• १६ भदौ २०८१, आइतबार

डुबानमा माडी, उच्च सतर्कता अपनाउन अनुरोध

blog

डुवानमा परेको क्षेत्र ।

शालिग्राम नेपाल 

चितवन, भदौ १६ गते । बिहानदेखि परेको भारी वर्षाले भरतपुर आसपासका क्षेत्र डुबानमा परेका छन् । पर्याप्त ढलको निकास नहुँदा पानी जमेर घरमा पसेको छ । जनजीवन प्रभावित बनेको छ । 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुरको हाकिमचोकदेखि भरतपुर अस्पतालसम्म आउने बाटो अवरुद्ध भएको छ । पानीको निकास नभएपछि त्यहाँ भएका सरकारी कार्यालयमा समेत डुबान समस्या छ । 

भारी वर्षाकै कारण चितवनको माडी नगरपालिकामा रहेको खोलामा अत्यधिक बाढी आएको छ । बाढीले खोला तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।   

जल तथा मौसम विज्ञान विभागका अनुसार चितवनको माडी आसपास क्षेत्रमा पछिल्लो चार घण्टा अति वर्षा भएको र थप वर्षा हुने देखिएकाले रिउ खोला र यसका सहायक नदीहरूमा आकस्मिक बाढीको सम्भावना रहेकाले सतर्क रहन प्रशासनले आह्वान गरेको छ ।

कल्याणपुर (माडी) वर्षा मापन केन्द्र र माडी आसपासमा अति भारी वर्षाको सम्भावना छ, चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउनु पर्दछ भन्नु भएको छ । माडीमा खहरे खोलाका कारण प्रत्येक वर्ष धनजनको क्षति हुने गर्छ । यहाँ पानी पर्नासाथ साना खोलाहरु पनि उर्लिएर आउने गर्छन् ।