काठमाडौँ, भदौ १८ गते । आगामी असोजमा हुने एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा भारतीय टोलीकी कप्तान जिनी कोभात साजीले मधेश युनाइटेडबाट प्रतिस्पर्धा गर्नुहुने भएको छ । सेटर जिनीलाई मधेशले विदेशी खेलाडीको कोटामा टोलीमा अनुबन्ध गरेको हो ।
मधेश टोलीमा जिनीसहित तीन विदेशी खेलाडी घोषणा गरेको छ । २८ वर्षीय जिनीले भारतबाट एसियन च्याम्पियनसिप, एसियन गेम्स, एभिसी च्यालेन्ज कप, काभा नेसन्स लिग र काभा च्यालेन्ज कप खेल्नुभएको छ ।
जसमा काजकिस्तानकी आउटसाइड हिटर कालिनोभा यभजेनिया र ट्युनिसियाकी मिडल ब्लकर योस्रो जेरामदिनीलाई अनुबन्ध गरेको छ । नेपाली राष्ट्रिय टोलीकी स्पाइकर निरुता ठगुन्ना मार्की प्लेयर रहेको मधेशले हालसम्म ११ खेलाडी टोलीमा अनुबन्ध गरिसकेको छ ।
असोज १४ देखि १९ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने महिला भलिबलको फ्रेन्चाइज लिगमा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा मधेश युनाइटेड, टिम काठमाडौँ, टिम चितवन, ललितपुर क्विन्स, टिम गण्डकी र टिम कर्णाली रहेको छ । सहभागी सबै टोलीले आफ्नो मार्की खेलाडी घोषणा गरिसकेका छन् ।