• २६ असोज २०८१, शनिबार

महिला र तिज पर्व

blog

हाम्रो सनातन परम्परामा अनादिकालदेखि नै व्रत, उपवासका साथ अनेक चाडपर्व मनाइँदै आएका छन् । यसरी मनाइने चाडपर्वमध्ये हरितालिका तिज पनि एक हो । भाद्र शुक्ल तृतीयाका दिन महिलाहरू हरितालिका व्रत गर्छन् । यस व्रतको विधान वर्तमान समयमा उपलब्ध १८ महापुराणमा भेटिँदैन । बृहत् धर्मशास्त्रनिबन्धग्रन्थहरूमा, लक्ष्मीधरकृत कृत्यकल्पतरुका व्रतखण्डमा, त्यसपछिका श्रीदत्तकृत समयप्रदीपमा, चण्डेश्वरकृत कृत्यरत्नाकरमा र हेमाद्रिकृत चतुर्वर्गचिन्तामणिका व्रतखण्डमा पनि यस व्रतको उल्लेख गरिएको छैन भन्ने कुरा वैदिकधर्म मूल रूपमा भन्ने प्रमाणप्रचुर ग्रन्थमा उल्लेख गरिएको छ । यस व्रतको नाम र त्यसको निर्वचन पनि संस्कृत व्याकरणका दृष्टिले नमिल्दो रहेको विज्ञको कथन छ । यो व्रत नेपाल र भारतका केही क्षेत्रमा प्रचलित रहेको पाइन्छ । स्त्रीले मात्र गर्ने यो व्रत दम्पतीले सहधर्माचरण गर्ने मूल वैदिक धारासित अलि मेल नखाए जस्तो पनि देखिन्छ । नेपालको सुदूरपश्चिमतिर मनाइने गौरा पर्व पुराणमा उल्लिखित कथाहरूसित मिलेको जस्तो देखिन्छ । परन्तु शास्त्राध्ययनका कमीका कारण शास्त्रसित समन्वय गरी भनेको लेखेको भने पाइँदैन । हरितालिका तिजको व्रत नेवारी महिलाबाहेक अन्य सबै नेपाली महिलाले लिने गरेको देखिन्छ । विविध परम्पराका कारण व्रत, उपवास, नाचगान आदिमा केही स्थानीय भिन्नता भने देख्न पाइन्छ । 

भविष्योत्तर पुराण अनुसारको व्रत भनिए पनि भविष्य पुराणको उत्तर पर्वको आजभोलि उपलब्ध संस्करणमा देखिएको छैन । लोकमा प्रचलित हरितालिका तिजको व्रत गर्नाले सबै पाप कटनी हुने, संसारभय नरहने, त्रिविधताप हट्ने, पतिको प्रेम पाइने, पार्वती जस्तै गरी आफ्ना परम प्रिय पतिसित रमाउन पाइने, यस लोकमा अनेक सुख भोग्न पाइने र अन्त्यमा महादेवमा मिल्न पाइने जस्ता कुरा बताइएको पाइन्छ । यस भाद्र शुक्ल प्रतिपदाका दिन भोजन गर्नाले स्त्री सात जन्मसम्म बाँझी हुने, विविध जन्ममा विधवा हुने, दरिद्र हुने, पुत्रशोकमा पर्ने, कर्कशा हुने र अनेक दुःख पाउने घोर डरलाग्दा नरकमा पर्ने कुराको उल्लेख गरिएको छ । यस दिन ब्राह्मणको मुखबाट हरितालिका व्रतकथा सुनेमा मात्र पनि हजारौँ अश्वमेध यज्ञ गरेको फल र सयौँ वाजसनेय यज्ञ गरेको फल पाइने कुराको उल्लेख पाइन्छ । यो शुभाशुभ फलका बारेमा यति धेरै बताइनु व्रततिर अभिमुख गराएर शारीरिक, मानसिक र आत्मिक फल पाऊन् भन्ने हो भन्ने बुझ्न सकिन्छ ।  


