• १० मंसिर २०८१, सोमबार

ऐतिहासिक भीमसेनस्थान

blog

कुनै बेला पूर्वी नेपालको प्रशासनिक केन्द्र भएका कारण धनकुटा नगरमा बाक्लो चहलपहल हुन्थ्यो । उत्तरमा किमाथाङ्का हुँदै तिब्बत र दक्षिणमा विराटनगर हुँदै भारतको जोगबनी मात्रै होइन, फारबिसगन्ज र कोलकातासम्म जोड्ने व्यापारिक मार्गमा पथ्र्यो धनकुटा । उत्तरमा चैनपुर र दक्षिणतिर विजयपुरबाट पूर्वी नेपालको प्रशासनको केन्द्र धनकुटामा सरेपछि धनकुटा नगर थप गुल्जार हुन पुगेको थियो ।

करिब २०५ वर्षअघि लेखिएको एक पुस्तकमा उसबेलै धनकुटा नगर व्यापक चल्तीको व्यापारिक मार्गमध्ये एक थियो । फ्रान्सिस बुकानन ह्यामिल्टनले आफ्नो पुस्तक ‘एन एकाउन्ट अफ किङ्डम अफ नेपाल’ (सन् १८१९:१५७) मा उल्लेख गरे अनुसार त्यसबेला चैनपुरको सिधा व्यापार तिब्बतसँग चल्थ्यो । अरुणतिरको हटिया र तमोरतिरको ओलाङचुङमा व्यापार चल्थ्यो । यी दुई नदीको बिचमा रहेको पोकाङ (छोकाङ ?) ठुलो व्यापारिक केन्द्र थियो । यहाँ गर्मी मौसममा व्यापार चल्थ्यो । तिब्बतबाट भेडामा बोकाएर नुन ल्याइन्थ्यो । यस्तै सुन, चाँदी, मृगको छाला, चाँैरीको पुच्छर, कम्बल आदि आयात हुन्थ्यो । चैनपुरतिरबाट धान, गहुँ, तेल, नौनी, सुतीको कपडा आदि निर्यात हुन्थ्यो । विजयपुर केन्द्रबाट पोकाङ पुग्ने बाटोमा मूलघाटबाट तमोर नदी किनार भएर, तमोर तरेर धानकोट (धनकुटा) हुँदै तथा माङमाया खोलाको बाटो भएर त्यहाँ पुगिन्थ्यो ।

व्यापार गर्ने उद्देश्य तथा अन्य विविध कारणले काठमाडौँ उपत्यकाबाट नेपालभरि छरिने क्रममा नेवारहरूले धनकुटा नगरलाई गुल्जार बनाए । धनकुटा नगरको बिचबजारमा नेवारहरूको इष्टदेव भीमसेनको स्थान स्थापना हुनुले पनि तथ्यलाई स्पष्ट पार्छ । बिचबजारलाई धनकुटा नगरको सबैभन्दा पुरानो बस्ती मान्न सकिने विभिन्न ऐतिहासिक आधार उपलब्ध छन् ।

धनकुटाको इतिहाससम्बन्धी जानकार पुराना पुस्ताका ऐतिहासिक व्यक्तित्व नरपति पोखरेलले ‘नरपति पोखरेलका कृति’ (२०६६:४५०) मा त्यसबेला बखतावरसिंह भण्डारीले भीमसेनको पूजा चलाउन बजारमा लाइन मिलाई १० वटा झिँगटीको छानो भएका पक्की घर बनाएका थिए भन्ने उल्लेख गरेकाले पनि धनकुटामा सहरी विकासको सुरुवात भीमसेनस्थान रहेको बिचबजारबाटै सुरु भएको थियो भन्ने सङ्केत गर्छ । नेवार समाजमा ‘भिं’ को अर्थ शुभ र ‘द्यः’ को अर्थ देवता हुन्छ । अर्थात् ‘भिंद्यः’ को समग्र अर्थ शुभ गर्ने देवता भन्ने हुन्छ । ‘भिंद्यः’ लाई भीमसेन पनि भनिन्छ । यो देवतालाई नेवारहरूले आफ्नै परिवारका रूपमा मान्यता दिँदै म्हपूजा गर्ने, जात्रा गर्ने गरेका छन् । सोही कारण उपत्यका र उपत्यकाबाहिर बसोबास गर्न पुगेका नेवारहरूले ‘भिंद्यः’ अर्थात् भीमसेनको विशेष मन्दिर बनाएका हुन्छन् । कतिपय स्थानमा मन्दिर नरहेको अवस्थामा पनि व्यापार गर्ने थलोको एक कुनामा भीमसेनलाई स्थापना गरिएको हुनाले भीमसेनको पूजा आराधनाबिना नेवारहरूको दैनिकी नै सुरु हुँदैन (डा. राजनलाल जोशी, डिएमसी जर्नल वर्ष ७ अङ्क ६–जुलाई २०२२ः४३) ।

