• १३ भदौ २०८१, बिहिबार

संसदीय समितिमा सांसदको प्रस्ताव: नेपाल वायुसेवा निगमलाई निजीकरण गरौँ

blog

प्रतिनिधि सभा अन्तर्गत सिंहदरबारमा बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक । तस्बिर : किरणराज विष्ट/रासस

काठमाडौँ, भदौ १३ गते । संसदीय समितिमा सांसदहरूले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

बिहीबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्नुहुँदै नेकपा (एमाले) का सांसद देवीप्रकाश भट्टचन र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले यस्तो प्रस्ताव राख्नुभएको हो । सांसदहरूले सरकारले वायुसेवा निगम चलाउन नसकेको भन्दै निजीकरण गर्नुपर्ने प्रस्ताव समितिमा राख्नुभयो ।

उहाँहरूले निगम आर्थिक रूपमा कमजोर बन्दै गएको र निगमले जहाज सञ्चालन गर्नसक्ने अवस्था नभएको भन्दै निजीकरण गर्नुपर्ने प्रस्ताव गर्नुभयो । भारत जस्तो ठुलो देशमा एयरइण्डिया निजी कम्पनीले सञ्चालन गरेको उदाहरण दिँदै नेपालमा पनि त्यही मोडलमा जाँदा केही समस्या नहुने सांसदहरूको धारणा थियो ।

सांसदहरूले नेपाल वायुसेवा निगम सुधारको एउटा मात्रै विकल्प निजीकरण वा निजी क्षेत्रलाई सञ्चालनको जिम्मा दिनुपर्ने बताए । सांसदहरूले निजी कम्पनीका जहाजहरू अहिलेसम्म ग्राउण्डेड भएका समाचारहरू सुन्न नपर्ने तर नेपाल वायुसेवा निगमका चार वटा जहाजमा ३ ग्राउण्डेड भनेर सधैँ सुन्नुपर्ने अवस्था रहेको बताए ।

उनीहरूले एउटा जहाज एक महिनाभित्र सी चेक भएर नेपाल आउनुपर्ने भए पनि चार पाँच महिनासम्म आउन नसक्नुको निगम अध्यक्षसँग कारण माग गरे । नेकपा एमालेका सांसद देवीप्रकाश भट्टचनले निगमले हवाई जहाज चलाउन नसकेको दाबी गर्नुभयो । उहाँले भारतमा पनि एयर इण्डियाले चलाउन नसक्दा टाटा एयरलाइन्सले सञ्चालन गरेको उदाहरण रहेको भन्दै त्यही मोडलमा नेपाल जान आवश्यक रहेको औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘निगमले हवाई जहाज चलाउन नसकेको भन्ने लाग्छ । भारतमा पनि टाटा एयरलाइन्स चलाउन नक्दा एयर इन्डियाको रूपमा आयो । तर २०२२ पछि टाटा एयरलाइन्सकै व्यवस्थापनमा सुरु भइरहेको छ । सरकारले चलाउन नसक्ने भए सरकारले प्रक्रियागत रूपमा २०२२ मा १४७ वटा जहाज सहित एयर इन्डियाको जिम्मा लिएको उदाहरण छ । नेपाल वायुसेवा निगम सरकारले चलाउँदा चल्न नसकेको स्पष्ट देखिएको छ ।’’

उहाँले सरकारले चलाउन नसक्ने भए सरकारले प्रक्रियागत रूपमा निजी क्षेत्रलाई दिनुपर्ने बताउनुभयो । उहाँले नेपाल वायुसेवा निगम सरकारले चलाउँदा चल्न नसकेको स्पष्ट देखिएकाले प्राधिकरणको नेतृत्वले निजी क्षेत्रलाई चलाउन दिने प्रस्ताव ल्याउनुपर्ने बताउनुभयो । उहाँले हिमालय एयरलाइन्ससँग चार वटा जहाज रहेको भए पनि त्यसमा अहिलेसम्म समस्या आएको भन्ने सुन्नमा नआएको जिकिर गर्नुभयो ।

उहाँले चीन सरकारको सहयोग रहेकाले भारतमा उडान गर्न नसके पनि अन्य २० देशमा उडान गरिरहेको बताउनुभयो । उहाँले जहाज सी चेकको समस्या अहिलेसम्म नसुनिएको भन्दै बराबर जहाज हुँदा पनि नेपाल एयरलाइन्समा समस्या बढी समस्या मात्रै आउने गरेको भन्दै सरकारले हिमालय एयरलाइन्सलाई जिम्मा दिनुपर्ने धारण राख्नुभयो ।