हरितालिका तिजको व्रत गर्दा पनि अन्य व्रत गर्दा जस्तै एक छाक चोखो हविष्य खानु नै उचित हो । तर महिलाहरूको दर भन्दै आधा रातसम्म र उज्यालो हुने बेलासम्म पनि गरिष्ठ भोजन खाने चलन रहेको देखिन्छ । कतिपयले त मासु नै पनि खाएको पाइन्छ । व्रतका अघिल्ला दिन हविष्य खाँदा मासु खानु वैदिक परम्पराको अनुकूल कुरा होइन भन्ने बुझ्न आवश्यक छ ।  हरितालिका व्रत गर्दा व्रतकथा अनुसार बिहानै नदी, तलाउ आदिमा गएर स्नान गरी अन्न भोजन वर्जित गरी घरमा केराका खम्बा तोरण आदिले सिँगारिएको मण्डप निर्माण गरेर लिपपोत गरेर मण्डपमा पट्टवस्त्र ओछ्याएर पार्वतीसहित महादेवको बालुवाको लिङ्ग स्थापना गरेर स्थानीय जातका मौसमी र नरिवल आदि नाना प्रकारका फलफूल, कन्दमूल, चन्दन, अक्षता फूलपाती, धूपदीप, नैवेद्य आदिले पूजा गर्ने र पतिका साथमा बसेर ब्राह्मणबाट हरितालिका व्रतकथा सुन्ने रातमा नाचगान, बजान गरी जाग्राम बस्ने र भोलिपल्ट बिहान महादेवको लिङ्ग निर्माल्यहरू नदी आदिमा सेलाएर स्नान गरी ब्राह्मणबाट अच्छिद्रवाचन गराएर व्रतपारायण गर्ने, ब्राह्मणहरूलाई यथाशक्ति वस्त्र, सुवर्ण, गोदान दिने, वायनदान (पूजित देवताको प्रियद्रव्यदान) गर्ने अन्य दिन पर्नेहरूलाई पनि भूयसी दक्षिणा दिने ब्राह्मणीहरूलाई वस्त्र, आभूषण, सौभाग्यद्रव्य आदि दिने र दीनदुःखीहरूलाई अन्नदान दिने विधान रहेको छ । यसैका प्रभावले मन्दिरतिर जाँदा अन्न वितरण गर्दै हिँड्ने चलन बसेको हो । 


 बुहारीहरू माइत जाने, बुढी महिलाहरू पनि पाएसम्म माइत जाने, दाजुभाइ दिदीबहिनीहरूसित भेटघाट हुने, मिठो मिठो खाने, गीत गाउने, नाच, गान गर्ने रमाउने व्रतपर्व हुनाले नेपाली महिलाका लागि यो व्रतपर्व अन्यन्त प्रिय पर्व भएको पाइन्छ । तिज पर्व धार्मिक पर्वका साथै सांस्कृतिक र लौकिक पर्व पनि हो । अतः यस पर्वको अन्य महत्व पनि रहेको देखिन्छ । अविवाहित कन्याहरूले आफ्नो इच्छा अनुसारको प्रेम गर्ने, वर पाउनका लागि कामना गरेर व्रत गर्ने पनि यो व्रत हो । अतः अविवाहितहरूले एक्लै व्रत गर्ने र विवाहितले शिवपार्वतीको जस्तै प्रेममय दाम्पत्य जीवन होस् भन्ने कामनाले दम्पतीले मिलेर गर्न सकिने व्रतका रूपमा तिजलाई लिनु पर्ने देखिन्छ । बिनाव्रत पुरुषले पनि सुयोग्य प्रेम गर्ने समर्पित पत्नी पाउन नसक्ने कुरा पुराणमा उल्लेख गरिएको छ : गृहे गृहे न किं नार्यो रूपलावण्यगर्विताः । परं विश्वेशभक्त्यैव लभ्यते स्त्री पतिव्रता ।। (स्कन्दपुराण काशीखण्ड) पतिवत्नी महिलाले एक्लै व्रत गर्ने कुरालाई शास्त्र अनुसार उचित मानिएको पाइँदैन । दम्पतीमा समता नभएका घरमा अलक्ष्मीको बास हुने, जीवन विफल हुने कुरा पनि शास्त्रमा बताइएको छ : दम्पत्योः समता नास्ति यत्र यत्र हि मन्दिरे । अलक्ष्मीस्तत्रतत्रैव विफलं जीवितं तयोः ।। (ब्रह्मवैवर्त पुराण कृष्णजन्मखण्ड) । जहाँ पति पत्नीसित र पत्नी पतिसित सन्तुष्ट हुन्छन् त्यहाँ पाइलैपिच्छे सुख हुन्छ, कल्याण हुन्छ भन्ने कुरा धेरै पुराणमा बताइएको पाइन्छ : पत्या तुष्यति यत्र स्त्री तुष्येद् यत्र स्त्रिया पतिः । तत्र तुष्टा महालक्ष्मीर् निवसेद् दानवारिणा । (स्कन्द पुराण काशीखण्ड), यत्र तुष्यति भत्र्रा स्त्री स्त्रिया भर्ता च तुष्यति । तत्र वेश्मनि कल्याणं सम्पद्येत पदे पदे ।। (स्कन्द पुराण काशीखण्ड) । दम्पतीको धर्म, अर्थ र काममा मन, विचार र भाव एकै हुनुपर्ने, समान व्रत हुनुपर्ने, त्यस्तो भएमा मात्र आनन्दमय जीवन हुने, नभएमा नहुने कुरा पनि शास्त्रमा बताइएको छ : सम्यक् धर्मार्थकामेषु दम्पतिभ्यामहर्निशम् । एकचित्ततया भाव्यं समानव्रतवृत्तितः ।। सच्च्रित्र भएकी पत्नीको त्याग गर्न नहुने र त्याग गरेमा पतित भइने कुरा पनि शास्त्रमा बताइएको छ :  सद्वृत्तचारिणीं पत्नीं त्यक्त्वा पतति धर्मतः ।।  कोही पापी पुरुषले सच्चत्रवती स्त्रीको त्याग गर्छ भने मारे बराबरै पापी भएर नरक भोग गर्छ भनिएको छ ।


