• २२ भदौ २०८१, शनिबार

विराटप्रतिभा चक्रपाणि चालिसे

blog

वैदिक साहित्यमा केवल देवता र ऋषिहरू मात्र होइन, अन्य भक्तका चरित्र पनि भरिभराउ छन् । एक स्थानमा मनुष्य त्यही तपस्यामा लागेको भए पनि अर्को स्थानमा त्यही मनुष्य जाति आफ्नो तपोबललाई शत्रु–संहारका रूपमा प्रकट गराउन लागेको देखिन्छ । तपोबलद्वारा नै धु्रवले धु्रवत्व प्राप्त गरेका हुन् । भक्त प्रह्लाद संसारमा चिरस्मरणीय बनेका हुन् । राजा यताति, महाराज युधिष्ठिर आदि कैयन् राजर्षिले वैदिक साहित्यका उपासक ऋषिमुनिहरूबाट उपदेश पाएर आत्मलाभ प्राप्ति गरेका हुन् । यिनै ऋषिमुनिहरूको सर्वस्व भन्नु नै वैदिक साहित्य हो भन्ने मान्यता राख्ने नेपाली साहित्यका विराटप्रतिभा चक्रपाणि चालिसेका यी शाश्वत उद्गार कालजयी उद्गारकै रूपमा अटल रहेको छ ।

नेपाली साहित्यका विशिष्ट विद्वान् समालोचक सरदार यदुनाथ खनालको तर्क छ, प्रतिभा जन्मनु संयोगको कुरा हो, सारको हैन, त्यसैले युगले चाहँदैमा र समाजले रहर गर्दैमा उत्कृष्ट प्रतिभा साधक जन्मन असम्भव छ । समयको विशेष कालखण्डमा मात्र विशिष्ट प्रतिभाको जन्म भएको छ । नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाह र महाकवि लक्ष्मीप्रसाद देवकोटा यसैका जीवन्त उदाहरण हुन् । यीमध्ये नेपाली साहित्यका कालजयी स्रष्टा चक्रपाणि चालिसे पनि एक हुनुहुन्छ । नेपाली साहित्यका शिरोमणि कविशिरोमणि लेखनाथ पौड्यालका समकालीन कविप्रतिभा चालिसे नेपाली गद्यपद्य साहित्यका ओजस्वी प्रतिभा हुनुहुन्छ । पौड्याल संवत् १९४१ पुसमा कास्कीको अर्घौ अर्चलेमा जन्मनुभएको हो भने चालिसे ऐतिहासिक र कलात्मक भक्तपुर नगरकै नाउँको जिल्लाभित्र पर्ने रमणीय कटुन्जे गाउँमा संवत् १९४० कात्तिकमा जन्मनुभएको हो । उहाँ आदर्शराधव महाकाव्यका रचयिता पण्डितराज सोमनाथ सिग्देलका पनि समकालीन प्रतिभा हुन् । महाकवि सोमनाथको जन्म संवत् २०४१ असोजमा काठमाडौँमा भएको हो । यी तिनै जना प्रतिभाको उमेरको अन्तर भनेकै मोटामोटी १० महिना मात्र हो । यसकारण नेपाली भाषासाहित्य मात्र हैन नेपाली वाङ्मयको समस्त क्षेत्रमा संवत् १९४० देखि २००० सालसम्मको यो छ दशकको अवधिमा मुलुकमा यति धेरै उत्कृष्ट प्रतिभा साधकको जन्म भएको छ, त्यही आधारलाई मानक मानेर हेर्ने हो भने संवत् २००१ सालदेखि २०६० सम्मको दशकमा औँलामा गन्न सकिने अवस्था छ । त्यसैले माथि नै भनिएको छ प्रतिभा जन्मनु संयोगको कुरा हो, सारको हैन । 

