• १६ भदौ २०८१, आइतबार

महले बजार नपाएको भन्दै मन्त्रीको ध्यानाकर्षण

blog

कृषिमन्त्री रामनाथ अधिकारीसँग महबारेमा छलफल गरिँदै ।

शालिग्राम नेपाल 

चितवन, भदौ १५ गते । चितवनमा उत्पादन भएको महले बजार नपाएपछि जनप्रतिनिधिले कृषि मन्त्रीलाई भेटेर समस्या समाधान गर्न दबाब दिएका छन् । 

स्थानीय उत्पादनले बजार नपाउने भारतबाट आएको महले बजारमा प्रभाव पारेको भन्दै कालिका नगरपालिका प्रमुखसहित किसानले मन्त्रीलाई भेटेर समस्या समाधान गर्न दबाब दिएका हुन् । कृषिमन्त्री रामनाथ अधिकारीलाई भेटेर कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले जिल्लामा उत्पादित महलाई नेपालमा बिक्री गर्ने वातावरण र निर्यातको व्यवस्था गर्न अनुरोध गर्नुभयो । 

प्रमुख रेग्मीले भन्नुभयो, “कालिकामा आवश्यक पर्नेभन्दा धेरै बढी मह उत्पादन भइरहेका छन्,  निर्यातको राम्रो ठाउँ खोजिदिन अनुरोध गर्दछु ।” रेग्मीले भन्नुभयो, “किसानले मेहनत र लगानी गरेर उत्पादन गरेको महले बजार पाउन नसक्दा सोचेभन्दा उत्पादन बढाउन सकेका छैनन् । बजार सुनिश्चित हुने हो भने उत्पादन अझै बढाउन सकिन्छ ।” उत्पादित महले बजार नपाउँदा किसान निराश हुँदैगएको बताउनुभयो । 

नेपालमा उत्पादित महको बजार बढाउन भारतबाट आउने मह रोक्नुपर्नेमा उहाँले बताउनुभयो ।  चितवनको कालिका नगरपालिकासहित जिल्लामा मह उत्पादन निकै राम्रो भइरहेकाले अब उत्पादनभन्दा पनि बजारीकरणको चिन्ता बढ्दै गएको बताउनुभयो । महको बजारीकरणका लागि योजना बनाउन कृषिमन्त्री अधिकारीलाई सुझाव दिनुभयो । भेटपछि मन्त्री अधिकारीले किसानको समस्यालाई उचित सम्बोधन गर्ने बताउनु भएको नगरप्रमुख रेग्मीले जानकारी दिनुभयो । 

नेपाल मौरीपालक महासङ्घका अध्यक्ष सुवास घिमिरे, निवर्तमान अध्यक्ष शिव पौडेल, वरिष्ठ उपाध्यक्ष पदमप्रसाद अम्गाई, नेपाल मौरीपालक महासङ्घका महासचिव शालिग्राम बानियाँ, मौरीपालक सङ्घ कालिकाका अध्यक्ष नारायण पौडेलसहितको टोलीले किसानको समस्या समाधान गर्न माग गर्नुभयो ।