• १६ भदौ २०८१, आइतबार

कालिका नगरपालिकाको सुरक्षा अस्थायी प्रहरीबाट

blog

कालिका नगरपालिकाको जनप्रतिनिधि कार्यालय अगाडि । तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल
चितवन, भदौ १५ गते ।
 चितवनको एक मात्र कालिका नगरपालिकाको सुरक्षा अस्थायी प्रहरी चौकीले गर्दै आएको छ ।  जिल्लाको संवेदनशील क्षेत्र भए पनि वर्षौँदेखि अस्थायी प्रहरी चौकीको भरमा सुरक्षा प्रदान भइराखेको हो । एउटा पालिकामा अधिकृत स्तरको प्रहरी दरबन्दी राख्ने नीति भए पनि राख्न नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले बताउनुभयो ।

‘‘नीतिमा छ तर हामीले मात्र भनेर हुँदैन नेपाल सरकारले नै दरबन्दी थप गरेर बजेट निकासा गर्नु पर्दछ ।,’’ उहाँले भन्नुभयो, ‘‘सुरक्षाको संवेदनशीलताले हेर्दा कालिका नगरपालिका महत्त्वपूर्ण रहेको छ ।’’

एउटा पालिकामा स्थायी रूपमा अधिकृत सरहको दरबन्दी चाहिएको छ तर अहिले अस्थायी प्रहरीको भरमा एउटा पालिकाको सुरक्षा गर्नु पर्दा धेरै कठिन भएको भण्डारीले बताउनुभयो । प्रहरी प्रधान कार्यालयमा दरबन्दी थपका लागि पहल गरिदिन हामीले पत्राचार गरेका छौँ तर हाम्रो पहलले सफलता पाउन सकेको छैन ।

जिल्लामा सातवटा स्थानीय तह रहेको छ । छ वटा पालिकामा अधिकृत स्तरको प्रहरी चौकी रहेका छन् । जिल्लाको एउटा मात्र इच्छाकामना गाउँपालिका मुग्लिनमा प्रहरी इन्स्पेक्टरको दरबन्दी रहेको छ । राप्ती नगरपालिकाको भण्डामा, माडी नगरपालिका, खैरहनी नगरपालिकाका इलाका प्रहरी कार्यालय रहेको छ । सबैमा इन्स्पेक्टरको दरबन्दी रहेको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा डिएसपीको दरबन्दी रहेको छ ।

भरतपुर महानगरपालिकामा जिल्ला प्रहरी कार्यालय रहेको छ भने इलाका प्रहरी कार्यालय वडा प्रहरी कार्यालयमा समेत इनिस्पेक्टर तहको दरबन्दी रहेको छ । तर कालिका नगरपालिकामा सइको कमाण्डमा अस्थायी प्रहरी रहेको छ । यो प्रहरीले जनताको आवश्यकता अनुसार सुरक्षा प्रदान गर्न ज्यादै कठिन भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

हरेक पालिकामा अधिकृत स्तरको दरबन्दी आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । सुरक्षा समितिको बैठकबाट यो विषयमा छलफल गरी मन्त्रालयमा दरबन्दीका लागि पहल गर्ने जानकारी दिनुभयो । अर्थ मन्त्रालयले बजेटको सुनिश्चितता गरेमा मन्त्री परिषद्को बैठकले मात्र दरबन्दी थप्ने भएकाले यो कार्यमा धेरै पहल गर्नुपर्ने आवश्यकता रहेको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो ।

रत्ननगर हुँदै कालिका नगरपालिका भएर पृथ्वी राजमार्ग जोड्ने सडक निर्माण भइसकेको सुरक्षाको दृष्टिले धेरै आवश्यकता भए पनि स्थायी प्रहरी चौकी नहुँदा धेरै समस्या भएको कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले बताउनुभयो । हामीले धेरै पटक पहल गरेका छौ तर अधिकृत स्तरको दरबन्दी भएको छैन । यही क्षेत्रबाट सांसद हुनु भएका रवि लामिछाने दुई पटक गृहमन्त्री हुनु भयो तर अधिकृत स्तरको प्रहरी चौकीको दरबन्दी गर्न सक्नु भएन पालिका प्रमुख रेग्मीले भन्नुभयो ।

इलाका प्रहरी चौकी नहुँदा असुरक्षित महसुस भइरादेको उहाँले बताउनुभयो । इलाका प्रहरी कार्यालय स्थापना गरेर त्यही बाट मुद्दाको अनुसन्धान कार्य थालनी गर्ने गरी व्यवस्था गर्न आफ्नो पहल हुने प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो ।

नगरपालिकामा साबिकका चार गाविसहरू शक्तिखोर, सिद्धि, पदमपुर र जुटपानी मिलाइ २०७४ जेठ ७ गते क्षेत्र विस्तार गरी कालिका नगरपालिका बनाइएको थियो । यस नगरपालिकालाई ११ वटा वडाहरूमा विभाजन गरिएको छ । २०६८ सालको जनगणना अनुसार साबिक चारवटा गाविसको जनसङ्ख्यालाई जोड्दा कूल ४२,२९३ रहेको थियो । राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार कुल जनसङ्ख्या ५२, हजार १६४ रहेको छ । घरधुरी सङ्ख्या १२ हजार २५८ रहेको छ । भौगोलिक हिसाबले समथर र केही भूभाग पहाडी क्षेत्र रहेको छ ।

पहाडी भूभाग वडा नं. १० र ११ मा आदिवासी चेपाङ समुदायको बसोबास रहेको छ । यस नगरपालिकाको अन्य समथर क्षेत्रमा सहरीकरण हुँदै गएको छ । पूर्वमा खैरहेनी नगरपालिका, पश्चिम –भरतपुर महानगरपालिकाको वडा न ११ मा रहेको छ ।