 पतिका प्रसन्नताका लागि, आयुष्यवृद्धिका लागि पनि महिलाले हरिद्रा, कुमकुम, सिन्दुर, गाजल, कुर्ती आदि लगाउने, पान खाने, कोरीबाटी गर्ने, गरगहनाले सजिने आदि निर्देश गरेको पाइन्छ : हरिद्रां कुङ्कुमं चैव सिन्दूरं कज्ज्लं तथा । कूर्पासकं च ताम्बूलं माङ्गल्याभरणं शुभम् ।। केशसंस्कारकं चैव करकर्णादिभूषणम् । भर्तुरायुष्यमिच्छन्ती दूरयेन्न पतिव्रता ।। (स्कन्दपुराण ब्राह्मखण्ड, शिवपुराण) । पतिले पनि पत्नीका लागि राम्रो भोजन, वस्त्र, फूल, गहना आदिले सम्मान गर्ने र सरस वार्तालाप गरेर नित्य सन्तुष्ट बनाउनु पर्छ, सराप्न हुँदैन, गाली गर्न र चर्को डाकोले तर्साउन हुँदैन भन्ने शास्त्रको निर्देशन रहेको पाइन्छ । भोजनाच्छादनैः पुष्पभूषणाद्यैर्निजस्त्रियम् । आलापैस्सरसैर्नित्यं तोषयेत् तां शपेन्न च ।। यसरी पतिपत्नी अर्थात् दम्पतीले एकअर्कालाई सम्मान गर्ने शास्त्रीय परम्पराकोट आजभोलि पालन नहुँदा घरेलु हिंसा हुने गरेको र पतिपीडित पत्नी र पत्नीपीडित पतिको सङ्ख्या दिनानुदिन बढ्दै गएको सुनिएको छ । अतः तिज जस्ता पर्वले यस्ता विषय चर्चामा ल्याउन पर्ने देखिन्छ । विविध गीत तथा प्रवचनबाट यी कुराको प्रचार प्रसार गरेर सबैको सुमधुर दाम्पत्य जीवनको कामना गर्ने, व्रत उपवास आदि गर्ने र शारीरिक, मानसिक र आत्मिक तहमा स्वस्थ शान्त हुन प्रयत्न गनु पर्छ ।

