• १० मंसिर २०८१, सोमबार

वैज्ञानिक विकासको मार्ग

blog

देशको अवस्था सडक र यातायातको विकासले मापन गरेको हुन्छ । सडक र यातायात बलियो भए देशको अर्थतन्त्र पनि मजबुत हुन्छ । भौतिक पूर्वाधार निर्माण गर्दै त्यसले आर्थिक गतिविधि चलायमान बनाउँछ । आमनागरिकको पहुँचका लागि सडक आवश्यक भएकाले सडकलाई पूर्वाधारको पनि पूर्वाधार भनिन्छ । पूर्वाधारमा सडक, रेल्वे स्टेसन, जलयातायात, हवाई यातायात सबै पर्छन् । 

भौतिक पूर्वाधारले उत्पादनशीलतामा देशको आर्थिक क्षेत्रलाई चलायमान बनाउन र विभिन्न अवसर सिर्जना गर्न टेवा पु¥याउँछ । भौतिक पूर्वाधार भएन भने उद्योगधन्दा खोल्न सकिँदैन । भौतिक पूर्वाधारको विकास नभएको ठाउँमा कृषि उपज भए पनि त्यहाँको उपज बिक्री नहुनेजस्ता समस्या देखापर्छन् तर विकासकै मुख्य पूर्वाधार मानिने नेपालको सडकको घनत्व दक्षिण एसियामै सबैभन्दा कमजोर रहेको विश्व बैङ्कले सार्वजनिक गरेको प्रतिवेदनले उजागर गरिसकेको छ । 

पहाडी इलाकामा निर्माणाधीन तथा निर्मित सडकले बाढीपहिरोको जोखिमलाई प्रवर्धन गरेको देखिन्छ । बाटोघाटो विकासका माध्यम हुन् । विडम्बना यी सडकले विकासभन्दा विनाशलाई निम्त्याइरहेका छन् । जनताका ज्यान भलले बगाएर, माटोले पुरेर ल्याइएको विकासलाई विनाशबाहेक अरू संज्ञा दिनु उपयुक्त नहुन सक्छ । त्यसैले अवैज्ञानिक विकासले विनाशबाहेक अरू निम्त्याउन सक्दैन । 

सडकको विभिन्न स्थानमा बनेका खाडल पानी पर्दा ताल र पोखरीमा परिणत हुने गर्छन् । त्यस्ता खाडलमा परेको पानी जमेर गाडी हिँड्दा छप्ल्याङछप्ल्याङ गरी यात्रुलाई हिलाम्मे बनाउने अवस्था देखिँदा पनि सम्बन्धित निकाय मौन बसिरहेका छन् । पानी पर्दा हिलो, घाम लाग्दा धुलो र मापदण्ड मिचेर खोलाछेउमा बनेका संरचनाका कारण सडक एम्बुसजस्तो बनेको छ । काठमाडौँ महानगरपालिकाले अझै पनि लथालिङ्ग लत्रिएका तार व्यवस्थापन गर्न सकेको छैन । दुर्गन्धित सार्वजनिक शौचालय, नाम मात्रैको जेब्रा क्रसिङ, योजनाबिनाका आकाशे पुल, अव्यवस्थित सवारी पार्किङ, यत्रतत्र टाँगिएका होर्डिङ बोर्डलाई हटाउने अभियान फेरि सेलाउन थालिसकेको छ ।

सहरलाई व्यवस्थित र सभ्य बनाउन पर्याप्त पूर्वाधार, व्यवस्थित सडक, ढल निकास, पर्याप्त खानेपानी व्यवस्था, फोहोरमैला व्यवस्थापन, फुटपाथको पर्याप्तता, साइकल ट्र्याक, सडकपेटीमा बस्ने ठाउँजस्ता मापदण्ड आवश्यक पर्छ । अहिले सडकपेटीमा हिँड्ने ठाउँसमेत छैन । सोही कारण आमनागरिक सडकबाटै हिँड्न बाध्य छन् । सडकबाटै हिँड्दा व्यक्तिको ज्यानको असुरक्षा पनि त्यही रूपमा बढेको छ । सहरलाई सभ्यताको प्रतीकका रूपमा लिइन्छ तर अहिलेको सहरले जीवनलाई सुखभन्दा पनि दुःख र कष्ट थपेको आभास हुन थालेको छ । 

गुणस्तरहीन कार्यका कारण राजमार्गमा ठुल्ठूला खाडल पर्ने गरेका छन् । उपत्यकाको सडकको अवस्था पनि त्यस्तै छ । असारमा बजेट सक्न हतारहतार पुरिएका खाल्टा पानीले पखालिसकेको छ । भदौ अन्तिम साता नपुग्दै सडकको वास्तविक अनुहार देखिन थालेको छ । पानी पर्दा सडक खोलामा परिणत हुने गरेको छ । पानी र हिलोले पुरेको खाल्टोे कहाँ छ भनेर थाहा पाउन नसक्दा सडकमै डुब्न सक्ने जोखिमसमेत पछिल्लो समय बढेर आएको छ । विकासका नाममा झाँगिएको कमिसनले यस्तो विकृति सिर्जना गरेको हो । 

विकृतिले असमानतलाई बढवा दिने गरेको छ । इकोनोमिक इनइक्वालिटीमा इमन बट्लरले भनेजस्तो समानता भनेको समता होइन । आर्थिक समानता भनेको धन वा आम्दानी हो । समता भनेको स्वीकार्य मानिएको आम्दानी वा धनको वितरण हो । यो व्यक्तिपरक कुरा भएको बताएका छन् । 

