• १६ भदौ २०८१, आइतबार

शेर्पाको साहसका कारण सगरमाथा विश्वमा चिनिएको छ : मन्त्री पाण्डे

blog

सम्मानित भएपछि सगरमाथा आरोहीहरू । तस्बिर : लाक्पाजी शेर्पा

काठमाडौँ, भदौ १६ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले शेर्पाहरूको साहसका कारण नै सगरमाथा विश्वमा चिनिन मद्दत पुगेको बताउनुभएको छ । 

‌ओखलढुङ्गा जिल्ला खिजीदेम्बा गाउँपालिकाले आयोजना गरेको ‘सगरमाथा आरोहीहरूलाई सम्मान कार्यक्रम’ मा बोल्दै मन्त्री पाण्डेले शेर्पाहरूको साहसका कारण नै सगरमाथा विश्वमा चिनिन मद्दत पुगेको बताउनुभएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले भन्नुभयो, ‘‘डोरी टाङ्गनेदेखि आरोहीलाई शिखरमा पुर्‍याउने काममा शेर्पाहरूले गर्दा नै पर्वतारोहण सहज सफल भएको भन्दै शेर्पाको कारण नै सगरमाथा विश्वमा थप चिनिएको हो ।’’


कार्यक्रममा सगरमाथाको सफल आरोहण गर्ने खिजीदेम्बा गाउँपालिका भित्रका ४६ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा कान्छो सगरमाथा आरोही जम्बले शेर्पादेखि २२ पटक सगरमाथा आरोहण गर्ने जाङ्बु शेर्पासम्म हुनुहुन्छ । कार्यक्रममा पालिकाको सद्भावना दूत कुङ्गा शेर्पालाई घोषणा गरिएको थियो ।

कार्यक्रमा खिजीदेम्बा गाउँपालिका उपाध्यक्ष सुशिला तामाङले स्वागत तथा बधाई मन्तव्य व्यक्त गर्नुभएको थियो । उहाँले सफल आरोही तथा पर्यटन क्षेत्रमा संलग्न महानुभावहरुले आगामी दिनमा खिजीदेम्बालाई पर्यटकमय बनाउन र नीति निर्माण तहबाट समेत गाउँपालिकाको पर्यटन विकासमा सघाउ पुगोस् भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । 

कार्यक्रममा ओखलढुंगा जिल्लाबाट प्रथम पटक सगरमाथा आरोहण गर्नुहुने खिजीदेम्बा ९ खुन्दुर्के निवासी दोर्जी शेर्पा, २२ पटक सगरमाथा आरोहण गर्नु हुने खिजीदेम्बा ९ मैदानेका आरोही जाङबु शेर्पा, सबै भन्दा कान्छा उमेरमा सगरमाथा आरोहण गर्नुहुने आरोही जम्बले शेर्पा, अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शकद्वय खिजीदेम्बा ५ मेले लाक्पा शेर्पा र खिजीदेम्बा २ नस्पु निवासी गेल्जे शेर्पा ओखलढुंगा जिल्लाकै पहिलो महिला कीर्तिमानी आरोही खिजीदेम्बा ९ रिपाल निवासी माया शेर्पा, तामाङ समुदायबाट खिजीदेम्बाका प्रथम आरोही खिजीदेम्बा ९ का भीरखर्कका शुभराज तामाङ लगायतलाई गाउँपालिकाको तर्फबाट सम्मान गरिएको छ । 

साथै आगामी दिनमा अन्य क्षेत्रमा कीर्तिमान तथा ख्याती कमाएका व्यक्तित्वहरुलाई समेत समेट्दै सम्मान तथा अपनत्व महशुस गर्ने खाले कार्यक्रम आयोजना गर्दै जाने पनि अध्यक्ष तामाङले बताउनुभयो । 

कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं ओखलढुंगाबाट संघीय सांसद् रामहरि खतिवडा, संविधानसभा सदस्य यज्ञराज सुनुवार, प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री प्रदीपकुमार सुनुवार, खिजीदेम्बा गाउँपालिकाका निवर्तमान अध्यक्ष बेदबहादुर रोक्का लगायतको उपस्थिती रहेको थियो ।