 महिला सशक्त हुनका लागि अध्ययन नै विशिष्ट तत्व हो भन्ने बुझेर निरन्तर अध्ययन चिन्तन मनन गर्नुपर्ने देखिन्छ : गतेऽपि वयसि ग्राह्या विद्या सर्वात्मना बुधैः । इह चेत् स्यान्न फलदा फलदा चान्यजन्मनि ।। भनिएकाले पनि उमेर ढल्किए पनि निरन्तर अध्ययन गर्नुपर्ने देखिन्छ । यस जन्ममा काम लागे राम्रै भयो, यस जन्ममा काम नलागे अर्को जन्ममा काम लाग्छ । अर्को जन्ममा प्रतिभाशाली भएर जन्मिइन्छ भन्ने मान्यता हो । अतः बेलामा पढ्न पाइएन भन्ने दिदीबहिनीहरूले पनि जीवनको उत्तरार्धमा अवसर पाउँदा पढ्न थाल्नु पर्छ । परमार्थ सिद्धिका कुरा सिकेर आनन्दमा बस्नु पर्छ । अवसाद वा गम्भीर चिन्तामा पुग्नु हुँदैन । पतिपत्नीको समभाव नरहँदा एकअर्कालाई पीडित बनाउँदा अचेलको भौतिक विचार भएका धेरै दम्पतीको सम्बन्ध विच्छेद भइरहेको सुनिएको देखिएको पनि छ । यसरी घर भाडिँदा बालबालिका र कतिपय महिलामा गम्भीर मानसिक तथा अन्य भौतिक समस्या भएको पनि देखिन्छ । अतः महिला र पुरुष दुवै शिक्षित र समझदार भएमा नै घर सही ढङ्गले चल्ने हुँदा तिजका अवसरमा पनि सकारात्मक सन्देशले भरिएका गीत लेख्न गाउनु पर्छ र महिलाले निरन्तर असल विद्याको अध्ययन गर्ने गर्नु पर्छ । यसो भएमा आफ्ना पतिलाई पनि सुमार्गमा हिँडाउन सकिने हुन्छ । एक्लै जीवन व्यतीत गर्न चाहने महिलालाई पनि सजिलो हुन्छ । महाभारतकी सुलभाको चरित्रबाट पनि सिक्न सकिन्छ । उनी आफू प्रसिद्ध प्रधान नामका राजाकी छोरी अत्यन्त सुशिक्षित र सुयोग्य भएकीले आफूलायक वर नपाइएकाले अविवाहित ब्रह्मचारिणी भएको कुरा आत्मविश्वासका साथ बताएकी छन् : प्रधानो नाम राजर्षिर् व्यक्तं ते श्रोत्रमागतः । कुले तस्य समुत्पन्नां सुलभां नाम विद्धि माम् । साहं तस्मिन् कुले जाता भर्तर्यसति मद्विधे । विनीता मोक्षधर्मेषु चराम्येका मुनिव्रतम् । 


सृष्टिको गहन जिम्मेवारी प्रकृतिले नारीलाई नै सुम्पिएका कारण नारीहरूको विशेष महत्व रहेको कुरा शास्त्रले पनि बारम्बार भनिरहेको छ । पतिपत्नीमा भेद छैन पाणिग्रहणदेखि सर्वकर्ममा सहकार्य हुने कुरा अविस्मरणीय छ : जयापत्योर्न विभागो विद्यते पाणिग्रहणाद्धि सहत्वं कर्मसु तथा पुण्यफलेषु, द्रव्यपरिग्रहेषु   च । (आपस्तम्बधर्मसूत्र) । स्त्रीहरू घरका देवता हुन्, उनीहरूले विशेष शौच व्रतउपवास गरिरहन आवश्यक छैन, पतिशुश्रूषाबाट नै परमगति प्राप्त हुन्छ : स्त्रियो गृहदेवताः तासां न शौचं न व्रतं नोपवासः, पतिशुश्रूषयैव स्त्रियो गच्छन्ति परमां गतिम् । (वैदिकधर्म मूल रूपमा) पति शुश्रूषा भनेको पतिले हिँड्ने धर्ममार्गमा साथ दिने भनेको हो । दासी हुने भनेको होइन । धर्म, अर्थ र काम त्रिवर्ग पतिपत्नी साथमा रहेर प्राप्त गर्न सकिने कुरा हुन् । मोक्षसाधनमा भने कसैको आवश्यकता पर्दैन । पत्नी हि सर्वस्य मित्रम्, पत्नी नै सबैकी मित्र हुन् ।  सखा ह जाया  पत्नी सखा हुन् । अयज्ञो वा एष योऽपत्नीकः पत्नीरहित पुरुष कुनै यज्ञादि कार्यका लागि अयोग्य हुन्छ । इत्यादि वैदिक वाक्यहरूले र यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः । यत्रैतास्तु न पूज्यन्ते सर्वास् तत्राऽफलाः क्रियाः ।। इत्यादि स्मृतिवचन र अनेकौँ पुराणवचनबाट पनि नारीहरूको स्थान उच्च रहेको बुझ्न सकिन्छ । साथै पतिपत्नीको सम्बन्ध सुमधुर र प्रेममय हुनु स्वर्गमा पनि नपाइने दुर्लभ कुरा हो । एकको अर्कासित अनुराग हुनु अर्काको चाहिँ ऊसित विरक्ति हुनु चाहिँ कष्टतर कुरा हो भनिएको छ : स्वर्गेऽपि दुर्लभं ह्येतदनुरागः परस्परम् । रक्तमेकं विरक्तं तु तस्मात् कष्टकरं नु किम् ।। (दक्षस्मृति) । यसै गरी पत्नीका लागि पति र पतिका लागि पत्नी प्रियतम मित्र, बन्धुहरूको समूह, सम्पूर्ण इच्छा गरिएका वस्तुहरू, सम्पूर्ण सम्पत्तिको खजाना र जीवन पनि हो भन्ने कुरा नानीबाबुलाई जानकारी होस् :  प्रेयो मित्रं बन्धुता वा समग्रा सर्वे कामाः शेवधिर् जीवितं वा । स्त्रीणां भर्ता धर्मदाराश्च पुंसामित्यन्योन्यं वत्सयोज्र्ञातमस्तु । भनेर मालतीमाधवमा भनिएबाट पनि पतिपत्नीमा समता हुनुपर्ने कुरा स्पष्ट हुन्छ । 