नेवारहरूको प्राचीन बस्ती दोलखाबाट नेवारहरू उपत्यकामा आएका मानिन्छ । पहिले दोलखा ठुलो व्यापारिक मार्ग रहेको र नेवारहरू त्यहाँबाट तिब्बतसम्म व्यापार गर्न जाने हुँदा दोलखाकै एक भीषण व्यक्तिलाई नेवार व्यापारीहरूले आफूहरूको सुरक्षार्थ लगेका भनाइ पाइन्छ । भारतवर्ष र तिब्बत जोड्ने वा तिब्बत जाने सिल्करोडमा बस्दै आएका भीमसेनको व्यापारका क्रममा लुटपाट जस्ता सम्भावित खतराबाट जोगिन साथ सहयोग लिइएको र पछि नेवार समाजमा उनी बलका देवताका रूपमा प्रसिद्ध भएका हुन् (जोशी, सन् २०२२ः४५) । 

नेवारहरू गणेशपछि भीमसेनको पूजा गर्छन् । धनकुटा नगरको बिचबजारमा भीमसेनस्थान भए जस्तै सिरानबजारमा गणेशको मन्दिर रहेको छ । धनकुटाको भीमसेनस्थान र यसको गुठीको स्थापना गरी यहाँको व्यापारिक समाजलाई खुसी राख्न दुई सय वर्षभन्दा अघि यस क्षेत्रको प्रशासन चलाउन खटिएका तत्कालीन काजी बहादुर भण्डारी र उहाँका छोरा बख्तावरसिंह भण्डारीको महत्वपूर्ण योगदान रहेको ऐतिहासिक आधार प्रशस्तै पाउन सकिन्छ ।

धनकुटाका हाकिम बहादुर भण्डारी

हाल रहेको धनकुटाको जिल्ला प्रहरी कार्यालय र निसान भगवतीस्थान रहेको ठाउँ कुनै बेला सैन्य र सामरिक दृष्टिले अत्यन्तै महत्वपूर्ण थियो । यसै स्थानमा ठडिएको विसं १८७९ को शिलालेखले यहाँ काजी जसपाउ थापाले कोतखाना स्थापना गरेका थिए भन्ने प्रमाणित गर्छ । विभिन्न ऐतिहासिक पत्रको अध्ययनबाट काजी जसपाउले पाँच वर्ष धनकुटामा रहेर पूर्वी नेपालको प्रशासन चलाएका देखिन्छ । उहाँपछि धनकुटामा काजी बालनरसिंह कुँवर प्रशासक भएर पुग्नुभएको थियो । काजी जसपाउ थापाअघि काजी बहादुर भण्डारी त्यहाँको प्रशासन हेर्ने गरी धनकुटा पुग्नुभएको ऐतिहासिक पत्र इतिहासकार ज्ञानमणि नेपालले ‘नेपालनिरुपण’ (२०५५:२६९) मा प्रकाशित गरेका छन् । 

