• ११ मंसिर २०८१, मङ्गलबार

पुल निर्माण भएसँगै आवतजावतमा सहजता

blog

मध्यविन्दु नगरपालिका–१५ टिकुलीटारस्थित गोडारखोलामा निर्माण भएको पुल ।

मीना कँडेल

कावासोती, भाद्र १९ गते । नवलपुरको मध्यबिन्दु नगरपालिकामा रहेको गोडार खोलामा मोटरेबल पुल निर्माण भएको छ । गोडारखोलामा मोटरेबल पुल निर्माण भएसँगै यहाँका स्थानीयलाई आवतजावतमा सहजता भएको छ । 

पूर्वाधार विकास कार्यालयले मध्यबिन्दु नगरपालिका–१५ टिकुलीटारस्थित गोडारखोलामा पुल निर्माण गरेको हो । मध्यबिन्दु नगरपालिका –१५, का वडाध्यक्ष यमबहादुर केसीले पुल नहुँदा बर्खाको समयमा जोखिम मोलेर हिँड्नुपर्ने र अन्य समयमा समेत खोला वारपार गर्न समस्या हुने गरेकोमा उक्त बाध्यता हटेको बताउनुभयो । 

पुल निर्माणको अन्तिम म्यादभन्दा अघि नै सम्पन्न हुँदा यस क्षेत्रका बासिन्दालाई सुविधा पुगेको अध्यक्ष केसीले बताउनुभयो । पुलले वडा नम्बर १५ सहित ६, ८, १०, ११, १२ का स्थानीयलाई आवतजावत गर्न सहज भएको उहाँले बताउनुभयो ।

पूर्वाधार विकास कार्यालय नवलपुरका प्रमुख सन्तोष अर्यालले रु. पाँच करोड ८७ लाख ६४ हजार लागत रहेको पुल निर्माण कम्पनीले यही भदौ तीन गते काम सम्पन्न गरेकोे बताउनुभयो । उक्त पुल निर्माण गर्नुपर्ने अन्तिम म्यादको तेह्र महिना अघि नै सम्पन्न भएको हो । ४५ मिटर लम्बाइको पुल विसं २०८२ असोज १८ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो । निर्माण कम्पनीले सम्झौता अवधिभन्दा १३ महिना पहिला काम सम्पन्न गरेको उहाँले बताउनुभयो ।

जिल्लामा आर्थिक वर्ष २०८०-०८१ मा पूर्वाधार कार्यालयले आफू मातहतमा रहेका विभिन्न सडक योजनामा अन्तरगत ३७ किलोमिटर सडक कालोपत्र गरिएको छ । पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा ३९ किलोमिटर नाला निर्माण गरेको छ । यस्तै ठूला तीनवटा मोटरेबल पुल निर्माण सम्पन्न गरेको कार्यालय प्रमुख अर्यालले बताउनुभयो ।