• १६ भदौ २०८१, आइतबार

सडक दुर्घटनामा महिलाभन्दा चार गुणा बढी पुरुषको मृत्यु

blog

ललितपुर, भदौ १६ गते । सडक दुर्घटनामा महिलाको तुलनामा पुरुषको मृत्युको सङ्ख्या चार गुणाभन्दा बढी हुने गरेको देखिएको छ । २०७५ साउनदेखि २०८१ असारसम्मको तथ्याङ्क अनुसार सडक दुर्घटनामा जम्मा १५ हजार १६८ जनाको मृत्यु भएकामा दुई हजार ८६५ जना महिला छन् । त्यसै गरी सो अवधिमा १२ हजार ३०३ जना पुरुषको मृत्यु भएको छ ।

नेकपा (एमाले) केन्द्रीय विपत् व्यवस्थापन तथा स्वयंसेवक विभागद्वारा पार्टी केन्द्रीय कार्यालय ललितपुर, च्यासलमा शनिबार आयोजित विपत् जोखिम न्यूनीकरणसम्बन्धी कार्यशालामा सो जानकारी गराइएको हो । सडक दुर्घटनामा वार्षिक करिब तीन हजार जनाको मृत्यु हुने गरेको पाइएको  छ ।

कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले यस अवधिमा बागमती प्रदेशमा ६६ हजार १४८ वटा सडक दुर्घटना भएकामा तीन हजार ३६७ जनाको मृत्यु भएको जानकारी दिनुभयो । त्यसै गरी सो अवधिमा सुदूरपश्चिम प्रदेशमा दुई हजार १४२ वटा सडक दुर्घटना भएकोमा एक हजार ९७ जनाको, कर्णाली प्रदेशमा दुई हजार ६८८ वटा सडक दुर्घटना भएकोमा ७३२ जनाको, लुम्बिनी प्रदेशमा छ हजार ५३८ जना वटा सडक दुर्घटना भएकोमा तीन हजार ९४ जनाको मृत्यु भएको हो । 

प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलका अनुसार गण्डकी प्रदेशमा दुई हजार ४७३ वटा सडक दुर्घटना भएकामा एक हजार २९६ जना, मधेश प्रदेशमा २३ हजार ९९४ वटा सडक दुर्घटना भएकामा तीन हजार एक सय जनाको र कोशी प्रदेशमा १६ हजार ६४३ वटा सडक दुर्घटना भएकामा दुई हजार ४८२ जनाको मृत्यु भएको हो । उहाँले हरेक वर्ष चट्याङ र आगलागीबाट करिब एक सय जनाको मृत्यु हुने गरेको बताउनुभयो ।

सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक वंशी दाहालले मुग्लिङ–नारायणगढलगायत सडक दुर्घटनाको बढी जोखिम भएका राजमार्गहरूमा सशस्त्र प्रहरी बलले चिकित्सकसहितको सात वटा एम्बुलेन्स सेवा सुरु गरेको जानकारी दिनुभयो । 

विपत् अध्ययन केन्द्र, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका निर्देशक डा. वसन्तराज अधिकारीले कुनै पनि विपत् प्राकृतिकभन्दा मानवीय गतिविधिका कारण हुने गरेको बताउँदै विपत् जोखिमलाई बेवास्ता गरेर पूर्वाधार निर्माण गर्दा हरेक वर्ष जनधनको क्षति बढ्दै गएको उल्लेख गर्नुभयो ।

विषय विज्ञतालाई समाहित गर्नुपर्ने

कार्यक्रममा नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विषय विज्ञतालाई समाहित गर्न नसके अबको राजनीति प्रभावकारी र परिणाममुखी हुन नसक्ने बताउनुभयो । उहाँले सही राजनीतिक दिशामा विज्ञताको मांसपेशी नभरे समृद्धिको सुन्दर तस्बिर बन्न सक्दैन भन्नुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले हिजो अधिकार प्राप्तिको लडाइँमा अग्रपङ्क्तिमा रहेको स्मरण गर्दै अब समृद्धि प्राप्तिका लागि प्रभावकारी कदम चालिरहेको बताउनुभयो । विपत् व्यवस्थापनमा एमालेले अग्रणी भूमिका निर्वाह गरेको चर्चा गर्दै उहाँले जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि हरेक निकाय, संरचना, कार्यक्रम र कानुनी पक्षमा समन्वय जरुरी रहेको चर्चा गर्नुभयो । नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले हरेक प्रकारका विपत्मा एमाले पीडित र प्रभावितको साथी हुने गरेको चर्चा गर्नुभयो । उहाँले पूर्वतयारी, उद्धार र राहतका लागि स्थायी प्रकृतिको स्वयंसेवी समूह आवश्यक रहेको बताउनुभयो । 

एमाले विपत् व्यवस्थापन तथा स्वयंसेवा विभागका प्रमुख खिमलाल भट्टराईले विभागले योजनाबद्ध र व्यवस्थित तरिकाले तीव्र गतिमा आफ्ना काम अघि बढाएको जानकारी गराउनुभयो । उहाँले विषय विज्ञहरूको साथ लिएर विपत् व्यवस्थापनमा नीतिगत र परिणाममुखी काम गर्न सक्रिय रहेको बताउनुभयो । 

सो अवसरमा विपत्सम्बन्धी विभिन्न विषय विज्ञद्वारा पाँच वटा कार्यपत्र प्रस्तुत गरिएका थिए । जसमध्ये विपत् व्यवस्थापनमा सशस्त्र प्रहरी विषयमा सशस्त्र प्रहरी बलका एआइजी वंशीराज दाहाल, विपत्, पूर्वाधार र पूर्वसूचना प्रणाली विषयमा विपत् अध्ययन केन्द्रका निर्देशक डा. वसन्तराज अधिकारी, विपत् पूर्वतयारी एवं राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण विषयमा प्राधिकरणका निर्देशक अनिल पोखरेल, नेपालको भूकम्पीय जोखिम तथा न्यूनीकरण र व्यवस्थापनका लागि गर्नुपर्ने कार्यहरू विषयमा भूकम्प प्रविधि राष्ट्रिय समाजका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठ र विपत् व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय तहको कार्य विभाजन विषयमा विषयविज्ञ दीनानाथ भण्डारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।