नेपाली गद्य र पद्य साहित्यका उत्कृष्ट रचनाकार चालिसे नेपालीको आफ्नोपन जोगाएर राख्न सक्ने एक क्षमतावान् पथप्रदर्शक हुनुहुन्छ । यस अर्थमा पनि उहाँ नेपाली साहित्य समाजमा वन्दनीय हुनुहुन्छ । उहाँले नेपाली भाषाको प्रयोग विशिष्ट रूपमा गर्नुभएको छ । सुन्दरीका सम्पादक चालिसेले गोरखापत्र संस्थान र गोर्खा भाषा प्रकाशिनी समितिमा जागिरे जीवनसँगै नेपाली भाषा र साहित्यको दीर्घकालसम्म सेवा गर्नुभयो । उहाँले काशीबाट संस्कृतमा विशेष शिक्षा प्राप्त गर्नुभएको थियो । यस क्षेत्रमा उहाँको सेवा विशुद्ध साहित्यिक र स्वार्थरहित थियो । आजका सतही, प्रचारप्रसारवादी र टापटिपे कविलेखकको जस्तो चरित्र उहाँमा थिएन । उहाँको एक मात्र सेवा नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा मुखरित थियो । उहाँको जीवन अत्यन्तै सङ्घर्षमय, समस्याग्रस्त कठिनाइका साथ बित्यो । पुत्र लक्ष्मीनन्दन चालिसेको दुःखद र असामयिक निधन तथा पत्नी वियोग जस्ता दुःखद घटना उहाँको जीवनमा एकैसाथ मौलाएका थिए, तर पनि अनेक  कठिनाइका साथ उहाँले नेपाली भाषा भवानीको प्रचुर सेवा गर्नुभयो । नेपाली गद्यपद्य साहित्यमा उहाँको लेखनी धाराप्रवाह रूपमा चल्दथ्यो । सरल शैली र उच्च भावनाले उहाँलाई कालजयी स्रष्टा बनाएको छ । जीवनमा जति नै दुःख, कष्ट र समस्या परे पनि उहाँले धैर्य र सहनशीलता अँगाली नेपाली गद्य साहित्यलाई सुसंस्कृत, सुललित र सरल, सरस रूपले प्रस्तुत गर्नुभयो । उहाँका पद्य रचना निकै लोकप्रिय एवं समाज उपयोगी छन् । नेपाली साहित्यको माध्यमिककालीन कवि र कवितामा उहाँका सिर्जनाको महत्वपूर्ण स्थान छ । उहाँ कविभन्दा पनि बढी सफल गद्यकार हुनुहुन्थ्यो । एक उत्कृष्ट कविका रूपमा पनि उहाँको सिर्जना कदरलायक देखिन्छ, जसमध्ये सुक्तिसिन्धु संवत् १९७४ बाट एक थान कविता–

देखिँदैन् मनमा पनि शान्ति

तेज छैन् अति मन्द छ क्रान्ति

नीच विग्रह प¥यो कसमाथि

दुर्दशा हुन गएछ नजाती ! 

नेपाली साहित्यका उद्भट प्रतिभा चालिसेले नेपालीको आफ्नो मौलिकपन बचाएर आफ्नै क्षमता अनुरूप भाषाको प्रयोगद्वारा विकासतिर सगर्व लम्कने साहित्यकार चालिसे समस्त साहित्यिक जगत्का पथप्रदर्शक हुनुहुन्छ । सर्वथा नेपाली साहित्यमा उहाँका मौलिक कृतिका रूपमा संवत् १९६३ सालमा मच्छिन्द्रनाथको कथाबाट प्रारम्भ भएको हो । उहाँको कृतिलेखनी संवत् १९७२ मा नेपाली सङ्क्षिप्त रामायण र १९७५ मा नेपाली सङ्क्षिप्त महाभारत क्रमशः उपन्यास र पुराणमा आधारित कृति अत्यन्त लोकप्रिय मानिन्छन् । सरल, सुललित एवं विशुद्ध नेपाली गद्यमा चालिसेद्वारा लेखिएका यी पुस्तक नेपालीका परम्परागत सर्वश्रेष्ठ महाकाव्य, रामायण र महाभारतलाई सर्वसाधारण जनतामा प्राप्य हुने गरी सिर्जना गरिएका हुनाले पनि कविशिरोमणि जस्तै चालिसेलाई गद्यशिरोमणिका रूपमा सम्मान दिन सकिन्छ । यस्तै मेघदूत, छायाँ, ईशावास्यो– पनिषद्, साहित्यमिमांसा र मनुस्मृति जस्ता सबल कृति १९९४–२००४ सालको अन्तरालमा प्रकाशित भएका हुन् । उहाँका केही जनप्रिय पद्य कविताको सङ्ग्रह चक्रकवितातरङ्गिणी २०१५ सालमा जनसमक्ष प्रस्तुत भएको थियो, जसमा नेपाली जनतामा विशेष रूपले सधैँ भेटिने दरिद्रताका मार्मिक अनुभूति अभिव्यक्त भएका छन् । नेपाली भाषा र साहित्यका कर्मयोगी सेवक चालिसेले आफ्नो समस्त जीवन गद्य र पद्यको विकासमा सहर्ष समर्पण गर्नु सानो तपस्या साधना थिएन । जैननीय भारत, भगवती भोला, स्वास्थ्य विज्ञान, नेपाल शिक्षा पहिलोदेखि तेस्रो र आत्मपरिचय जस्ता कृति उहाँको निधनपश्चात् २०२०–२०३९ सालको बिचमा सार्वजनिक भएका हुन् ।