यसरी नारीहरूको अवस्था सम्मानजनक भएको कुरालाई सबैले बुझ्नु पर्छ र नारीहरूको गौरव बोकेको चाडको महत्व नघट्ने नारी अस्मितामा आँच नआउने गरी मनाउनु पर्छ । आजभोलि महिना दिनअघिदेखि दर खाने, खुवाउने, रमाइलो गर्ने गरिन्छ । धार्मिक चाडपर्वका रूपमा होइन मोजमजा गर्ने अवसरका रूपमा लिने र यसलाई राजनीतिक रूप दिनसमेत थालेको देखिन्छ । सामूहिक दर खाने खुवाउने भन्दै अनेक विकृति ल्याउन थालिएको छ र धर्मका विरुद्ध कुराहरू पनि घुसाउन थालिएको छ । अतः सावधान भएर समुचित तरिकाले तिजको मौलिक धर्मसंस्कृति जोगाउनु पर्छ । 


तिज आजभोलि भड्किलो भयो भन्ने गरेको पनि सुनिन्छ, देखिन्छ । खास गरी एक महिनाअघिदेखि दर खाने, त्यो पनि होटल, पार्टीप्यालेस आदिमा गएर अस्वस्थ खाद्य खाने गरेकाले धेरै बिरामी परेका कुरा पनि सुनिन्छ । वस्तुतः दर भनेर एकै दिन खाने चलन हो तर अचेल विविध कारणले अनेक ठाउँमा दर खाइरहेका, नाच गान गरिरहेका देखिन्छन् । यो पनि एउटा रमाउने ठाउँ भने भएको छ । महिलाहरू रमाउनु राम्रै हो । तथापि चाडपर्वको महत्व रहने गरी सांस्कृतिक मूल्य र मान्यता अनुसार नै तिज मनाउनु उत्तम हो । गरगहना, लुगाफाटा धेरै महँगा र भड्किला हुन पर्दैन । सामान्य नफाटेका सुकिला लुगा लगाउन सकिन्छ । लुगा र गहनाले मात्रै व्यक्तित्व हुने पनि होइन । गुणले क्षमताले सच्चरित्रले र अध्ययनले व्यक्ति सुन्दर र व्यक्तित्वशाली हुने हो । अतः महिला वा पुरुष दुवैले आफ्नो गुणवृद्धिमा ध्यान दिन आवश्यक छ न कि भड्किला गरगहना र लुगाफाटामा । बाहिरी गहना र शृङ्गारलाई मूर्खले धेरै ठुलो ठान्छन्, ज्ञानवान्हरूले गहनालाई भार ठान्छन् र लेपनलाई अथात् मेकप आदिलाई मल ठान्छन् भनिएको पाइन्छ । बुधा ह्याभरणं भारं मलमालेपनं तथा मन्यन्ते स्त्री च मूर्खश्च तदेव बहु मन्यते ।। सामान्य शृङ्गार र सौभाग्यमा रमाउने र आफ्नो भित्री व्यक्तित्व निखार्नेतिर सबैको ध्यान जान आवश्यक छ । दर खाँदा पनि हल्का, स्वस्थकर, हितकारी भोजन ग्रहण गर्नु उचित हो । आयुर्वेदमा लोभले र यो के हो यसले हित घत के गर्छ नबुझी भोजन ग्रहण गर्न हुँदैन भनिएको छ– न लोभान्नाप्य विज्ञानादाहारमुपयोजयेत् । परीक्ष्य हितमश्नीयाद् देहो ह्याहारसम्भवः ।। अतः दरमा पनि बुझेर, परीक्षण गरेर मात्र उपयुक्त भोजन ग्रहण गर्न उचित हो ।