तत्कालीन मुख्तियार जनरल भीमसेन थापाले काजी बहादुर भण्डारीलाई विसं १८७५ फागुन वदी ६ रोज ३ मा लेखेको यो पत्रमा ‘मधेसको बाट विजैपुर आइ १ दिन मुकाम् गरी माघका २७ दिन जाँदा धनकुटा आइपुग्या केहीदिन विजैपुर बसी मुलुकको हालसुरत बुझी रैतीका सल्लाह गरी ७५ सालको कबुलियतबमोजिम रुपया कविराज खड्काबाट दर्बार पठाउन्या र उसको पनी मुलुकमा रह्याको बाजबी अुसल गराई दिन्या बंदोबस्त गरी तैले धनकुटा जानु भन्या हुकुमको लालमोहर आयो धनकुटा पुग्या काम बढिया... दाम काम बढिया गरी हुन्या पाठको बन्दोबस्त बाँधी धनकुटा जानु भन्या हुकुम हुँदा सोमाफिक लालमोहर तिम्रा नाउँमा भै गयाको हो... धनकुटा पुग्यापछि मोहर देषन्या काम भएछ’ भन्ने बेहोरा परेको छ । काजी बहादुर भण्डारीले धनकुटाको प्रशासक भएर काम गरेको ऐतिहासिक रूपमा प्रमाणित गर्छ ।

काजी बहादुर भण्डारीका पुर्खा पनि दरबारका भारदार थिए । रणबहादुर शाहको समयका सक्रिय सरदार जसिवन्त भण्डारीका छोरा हुन्, काजी बहादुर भण्डारी । उहाँका हजुरबुवा पारथ भण्डारी हुनुहुन्थ्यो । तत्कालीन राजा रणबहादुर शाहले आफूलाई मन परेकी तिरहुतिया बालविधवा कान्तवतीसँगको विवाहअघिको सर्त अनुसार विसं १८५५ मा बालक युवराज गीर्वाणयुद्धविक्रम शाहलाई राजा घोषणा गर्दा ताँवापत्र गर्ने भारदारमध्ये सरदार जसिवन्त भण्डारी पनि एक हुनुहुन्थ्यो । ताँवापत्र गर्दा जसिवन्तलाई गजसिँहको नाति र पारथ भण्डारीको छोरा भनी लेखिएको छ (चित्तरञ्जन नेपाली, श्री ५ रणबहादुर शाह–२०७५:१०९) ।

काजी बहादुर भण्डारीका हजुरबुवा पारथ भण्डारी पृथ्वीनारायण शाहकालीन गोरखाली भारदार हुनुहुन्थ्यो । उहाँ बख्सी अभिमानसिंह बस्नेतको नेतृत्वमा पूर्वतिर बढेको गोरखाली सेनामा सहभागी हुनुहुन्थ्यो । उहाँहरूको सन्तानको बसोबास हाल नुवाकोटको झिल्टुङमा रहेको छ । सरदार पारथ भण्डारी पहिले लमजुङ राज्यसँग सम्बद्ध हुनुहुन्थ्यो । विसं १८२३ को असोजमा गोरखाली सेनाले लमजुङ आक्रमण गर्दा कुँजर भण्डारीलगायत २४० जना लमजुङे सेनाले गोरखालीसमक्ष आत्मसमर्पण गरेका थिए । तीमध्ये सरदार पारथ भण्डारी पनि एक हुनुहुन्थ्यो । लाखाजुङमा अधिकार जमाएपछि गोरखाली सेनानायक वंशराज पाँडेले आत्मसमर्पण गरेका लमजुङे सेनाको हतियार खोसी उनीहरूलाई छाडिदिएका थिए तर लमजुङको अवस्था राम्रो नदेखेर पारथ भण्डारीले भने सधैँका लागि लमजुङ परित्याग गरी गोरखाली सैन्यसेवामा प्र्रवेश गर्नुभएको थियो (बाबुराम आचार्य, श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी–२०६१:३०७–८) ।

धनकुटामा रहेको भीमसेनस्थानमा एक शिलालेख ठडिएको छ । ‘धनकुटाको ऐतिहासिक सामग्रीहरू’ (२०६१:११–१२) मा भीमबहादुर बस्नेत र ठाकुर बरालले उल्लेख गरे अनुसार शिलालेखको बेहोरा यस्तो छ :

श्री हनुमन्भीमशेन शिवम् २

स्वस्ति श्री महोरक्षावलाधीसकल सामन्त चुडामणि मरी विनीस जित पाद पीठ श्री श्री श्री श्री श्री मन्महाराजा धिराज राजेन्द्र विक्रम शाहदेव मन्त्रि तिलक श्री मद् भीमसेनधीस षित महावर भंडारीत्युपन्नामक श्री बहादुर द्वय मन्त्रिण ...को प्रीतये प्रासादन्निर्माय भूव सुमति १८८१ मिति विक्रम शाके शुक्ल सित दशहरायं दशम्या रविवासरे समर्पित इति २ शुभ्’  