नेपाली वाङ्मय अन्तर्गत सम्पादित र अनुदित क्षेत्रमा पनि चालिसेको योगदान महìवपूर्ण रहेको छ । उहाँका संवत् १९७३ सालमा अनुवादित नीतिरत्न मञ्जुषा, १९९८ मा सम्पादित नेपाली बगलीकोष र १९९९ मा नेपाली पर्यायवाची कोष प्रकाशित छन् । नेपाली भाषासाहित्यका मर्मज्ञ चालिसेले पहिलेदेखि सुन्दरी, कविताकल्पदु्रम, सूक्तसिन्धु, गोर्खापत्र, उद्योग र शारदा जस्ता पत्रिकामा सुन्दर छन्दोबद्ध कविता प्रकाशन गरेर नेपाली पद्यसाहित्यमा कुशल रचनाकारिताको गर्विलो परिचय दिनुभएको छ । व्याकरण र साहित्य मध्यमासम्मको अध्ययन गर्नुभएका चालिसेले आफ्नै जीवनकालमा पुत्रशोकको दर्दनात्मक पीडा सहनु प¥यो । संवत् १९७०  सालमा जन्मेका छोरा लक्ष्मीनन्दन चालिसे राणाशासनको अन्यायका विरोधी, शोषित गरिब जनताका मित्र एवं अत्यन्त प्रतिभाशाली गद्यलेखक र कवि हुनुहुन्थ्यो । उहाँका यथार्थ चित्रणले भरिएका सुन्दर पद्यकविता उद्योग पत्रिकामा प्रशस्तै प्रकाशित छन् । संस्कृत छन्दलाई औधि राम्रोसँग खेलाउन खप्पिस लक्ष्मीनन्दन कलेजका जिज्ञासु छात्र हुनुहुन्थ्यो । उहाँले आफ्नो परीक्षा पुस्तिकामा नपुंसक राणा भनेर लेखेकै कारण उहाँ जेलमा थुनिनुभयो र संवत् २००२ सालमा उहाँले जेलमै मृत्युवरण गर्नुभयो । कवि चक्रपाणि चालिसेको निधन २०१४ साल चैत १४ गते झन्डै ७५ वर्षको उमेरमा काठमाडौँमा भएको हो । निधन भएको २७ वर्षपछि उहाँको सम्मानमा हुलाक सेवा विभागले २०४० साल पुस ५ गते उहाँको तस्बिर अङ्कित हुलाक टिकट प्रकाशन गरी प्रचलनमा ल्यायो । कलाकार मोहननरसिंह राणाले तयार पारेको नमुना अनुरूप अफसेट लिथोग्राफी प्रविधिबाट सिङ्गापुरमा प्रतिटिकट मूल्य चार रुपियाँ ५० पैसाका दरले १० लाखप्रति छापिएको थियो । नेपालमा विसं १९३८ सालदेखि हुलाक टिकटको प्रचलन सुरु भएको हो, जसको १४४ वर्ष पुरानो इतिहास छ । 

नेपाली भाषासाहित्यको क्षेत्रमा उहाँले जीवनभर गर्नुभएको दीर्घसाधना र योगदानका लागि संवत् २०२१ सालमा नेपाल एकेडेमीद्वारा सम्मानस्वरूप मरणोपरान्त १० हजार राशिको त्रिभुवन पुरस्कार प्रदान गरियो । यो पुरस्कार प्राप्त गर्ने चक्रपाणि छैटौँ स्रष्टा हुनुहुन्छ । नेपाली साहित्य समाजका मनीषीरत्न चक्रपाणि चालिसेको निधन भएको झन्डै ४५ वर्षपछि उहाँकै जन्मथलो कटुन्जेमा २०६२ चैत १२ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा चक्रपाणि स्मारक प्रतिष्ठान दर्तासहित गठन भएको हो । चक्रपाणि नामाङ्कित यो महिमामण्डित प्रतिष्ठानको उद्देश्य उहाँका कृतिको अध्ययन, अनुसन्धान तथा नेपाली भाषासाहित्य, कलासंस्कृति एवं शिक्षासम्बन्धी उपयोगी पुस्तक प्रकाशन गर्ने नै हो । यस प्रतिष्ठानले नेपाली भाषासाहित्यका स्रष्टालाई संवत् २०६७ सालदेखि चालिसेको जन्म दिनको अवसरमा प्रतिवर्ष कटुन्जेमै आयोजित एक विशेष कार्यक्रम सम्मान गर्दै आएको छ । चक्रपाणि स्मृति पुरस्कारको राशि सम्मानपत्रसहित २० हजार रुपियाँ रहेको छ ।  

  

Author

डिल्लीराम मिश्र ‘कमलजीवी’