• २० असोज २०८१, आइतबार

द्वन्द्वपीडितलाई न्याय दिने बाटो खुलेको छ : पूर्वमन्त्री शर्मा

blog

पत्रकार सम्मेलनमा बोल्नुहुँदै पूर्वमन्त्री एवम् नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य रेखा शर्मा । तस्बिर : लीलाधर वली

लीलाधर वली
घोराही, भदौ १५ गते । 
पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य रेखा शर्माले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पारित भएसँगै सशस्त्र द्वन्द्वका क्रममा पीडितलाई न्याय दिने बाटो खुलेको बताउनुभएको छ ।

प्रेस सेन्टर दाङ शाखाले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै स्थायी कमिटी सदस्य शर्माले लामो समयपछि राजनीतिक दलहरूका बिच भएको सहमति अनुसार विधेयक पास भएसँगै १२ बुँदे सहमति अन्त्य हुने र देश समृद्धिको यात्रामा अघि बढ्ने बताउनुभयो ।

विधेयक पारितसँगै सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई प्रभावकारी रूपमा काम गर्ने बाटो खुलेको भन्दै यसले द्वन्द्वका क्रममा पीडित बनेका परिवारलाई न्याय दिने बताउनुभयो ।

पूर्वमन्त्री शर्माले टिआरसी विधेयक पारित भएसँगै सङ्क्रमणकालीन न्यायले बाँक काम टुङ्गो लाग्ने र देश समृद्धिको अभियानमा अघि बढ्ने बताउनुभयो 

उहाँले भन्नुभयो, ‘‘राजनीतिक दलहरूका बिचमा कुरा नमिल्दा लामो समयसम्म सङ्क्रमणकालीन न्यायको कामले टुङ्गो पाउन सकेको थिएन । तर अब विधेयक पास भएसँगै बाँकी काम टुङ्गो लाग्ने र देश  समृद्धिको यात्रामा अघि बढ्ने छ ।’’

समिति सदस्य शर्माले आफ्नो पार्टीले नेतृत्वको सरकारले सुशासन र समृद्धिका लागि महत्त्वपूर्ण काम गरेको भन्दै यसलाई जनताले मूल्याङ्कन गरेको बताउनुभयो । देशलाई लोडसेडिङ मुक्त बनाउनेदेखि भ्रष्टाचार, अनियमिताका ठुला फाइल खोलेर सुशासनको नयाँ अभियान सुरु गरेको उहाँको भनाइ छ ।

माओवादीले अहिलेसम्म धेरै सम्हालेका ऊर्जा र सञ्चार मन्त्रालयले अहिले देशलाई परिवर्तनको अनुभूति दिलाइरहेको भन्दै उहाँले भन्नुभयो, ‘‘दिनमा १८ घण्टा लोडसेडिङ हुने अवस्थाबाट मुक्त गरेर दश वर्षमा दश हजार मेगावाट विद्युत भारतलाई बिक्री गर्नेसम्मको तहलाई देशमा पुर्‍याउने बनाएका छौ । भुटानी शरणार्थी, ललिता निवास, सुन काण्डलगायतका ठुला फाइल खोल्दै दोषीलाई पक्राउ गरेर जनतालाई सुशासनको प्रत्याभूति दिलाउने कामको सुरुवात गरेका छौँ ।’’

त्यसैगरी, घरघरमा इन्टरनेट, हातहातमा मोबाइल सेटको नारासहित सञ्चार क्षेत्रको विकास गर्दै अहिले नेपाललाई सूचना प्रविधि दशकको घोषणासम्मको अवस्थामा पुर्‍याउने काम आफ्नो नेतृत्वमा भएको भन्दै उहाँले जनताले बुझ्ने बताउनुभएको थियो । 

दाङ निर्वाचन क्षेत्र नंं. २ का प्रतिनिधि सभा सदस्य समेत रहनुभएका शर्माले दाङको विकासका लागि घोराही–तुलसीपुर चारलेन सडक, तुलसीपुरमा रहेको एयरपोर्ट विस्तार, अन्तर जिल्ला जोड्ने घोराही–मुर्कुटी–प्युठान सडक, घोराही–होलेरी सडक र राप्ती राजमार्गसँगै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिए कक्षा सञ्चालनका लागि बजेट विनियोजनसँगै आवश्यक तयारीको काम अघि बढाएको बताउनुभयो । जिल्लाको विकासका लागि महत्त्वपूर्ण मानिएका यी काम हुन सके भने जिल्लाको विकासले फड्को मार्ने भन्दै उहाँले त्यसका लागि दलहरूका बिचमा एकता आवश्यक रहेको बताउनुभएको थियो ।