• १६ भदौ २०८१, आइतबार

'बुद्धजन्मस्थल लुम्बिनीबाट शान्तिको सन्देश फैलाऔं'

blog

लुम्बिनीको भ्रमणमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत ।

लुम्बिनी, भदौ १५ गते। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले लुम्बिनी विश्वमै नेपाल चिनाउने सम्पदा भएकाले यसको महत्त्वलाई अझ अन्तर्राष्ट्रियकरण गर्ने स्पष्ट योजना ल्याइने बताउनुभएको छ। 

शनिबार बुद्धजन्मस्थल लुम्बिनीमा पर्यटन मन्त्री एवं लुम्बिनी विकास कोषका अध्यक्ष पाण्डेको अध्यक्षतामा बसेको परिषद बैठकमा उहाँले यस्तो बताउनुभएको हो। 

सोही क्रममा मन्त्री पाण्डेले लुम्बिनीबाट विश्वमा बुद्धको सत्मार्ग र सदाचारको सन्देश दिनुपर्ने बताउँदै यसका लागि लुम्बिनी विकास कोषसँगै समुदाय, पर्यटन व्यवसायी र लुम्बिनीमा रहेका गुम्बा विहारबिच एकता आवश्यक रहेको बताउनुभयो। लुम्बिनीको भ्रमणका क्रममा पत्रकारसँग कुरा गर्दै उहाँले सो कुरा  बताउनुभएको हो। 

सबै पक्ष मिलेर पृथ्वीको एउटा कुनाबाट बुद्धको सन्देश फैलाउनुपर्नेमा जोड दिँदै मन्त्री पाण्डेयले भन्नुभयो, ‘‘लुम्बिनी संस्कृतिको प्रतिक हो, सगरमाथा प्रकृतिको शिखर हो। मन्त्रालयले यी दुवैलाई जोडेर काम गर्ने योजना अघि सार्नेछ।’’ 

बैठकमा लुम्बिनी विकास कोषको आर्थिक वर्ष २०८१/०८२ का लागि नीति कार्यक्रम तथा अनुमानित बजेट पेश भएको छ। 

कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले आन्तरिकतर्फ ३७ करोड ११ लाख र नेपाल सरकारको गुरुयोजनाको बहुवर्षिय कार्यक्रमका लागि ४४ करोड गरेर ७६ करोड ९८ लाखको अनुमानित बजेट परिषदमा पेश गर्नुभएको हो। 

यस्तै सदस्य सचिव सानुराजा शाक्यले दोस्रो गौतमबुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कार वितरणको प्रकृया अगाडि बढाउने, लुम्बिनी वर्ल्ड हेरिटेज कन्फ्रेन्स गर्न सरकार समक्ष अनुरोध गर्ने लगायतका कार्यक्रम सहितको नीति कार्यक्रम पेश गर्नुभएको छ। 

नीति कार्यक्रम र बजेटमाथि छलफल गरी लुम्बिनीको प्रवर्द्धन, विकास, स्थानीय समुदायसँग जोड्ने र लुम्बिनी विश्व सम्पदाका रुपमा स्थापित गर्ने र अर्को बैठकले पारित गर्ने गरी सकिएको कोषले जनाएको छ। 

बैठकमा कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले आफू लुम्बिनी बनाउने दृढ संकल्पका साथ जिम्मेवारी निर्वाह गरेको बताउनुभयो। 

बैठकमा मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डे, लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन खाँन, उपप्रमुख कल्पना हरिजन आमन्त्रित सदस्यका रुपमा तथा कोषका योजना प्रमुख स्मिता भट्ट, बोर्ड सदस्य, परिषद सदस्यको उपस्थिति थियो।

परिषद बैठकपछि शनिबार दिउँसो मन्त्री पाण्डेले  बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गर्नुभएको छ।