• २२ भदौ २०८१, शनिबार

‘कर्मचारीले उच्च नैतिकताका साथ सेवा प्रवाह गर्नुपर्छ’

blog

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की

विराटनगर, भदौ २२ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सफल बनाउन सबैले आआफ्ना क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नुभएको छ ।

२१औँ निजामती सेवा दिवसका अवसरमा शनिबार यहाँ  शुभकामना सन्देश जारी गर्दै उहाँले कर्मचारीहरूले स्वच्छ आचरण र उच्च नैतिकताका साथ सेवा प्रवाह गर्नुपर्छ भन्नुभयो । सुशासन र विकासमा सबै अग्रसर हुनुपर्ने जनाउँदै उहाँले निष्ठापूर्वक जनताको सेवामा कर्मचारीहरू समर्पित हुनु जरुरी रहेकामा जोड दिनुभयो । मुख्यमन्त्री कार्कीले नेपालको हरेक राजनीतिक परिवर्तनमा निजामती कर्मचारीको प्रत्यक्ष तथा परोक्ष योगदान रहेको चर्चा गर्दै लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सफल बनाउनुको विकल्प नरहेको कुरामा जोड दिनुभयो ।

निजामती सेवाको आदर्श र व्यवहार नै सुशासन र प्रशासनप्रति जनताको विश्वास देखिने जनाउँदै उहाँले दिवसले निजामती सेवाको आदर्श र अस्तित्व राज्यसँग प्रत्यक्ष जोडिने उल्लेख गर्नुभयो । उहाँले सन्देशमा र कर्मचारीहरू उच्च नैतिक आचरण र पेसागत मर्यादामार्फत जनताप्रतिको उत्तरदायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ  । रासस