• १६ भदौ २०८१, आइतबार

भारतीय बस र ट्रक ठोक्किँदा तीन घाइते

blog

शालिग्राम नेपाल

चितवन, भदौ १६ गते । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा बस र ट्रक एकआपसमा ठोक्किदा तीन जना घाइते भएका छन् । आइतबार बिहान ६ः३५ बजेको समयमा भरतपुर महानगरपालिका २९ सिमलतालमा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग २ ख ११०८ नम्बरको ट्रकलाई नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको एआर ०१ टि ६३७२ नम्बरको भारतीय बसले ठक्कर दिएको हो ।

दुर्घटनामा ट्रकमा चालकसहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । दुर्घटनामा बसका यात्रु सकुशल छन । घाइते हुनेमा ट्रकका चालक धादिङ बेनिघाट रोराङ गाउँपालिका ३ बस्ने २८ वर्षिय राजन क्षेत्री,ट्रकमा सवार बाराका मन्ज रावल र सोही ठाउँका आशिष चौरासिया रहेका छन ।

दुवै सवारीसाधनमा क्षति पुगेको छ । बसका चालक फरार रहेको र सहचालक नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ । सडकखण्डमा अहिले यातायात नियमित रुपमा सञ्चालनमा भइरहेको छ ।

यस्तै चितवनको भरतपुर महानगरपालिका २९ जुगेडीमा आज बिहान तीन सवारीसाधन एकै ठाउँमा ठोक्किएका छन । मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बा ११ च ८२६२ नम्वरको टाटा सफारी गाडीले रोकिराखेको बागमती प्रदेश ०३–००१ च १७७० नम्वरको बोलेरो जिप र ग २ च ४४३६ नम्बरको हाइलेक्स जीपलाई ठक्कर दिएको हो । ठक्करबाट तीनवटै सवारीसाधनमा क्षति पुगेको प्रहरीले जनाएको छ ।