• १६ भदौ २०८१, आइतबार

एन्फा महिला लिगमा १० टोली

blog

लिगअघि आयोजित समन्वय बैठकमा सहभागीहरु । तस्बिर : एन्फा

काठमाडौँ, भदौ १५ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा एन्फा महिला लिग आइतबारदेखि सुरु हुने भएको छ ।

एन्फाले शनिबार ललितपुरमा पत्रकार सम्मेलन आयोजना गरी लिगको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने लिगमा विभागीय तीनसहित १० टोलीको सहभागिता रहेको छ ।

जसमा विभागीय टोली त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, सङ्कटा क्लब, बागमती यूथ क्लब, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, कोशी, सुदूरपश्चिम र कर्णाली प्रदेश रहेका रहेका छन् ।

उद्घाटन खेलमा आइतबार कोशी प्रदेश र वालिङ नगरपालिका भिड्नेछन् । सिङ्गल राउन्ड रोबिनको आधारमा पहिलो चरणमा ४५ खेल हुनेछन् । सिङ्गल राउन्ड रोबिनबाट शीर्ष पाँच टोलीबिच पुनः डबल राउन्ड रोबिनका आधारमा सुपर लिग हुनेछ । सुपर लिगमा २० खेल हुनेछन् । सुपर लिगमा उत्कृष्ट चार टोलीबिच क्वालिफायर,  इलिमिनेटर र फाइनल खेल गरी कुल ६९ खेल हुनेछ ।

दुई करोड २४ लाख ६८ हजार रुपियाँ लगानी रहेको लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने एन्फाले जनाएको छ । यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपियाँ प्रदान गरिनेछ ।