• १६ भदौ २०८१, आइतबार

हिमाल चढ्न ३६ जनाले पाए अनुमति

blog

फाइल तस्बिर ।

काठमाडौँ, भदौ १६ गते । यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि ३६ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार शनिबारसम्म तीन वटा हिमाल चढ्न आठ समूहका ३६ जना आरोहीले अनुमति लिएका हुन् । 

विभागका पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले भन्नुभयो, “विश्वको आठौँ अग्लो हिमाल मनासलुसहित तीन हिमाल चढ्न ३६ जना आरोहीले अनुमति लिएका छन् । जसमध्ये मनासलु, अन्नपूर्ण चौथो र पुथा हिमाल आरोहणका लागि विभागले अनुमति दिएको हो ।”

आरोहण अनुमति खुला गरिएको पछिल्लो एक सातामा सेभेन समिटबाट १५ जना, एट के एक्सपिडिसनबाट १५ जना र मकालु एड्भेन्चरबाट छ जनाले आरोहण अनुमति लिएको उहाँले जानकारी दिनुभयो । आरोहण अनुमति लिएका आरोही बेलायत, अमेरिका, भारत, जर्मनी, बेलारुस, सिङ्गापुर, दक्षिण कोरिया, फ्रान्स, स्विट्जरल्यान्ड र बेल्जियमका नागरिक छन् । वसन्त ऋतुमा हिउँ बढी जम्मा हुने भएकाले शरद ऋतुका लागि मनासलु आरोहण उपयुक्त मानिन्छ । मनासलु आरोहणका लागि गत वर्षको शरद ऋतुमा २६ आरोही समूहका ६५ महिलासहित ३०१ आरोहीले आरोहण अनुमति लिएका थिए ।

मनासलु आरोहणलाई व्यवस्थित र सुरक्षित बनाउन पर्यटन विभाग र सरोकारवालाबिच अनौपचारिक छलफल जारी रहेको जानकारी दिँदै निर्देशक गुरुङले यो महिनाको अन्त्यसम्म मनासलुको चुचुरोसम्म बाटो बनाएर आरोहण सुरु गरिने जानकारी दिनुभयो । गत वर्ष भदौ ३१ गते मनासलुमा पहिलो आरोहण भएको थियो । हिउँदे सिजनलाई सगरमाथा आरोहण गर्न जानुअघि तयारी गर्ने समयका रूपमा लिइने भएकाले हिउँदे पर्वतारोहणतर्फ मनासलु, चो–ओयु, धवलागिरि, अन्नपूर्ण तेस्रो, आमादब्लमलगायतका हिमालमा बढी आकर्षण हुने गरेको छ । विभागले वर्षमा मार्च, अप्रिल, मेमा पर्ने वसन्त र सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा पर्ने शरद ऋतुमा हिमाल आरोहण खुलाउने गरेको छ ।