• १६ भदौ २०८१, आइतबार

वैदेशिक रोजगारीले युवाविहीन बन्दै गाउँघर

blog

मीना कँडेल 

कावासोती, भदौ १४ गते ।  वैदेशिक रोजगारीका लागि विदेश जाने युवा जनशक्ति बढेसँगै गाउँघर युवाविहीन बन्दै गइरहेका छन् । वैदेशिक रोजगारीमा नगएका युवा पनि अध्ययन तथा अवसरको खोजीमा जिल्लाबाहिरका सहरमा जाने गरेकाले गाउँमा युवा भेट्टाउनै मुस्किल हुने गरेको स्थानीय बताउँछन् । नवलपुरका मध्यविन्दुका ग्रामीण क्षेत्रबाट प्रतिपरिवार कम्तीमा एक जना वैदेशिक रोजगारीमा जाने गरेका छन् । वैदेशिक रोजगारीमा जाने मानिसमध्ये १५ वर्षदेखि २४ वर्ष उमेर समूहका मानिस धेरै देखिएका छन् । युवा उमेर मानिने १५ वर्षदेखि ४४ वर्ष उमेर समूहका सात हजारभन्दा बढी युवा मध्यविन्दु नगरपालिकाबाट मात्रै वैदेशिक रोजगारीमा गएका विभागले जनाएको छ । 

स्थानीय राजन पौडेलले युवा वर्ग शिक्षा तथा वैदेशिक रोजगारीका लागि बिदेसिने क्रम बढ्दै जाँदा गाउँमा बालबालिका र ज्येष्ठ नागरिक मात्रै देखिन थालेको बताउनुभयो । कुनै आकस्मिक काम परेर युवा खोज्दा गाउँमा युवा भेट्टाउनै मुस्किल हुने गरेको पौडेलले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “मेरो एक मात्र छोरा छ, ऊ पनि वैदेशिक रोजगारीमा जाने तयारीमा लागेको छ । बुढेसकालको सहारा बन्लान् भनेर छोराछोरी पाल्यो, हुर्कायो, बढायो तर उनीहरू घरबाहिरै गएर रमाउने भए ।” स्थानीय युवा १८ वर्ष पुगेपछि राहदानी बनाएर विदेश जाने तयारीमा लाग्ने गरेका छन् । उहाँका अनुसार गाउँबाट एउटै परिवारका तीन/चार जनासम्म युवा वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक गएका छन् । स्थानीय माया भुसालका दुई छोरीमध्ये दुवै अध्ययनका लागि विदेशमा छन् । एउटा छोरी जापान र अर्की छोरी अस्ट्रेलिया छन् । अध्ययन सकेर स्वदेश फर्किएर केही गरभन्दा नफर्किने भनी प्रतिक्रिया दिएको उहाँ बताउनुहुन्छ । 

गाउँबाट रोजगारीका लागि भारतमा जाने युवाको सङ्ख्या कति छ भन्ने तथ्याङ्क नै नभएको स्थानीय बताउँछन् । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार मध्यविन्दु नगरपालिकाबाट सात हजारभन्दा बढी मानिस वैदेशिक रोजगारीका लागि गएका छन् । राष्ट्रिय जनगणनाको तथ्याङ्क अनुसार पनि औसतमा प्रतिदुई परिवारमा एक जना वैदेशिक रोजगारीमा जाने गरेको देखिएको छ ।

मध्यविन्दु नगरपालिका प्रमुख भीमलाल अधिकारीले युवा विदेश पलायन हुँदा मुलुकको चौतर्फी विकासमा असर पर्ने बताउनुभयो । हरेक वर्ष ठुलो सङ्ख्यामा युवा वैदेशिक रोजगारीमा जानु दुःखद भएको उहाँको भनाइ छ । पालिकाले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्थानीयस्तरमै स्वरोजगार बनाउनका लागि सहुलियत ऋण उपलब्ध गराउने र आवश्यक तालिम प्रदान गरिरहेको उहाँले बताउनुभयो ।