• २२ भदौ २०८१, शनिबार

टेलिकमको एमडीमा सङ्गीता नियुक्त

सेवालाई अझ सर्वसुलभ र गुणस्तरीय बनाउने प्रतिबद्धता

blog

नवनियुक्त प्रबन्ध निर्देशक (एमडी) सङ्गीता अर्याल पहाडी ।

गोरखापत्र अनलाइन 

काठमाडौँ, भदौ २१ गते । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को नवनियुक्त प्रबन्ध निर्देशक (एमडी) सङ्गीता अर्याल पहाडीले टेलिकमको सेवालाई  अझ  दुरुस्त बनाएर यसको गुणस्तर वृद्धि गर्ने बताउनुभएको छ । 

तपाईँका प्राथमिकता के हुन् भनी राखिएको जिज्ञासामा गोरखापत्र अनलाइनसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘‘सेवालाई अझ चुस्त, दुरुस्त बनाउने र सेवाको गुणस्तर वृद्धि गर्ने हो । सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउने नै मुख्य कुरा हुन् ।’’ 

उहाँले फोरजी सेवालाई अझ विस्तार गर्ने योजना रहेको बताउनुभयो । उहाँ खुला प्रतिस्पर्धाबाट छनाेटमा परी सो पदमा नियुक्त हुनुभएको हो । 

यसअघि नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमा अर्याललाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्ति गर्ने मन्त्रिपरिषद्को निर्णय सुनाउनुभएको थियो ।

अर्याल गत पुस १७ देखि निमित्त प्रबन्ध निर्देशकका रूपमा कार्य गर्दै आउनुभएको छ । उहाँ २०४९ चैत २३ मा तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियरका रूपमा सातौं तहबाट सेवा प्रवेश गर्नुभएको हो । २०७८ माघ १८ मा उहाँ नायब प्रबन्ध निर्देशक नियुक्त हुनुभयो ।

त्रिचन्द्र क्याम्पसबाट भौतिकशास्त्रमा आईएस्सी र भारतको मोतीलाल नेहरू रिजनल इन्जिनियरिङ कलेज इलाहावादबाट अर्यालले इन्जिनियरिङमा स्नातक तथा थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम.ई. गर्नुभएको छ । टेलिकममा उहाँ ११ तहको वरिष्ठ कार्यकारीसमेत हुनुहुन्छ । 

विगत ३० वर्षदेखि दूरसंचारमा विशेषज्ञता हासिल गर्नुभएका अर्यालसँग टेलिकमको मुख्य प्राविधिक अधिकारी, मुख्य वाणिज्य अधिकारी, ब्याकबोन ट्रान्समिशन निर्देशनालयमा प्रबन्ध निर्देशक र हाल नेपाल टेलिकमको केन्द्रीय कार्यालयको प्रमुख प्राविधिक अधिकृतको पदका अतिरिक्त कार्यवाहक (कार्यकारी) प्रबन्ध निर्देशकको रूपमा प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हाल्दै आउनुभएको छ । 

उहाँसँग माइक्रोवेभ, अप्टिकल फाइबर, राउटर स्विच, सेलुलर नेटवर्क, दूरसञ्चार उत्पादनको मार्केटिङमा व्यावसायिक विशेषज्ञता, मिडिया व्यवस्थापन, मूल्य अभिवृद्धि सेवाहरू व्यवस्थापन, उत्पादन प्याकेजिङ, घटना व्यवस्थापन, ब्यान्डविथ व्यवस्थापन, अन्तर्राष्ट्रिय आवाज, डेटा, एटीपी ट्राफिक व्यवस्थापन, अन्तर्राष्ट्रिय साझेदार व्यवस्थापन, कम्पनीको सीएस आर व्यवस्थापन, ठगी प्रणाली व्यवस्थापन, बिलिङ प्रणाली अनुगमन र व्यवस्थापन, नियामक इन्टरफेस, ताररहित नेटवर्क गरी विभिन्न प्रसारण प्रणालीहरूको क्षेत्रमा दक्षता  छ । 

उहाँ संविधानविद लक्ष्मण अर्याल र सुष्मा अर्यालकी छोरी हुनुहुन्छ । 

यो पनि पढ्नुहोस