आर्थिक असमानता भनेको सम्पत्ति र आम्दानीमा रहेको भिन्नता हो । आम्दानी भनेको लाभको प्रवाह हो । कुनै व्यक्तिले जागिर या व्यापार वा भाडा या लगानीबाट प्राप्त लाभांशलाई आम्दानी भनिन्छ । कसैले आर्जन गरेको घर, जग्गा वा गाडीका साथै स्टक र बन्डजस्ता आर्थिक उपलब्धिको मूल्य पनि सम्पत्ति हो । आम्दानी र सम्पत्तिबिच जति धेरै आम्दानी हुन्छ, उसले त्यति नै धेरै सम्पत्ति आर्जन गर्न सक्छ । जोसँग जति धेरै सम्पत्ति छ, उसले त्यसबाट त्यति नै अधिक आम्दानी हासिल गर्न सक्छ तर असमानता र गरिबी समान हुँदैनन् । जनसङ्ख्या समान हुन सक्छ तर त्यही जनसङ्ख्याभित्र गरिबी या असमानता फरक हुन सक्छ । यसले समान बन्ने होडमा विकृति सिर्जना गरिरहेको छ । 

त्यस्तै धनी मुलुकमा जो मान्छे सापेक्ष गरिबी रेखामुनि हुँदाहुँदै पनि निकै राम्रो हिसाबले सम्पन्न हुन सक्छन् भने गरिब मुलुकको सापेक्ष गरिबी रेखाभन्दा माथि रहेका मानिस पूर्णतया सम्पन्न नहुन सक्छन् । सहरमा बस्ने एउटा नागरिक अझ राजधानीमा बस्ने नागरिकले पाउने सरकारी सेवा, सुविधा, उपभोग्य वस्तुमाथि उसको पहुँच दूरदराजमा बस्ने नागरिकले पाउन सक्दैनन् । भौगोलिक रूपले टाढिएको हुम्ला, जुम्ला, रोल्पा र डोल्पाबाट सरकारी सेवा लिन अझै पनि त्यस क्षेत्रका आमनागरिकलाई राजधानी आउनुपर्ने बाध्यता कायमै छ । अनि राजधानीमा आउनेबित्तिकै त्यस्ता नागरिकको काम हुँदैन । 

कर्णालीमा महिला गर्भवती हुँदा औषधोपचार नपाएर अस्पताल नपुग्दै जीवनलीला समाप्त भएको उदाहरण धेरै छन् । त्यस्ता नागरिकसमक्ष सिटामोलसमेत नपुग्ने अवस्था अझै पनि विद्यमान छ । झोलुङ्गे पुल अभावमा तुइनको जोखिमपूर्ण यात्रा गर्न त्यस्ता क्षेत्रका नागरिक बाध्य छन् । एउटै देशको भूगोलमा बस्ने प्रत्येक नागरिकले पाउने सुविधामा ठूलो असमानता रहेको छ । यही असमानताले विकृति सिर्जना गरेको हो । 

यस्तो अवस्थामा देशको विकास गर्ने हो भने राजनीतिक नेतृत्वमा दीर्घकालीन सोच आवश्यक पर्छ । चीनका देङ सिआयो पिङ, मलेसियाका महाथिर मोहम्मद, सिङ्गापुरका लि क्वान युजस्ता नेतृत्वको उदाहरण यिनै कारणले अहिले पनि विश्वमा दिने गरिएको छ । हाम्रो नेतृत्वमा सपनै नदेख्ने परिपाटी हाबी भएको छ । अघाएको पेटलाई भोक थाहा नभएजस्तै नेतृत्वले विकासमा सपनासमेत नदेख्दा विपनामा आत्मसात् गर्ने कुरा ओझेलमा परेको छ । 

विकास र समृद्धिका लागि नेपालमा प्रशस्त सम्भावना र अवसर छन् । अपार जलस्रोत छ । पर्यटनको सम्भावना अत्यधिक छ । समृद्धिका लागि लगानी बढाउनु पर्छ । लगानी गर्न सके मात्रै उत्पादकत्व बढ्ने हो । छिमेकी मुलुक भारत र अरेबियन मुलुकमा पिउने पानीको ठूलो माग छ । भारतमा २५ प्रतिशत जति जनसङ्ख्यालाई अझै पनि पिउने पानी अभाव छ । सरकारले नेपालको पानी (मिनिरल वाटर) लाई ठूलो मात्रामा निर्यात गर्न सक्ने अवस्था रहेको छ । 

आमजनताले राज्य वा सरकारले बनाएका योजनामा पूर्ण रूपमा साथ दिएमा मात्र ती योजना सफल हुने छन् । जनताले सरकारका योजना कार्यान्वयनका क्रममा सानो मात्र अवरोध गरेमा पनि उक्त योजना असफल हुने निश्चित छ । खास गरी भौतिक र आर्थिक विकासलाई समृद्धि भनिन्छ । कुनै समाज वा मुलुकमा आर्थिक, सामाजिक, भौतिकसँगै नागरिकको जीवनस्तर, खुसी र सुखको स्तरलाई समृद्धिले मापन गर्ने गर्छ । गरिबी र बेरोजगारीमा न्यूनीकरण वा रोजगारीको बढ्दो अवसर पनि समृद्धिको सूचकमा पर्छ । उपभोक्ताको क्रयशक्ति र व्यापार सन्तुलनलाई समृद्धिको सूचकका रूपमा लिइने गरिन्छ । त्यसैले राज्यले एउटै भूगोलमा देखिएको असमानतालाई कम गर्नु पर्ने देखिएको छ । योसँगै वैज्ञानिक विकास कार्यलाई अगाडि बढाउन सके मात्रै विकासले निम्त्याउने विनाश रोकिन गई व्यक्ति, समाज र देशमा विकृति अन्त्य हुने छ ।   

Author

उद्धव सिलवाल