चाडपर्वको महत्व रहने गरी सांस्कृतिक मूल्य र मान्यता अनुसारै तिज मनाउनु उत्तम हो । गरगहना र लुगाफाटा धेरै महँगा र भड्किला हुनु पर्दैन । सामान्य नफाटेका सुकिला लुगा लगाउन सकिन्छ । लुगा र गहनाले मात्रै व्यक्तित्व हुने पनि होइन । गुण, क्षमता, सच्चरित्र र अध्ययनले व्यक्ति सुन्दर र व्यक्तित्वशाली हुने हो ।

अघिल्लो दिन शुद्ध सात्विक भोजन ग्रहण गरिसकेपछि व्रतका दिन नदी, तलाउ आदिमा वा घरैमा पनि स्नान गर्दा पनि प्राकृतिक तरिकाले शुद्ध द्रव्यले स्नान गर्ने गर्नु पर्छ । शरीरका लागि बुकुवा, हलेदो वा बेसार दही वा तरसहितको दूध, जौको पिठो, चामलको पिठो आदि मिलाएर तयार गरी शरीर रगडी रगडी स्नान गर्नाले त्वचाका मृतकोषिका पनि हटेर निर्मल, मुलायम र चम्किलो छाला हुन्छ । सधैँ नै यसरी प्रकृतिमैत्री स्नान पद्धति अँगालेमा पर्यावरण रक्षाका साथै स्वदेशको अर्थतन्त्र सुदृढ गर्न पनि सहयोग पुग्छ । केश धुनका लागि रिट्ठा, अमला, सिकाकाइ, मेथीदाना र अन्य जडीबुटी एक रात  भिजाएर बिस मिनेट उमाली मिचेर छानेर तयार गरी केश धुनु पर्छ । यसरी सधैँ प्रयोग गरिएमा केश झर्ने, अकालमा फुल्ने, चाया पर्ने समस्याबाट पनि मुक्ति पाइन्छ । स्वदेशी उत्पादनका भृङ्गराज, जपापुष्प आदि केशका लागि उत्तम जडीबुटी हुन् । यी हाम्रा चाडपर्वहरूले प्रकृतिसित निकट भएर शारीरिक, मानसिक र आत्मिक रूपमा आफू स्वस्थ हुन, प्रसन्न हुन, आनन्दमय जीवन बिताउन सिकाएका छन् । उपवासले पनि हामीलाई स्वस्थ हुन, मनोरोग हटाउन सहयोग पु¥याउँछ । 

अतः हाम्रा अन्य चाडपर्व झैँ तिजमा पनि व्यापारीका विज्ञापनमा नपरी संयमित भई सुदीर्घ परम्पराले खारिएका विधान अनुरूप आफ्ना अवस्था अनुसार यथाशक्ति भार नबोकी मनाउन पर्छ । अर्काको देखासिकी गर्न कत्ति पनि आवश्यक छैन । आफ्नो आत्मविश्वास बढाएमा, मन शुद्ध पारेमा, इन्द्रियका विषयहरूमा निर्लिप्त हुँदै जान सकेमा सर्वकल्याण हुने नै छ । जति सरल जीवन बाँच्यो उति भ्रष्टाचार गर्न नपर्ने, छलकपट गर्न नपर्ने, ढाँट्न नपर्ने अर्काको धन हरण गर्न नपर्ने र दाजुभाइको भाग हरण गर्न पनि नपर्ने हुन्छ । यसरी शुद्ध तरिकाले कमाइएको धनले मत्रै सुख शान्ति हुने कुरा शास्त्रमा पनि बताइएको छ । अशुद्ध धनबाट गरिएका कुनै कामले पनि सुख शान्ति प्राप्त हुन सक्दैन । भनिएको पनि छ :  सर्वासामेव शुद्धीनां धनशुद्धिः परं मतम् । अतः शारीरिक शुद्धि, मानसिक शुद्धि र धनशुद्धिसहितको व्रत उपवास गरेर आनन्दमा रहौँ । यसरी नै सर्वकल्याणको ढोका खुल्छ र घर, समाज तथा राष्ट्र समुन्नत हुन सक्छ ।   

लेखक बाट थप