• ११ मंसिर २०८१, मङ्गलबार

हराउँदै तिजको मौलिकता

blog

तिज गीतमा नाच्दै महिला ।

मीना कँडेल

कावासोती, भदौ १८ गते । पछिल्लो समय तिज मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको महिलाले गुनासो गरेका छन् । तिजमा गाइने गीत र मनाउने शैलीमा आएको तडकभडकका कारण तिजको मौलिकता हराउँदै गएको हो । 

तिज आउनुभन्दा एक महिना अघिदेखि दर खाने प्रचलन सहरबजारमा बढेको छ । कावासोती –२ का डिला पराजुलीले आधुनिकतासँगै तिजमा गाइने गीत र मनाउने शैलीमा आएको तडकभडकका कारण तिजको मौलिकता हराउँदै गएको बताउनुभयो । 

“हाम्रा बाबाले छोरी लिन आएनन्, अँधेरी खोला नि बढ्यो बरिलै” भन्ने तिजका भाका गाउँदै आँगनमा छमछम नाच्ने गरेको पहिलाका दिनलाई स्मरण गर्दै पराजुलीले अहिले भइरहेको गतिविधिले समाजलाई विकृतितर्फ अघि बढाएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

नवलपुरको गैंडाकोटदेखि कावासोती माइत गर्न आउनुभएका अम्बिका कँडेललाई तिज आएको महसुस नै भएको छैन । “पहिले तिज आएसँगै गाउँघरका दिदी बहिनी एकै ठाउँमा बसेर दुःख वेदनाका गीत गाउँथे । तर पछिल्लो समय यस्तो चलन कम हुँदै गएको छ” उहाँले भन्नुभयो । ठुला स्पिकर बजाएर उफ्रिएको देख्दा तिजको मौलिकता हराएको अनुभव हुने उहाँको भनाइ छ । 

गण्डकी प्रदेश सभा सदस्य एवम् राप्रपा संसदीय दलका प्रमुख सचेतक बवन्दु पौडेलले आधुनिकताका नाममा संस्कार हराउन थालेको बताउनुभयो । आजभोलिको तिज खल्लो लाग्छ, तिज नजिकिँदै गर्दा पहिले गाउँघर, चौतारामा महिला दिदीबहिनी दुःख सुखका गीत गाउँदै रमाउने गरेको उहाँको अनुभव छ । 

त्रिवेणी गजेन्द्रमोक्ष दिव्यधाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रश्वर भुसालले तिजको मौलिकता र संस्कृतिसँग जोडिएको राम्रा कुरालाई प्रवर्धन गर्ने र कुसंस्कारलाई छाड्दै जानुपर्ने बताउनुभयो ।