तर लेखकद्वयले शिलालेखमा उल्लेख गरेको महावर भंडारी नभई बख्तावर भण्डारी हुनु पर्छ । किनकि बख्तावरसिंह भण्डारी त्यो समयमा धनकुटातिरै खटिनुभएको थियो भन्ने ऐतिहासिक पत्र पनि उपलब्ध छन् । योगी नरहरिनाथले ‘इतिहास प्रकाशमा सन्धिपत्र सङ्ग्रह भाग १ (२०५५:३०५) मा बखतवारसिंह भण्डारीको नाममा तत्कालीन राजाले विसं १८९७ असोज सुदी ७ रोज ६ मा लेखेको रुक्का प्रकाशित गर्नुभएको छ । रुक्कामा ‘धनकुटामा तेरा बाबले र तैले थापना ग¥याको र पौवा पाटी पक्की घर बनायाको गुठ निमित्य पौवा पाटी पक्की घरमाँ पसल राषन्या नेवार जति छन् तिन्हरूलाई ञहाँबाट जान्या भारदारहरूले रकम दै दस्तुर देउ भनि टंटा गर्छन्. तेस पाटी पौवामाँ पसल राषन्या नेवारलाई रकम कलम दस्तुरादमाँ टंटा नगर्नु डंड कुंड भया ताँहाँका आमदानीले... लाई धुप दीप नैवेद निमित्य. फिर्ता गरिदिनु न लिनु हाँम्रो जंगी काँम पर्दा पुर्व तरफ...पल्टन जानु प¥यो भन्या तेस पौवा पाटीमाँ रहन्या पसल्याहरूले पल्टनका साथ जाई पसल थापनु औ पसल्याहरूले साँझ विहाँन नित्य पुजा भजन गर्नु...’ भन्ने उल्लेख छ ।

यसबाट बख्तावरसिंह भण्डारी र उहाँका बाबु काजी बहादुर भण्डारीले धनकुटाको बिच बजारमा भीमसेनस्थान स्थापनामा योगदान गरेको स्पष्ट हुन्छ । त्यसबेला बख्तावरसिंह कप्तान दर्जामा कार्यरत हुनुहुन्थ्यो ।

भीमसेनस्थानमा राखिएको शिलालेखमा विसं १८८१ उल्लेख भएकाले त्यसबेलै यहाँ मन्दिर निर्माण भएको हो भन्ने देखिन्छ तर त्यसअघि नै भीमसेनको पूजा चलाउन काजी बहादुर भण्डारीका नाममा तत्कालीन राजाले रुक्कामार्फत आदेश दिइसक्नुभएको थियो ।  विसं १८७६ भदौ वदी ५ रोज ३ मा तत्कालीन राजाबाट धनकुटामा खटिएका काजी बहादुर भण्डारीको नाममा लेखिएको रुक्कामा ‘धनकुटाका... पुजा अक्षता धूप वाति निमित्य. तेसै जगामा ७६ सालमा झाराले का विह«ौटा मध्ये पार्सि मुरि । २० साधन्यको पधे¥या मुरि । २० जम्मा षेतमुरि । ४० गुठ राषि बक्स्यौं’ भन्ने परेको छ (योगी, २०५५:३०४) । यसबाट हेर्दा विसं १८७५ मा धनकुटा पुग्नुभएका काजी बहादुर भण्डारीले तत्कालै भीमसेनस्थान स्थापनामा सहयोग गर्नुभएको र त्यहाँ गुठी राख्न तत्कालै राजाको आदेश पाएको स्पष्ट हुन्छ ।

धनकुटाको भीमसेनस्थानको गुठी रहेको धनकुटा बेँसीको एउटा टारलाई अहिले पनि गुठीटार भनिन्छ । भीमसेनस्थानमा १० घर नेवार गुठियार छन् । भीमसेनस्थानको नित्य पूजा यहाँका शाक्य नेवार परिवारले चलाउँदै आएका छन् । कालुबहादुर शाक्यका छैटौँ सन्तति हाल यहाँका पुजारी रहेका छन् ।

Author

राजकुमार दिक्पाल