर्माण, रंगरोगनसँगै वाल, ग्याविन जालीलगायतको काम हुन नसक्दा पुल सञ्चालन हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘पुल निर्माणका लागि प्रयाप्त बजेट नहुँदा निर्माणमा ढिलाइ भइरहेको छ, जस्ले गर्दा बर्षादको समयमा स्थानीयलाई खोला तर्न समस्या हुने गरेको छ ।’’

सङ्घीय सरकारबाट आउने बजेट प्रयाप्त मात्रमा नआउँदा गतवर्ष निर्माण कम्पनीले काम गरेको करिव ५० लाख रुपियाँ निर्माण कम्पनीलाई भुक्तानी गर्न बाँकी रहेको बताउनुभयो । उहाँका अनुसार ८० प्रतिशत पुल निर्माणको काम सम्पन्न गरेको निर्माण कम्पनीले हालसम्म दुई करोडढ ८५ लाख पाँच हजार नौ सय १६ रुपियाँ भुक्तानी लिएको छ ।

यसवर्ष सङ्घीय सरकारबाट बजेट नआएको र गाउँपालिकाले ५७ लाख रुपियाँ छुट्याएपनि निर्माण कम्पनीलाई गतबर्षको ५० लाख रुपियाँ भुक्तानी गर्न बाँकी रहेकाले यो वर्ष पनि पुल निर्माण सम्पन्न नहुने अवस्था रहेको बताउनुभयो । पुल निर्माणको काम सम्पन्न गर्नका लागि करिव ५० देखि ६० लाख रुपियाँ आवश्यक रहेपनि त्यस अनुसारको बजेट नहुँदा पुलको मुख्य काम सकिएर पनि सामान्य कामले पुल सञ्चालनमा समस्या गरेको बताउनुभयो ।