• १७ भदौ २०८१, सोमबार

वनमन्त्री गुरुङको राजीनामा

blog

राजीव गुरुङ (दीपक मनाङे) । फाइल तस्बिर

फडिन्द्र अधिकारी

लेखनाथ, भदौ १७ गते । गण्डकी सरकारका वन तथा वातावरण मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पदबाट राजीनामा दिनुभएको छ । सोमबार दिउँसो भएको मन्त्रिमण्डल हेरफेर र विस्तारपछि असन्तुष्ट बन्नुभएका गुरुङले साँझ आफ्ना स्वकीय सचिव सन्तोष अधिकारीमार्फत् राजीनामा बुझाउनुभएको थियो ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मन्त्रिमण्डलमा नेकपा (एमाले)बाट चार जनालाई मन्त्री नियुक्त गर्नुभएको छ । एमाले सरकारमा आएपछि मन्त्री गुरुङले सम्हालेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा एमालेका प्रकाशबहादुर केसी मन्त्री बन्नुभएको छ । भौतिक पूर्वाधार प्रदेशको सबैभन्दा बढी बजेट रहेको विकासे मन्त्रालय हो । 

मन्त्री मनाङेको राजीनामा मुख्यमन्त्री पाण्डे स्वीकृत गर्नुभएको उहाँका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिनुभयो । गण्डकी प्रदेशसभामा दोस्रो पटक मनाङबाट स्वतन्त्र उम्मेदवारी दिएर गुरुङ सांसद चुनिनुभएको हो । 

प्रदेशमा बद्लिने सबैजसो सत्ता समीकरणमा सहभागी हुँदै आउनुभएका उहाँ छ पटक मन्त्री बनिसक्नुभएको छ । राजीनामापछि गुरुङले बजेट नहुने मन्त्रालय लिनुको अर्थ नभएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “बजेट नै नभएको र सबै सङ्घले हेर्ने मन्त्रालय लिएर के काम ? अब सरकार जान्न ।”