‘‘प्राधिकरणको नेतृत्वले निजी क्षेत्रलाई चलाउन दिने प्रस्ताव ल्याउँदा राम्रो होला जस्तो लाग्छ । हिमालय एयरलाइन्ससँग पनि चार वटा जहाज छन् । त्यसमा समस्या आएको सुनिएको छ । चीन सरकारको सहयोग रहेकाले भारतमा उडान गर्न सकेको छैन ।,’’ सांसद भट्टचनले भन्नुभयो, ‘‘अन्य २० देशमा उडान गरेको छ । जहाज सी चेकको समस्या सुनेका छैनौँ । बराबर जहाज हुँदा पनि नेपाल एयरलाइन्समा समस्या बढी आएको हुन्छ । अब हामीले हिमालय एयरलाइन्सलाई जिम्मा दिने हो कि । समितिमा घण्टौँ छलफल गरेर हुनेवाला केही छैन ।’’

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले नेपाल वायुसेवा निगमको वर्तमान समस्याको हल निजीकरण भए मात्रै समाधान हुने बताउनुभयो । उहाँले सबै समस्या हल गरी राम्रोसँग निगम सञ्चालन गर्न निजीकरण गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले राष्ट्रिय ध्वजावाहक निजीकरण गर्नु राम्रो नभए पनि सधैँ समस्या र आर्थिक रूपमा कमजोर बनाएर चलाउन नहुने बताउनुभयो । उहाँले भारतमा निजीकरण गर्न मिल्छ भने नेपालले पनि गर्न मिल्ने तर्क राख्नुभयो । उहाँले नेपाल वायुसेवा निगममा फण्डामेण्टल समस्या रहेको भन्दै एउटा वाइडवडी जहाजले अन्तर्राष्ट्रिय सबै उडान गर्न नसक्ने बताउनुभयो । उहाँले धेरै जहाज किन्न सरकारसँग पैसा नभएको भन्दै पुँजीका लागि निजी क्षेत्रलाई सञ्चालनका लागि दिन उपयुक्त हुने बताउनुभयो । उहाँले सरकारबाट नेपाल वायुसेवा निगम चल्नसक्ने जिकिर गर्नुभयो । उहाँले अब निगम चलाउने निजी कम्पनीले मात्रै चलाउन सक्ने अवस्था देखिएको उल्लेख गर्नुभयो ।

नेकपा (एमाले) का सचेतक सुनिता बरालले व्यापार हुने समयमा चार वटा जहाजमध्ये ३ वटा जहाज ग्राउण्डेड भएको भन्दै नेतृत्वको क्षमतामाथि प्रश्न उठाउनुभयो । उहाँले निगमको नेतृत्व जहाज सञ्चालन गर्ने सन्दर्भमा जिम्मेवार नभएको बताउनुभयो । उहाँले विश्वका धेरै देशमा दुई वटा जहाज हुँदा पनि राम्रोसँग उडान गरिरहेको भन्दै नाफामा पुगेको बताउनुभयो । उहाँले निगमको नेतृत्वले राजनीतिक दलहरूलाई दोष दिएर भाग्न नमिल्ने बताउनुभयो ।

नेपाली कांग्रेसका सांसद उदय शमशेर जबराले नेपाल वायुसेवा निगमका ७५ प्रतिशत जहाज ग्राउण्डेड रहेको बताउनुभयो । उहाँले चार वटा जहाजमा एउटै समयमा तीन जहाज ग्राउण्डेड हुने विश्वका कुनै पनि देशमा नहुने उल्लेख गर्नुभयो । उहाँले जहाज मर्मतका लागि इजरायल, इटली जाँदा फर्कँदै नफर्कनुको कारण के हो ? भन्दै प्रश्न गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले सार्वजनिक खरिद ऐन पुरानो भएका कारण पनि जहाज मर्मतलगायत समस्या भएको बताउनुभयो । उहाँले निगमको संरचनागत सुधार गर्न पनि आवश्यक रहेको बताउनुभयो । उहाँले निगमसँग जहाज नभएको कारण पनि समस्या निरन्तर आइरहेको जिकिर गर्नुभयो । उहाँले निगम व्यवस्थापनलाई व्यवस्थित गर्न भएका अध्ययन र अनुसन्धानलाई राजनीति स्वार्थभन्दा माथि उठेर समाधान गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाल वायुसेवा निगममा देखिको समस्या नीतिगत रूपमा समाधान गर्न आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले जहाजका पाट्सहरु कुन समयमा बनाउनुपर्छ भन्ने सबै सेड्युलमा हुँदा पनि तीन जहाज एकै पटक ग्राउण्डेड हुनु राम्रो नभएको बताउनुभयो । उहाँले निगमले जहाजहरू सञ्चालनका लागि सामान्य व्यवस्थापन समेत गर्न नसकेको उल्लेख गर्नुभयो ।

उहाँले निगमका जहाजहरू राम्रो योजना बनाएर सञ्चालन गर्नेभन्दा पनि निगम नेतृत्व विदेश भ्रमणमा मात्रै गइराख्नु उपयुक्त नभएको बताउनुभयो ।