• १३ भदौ २०८१, बिहिबार

उत्तरी गोरखाको काशीगाउँमा स्वास्थ्य चौकी भवन

blog

स्वास्थ्य चौकी भवन ।

गुणबहादुर रोका 

सुलीकोट, भदौ १३ गते। उत्तरी गोरखाको धार्चे गाउँपालिका – ६ स्थित काशीगाउँमा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएको छ। २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पले स्वास्थ्य चौकी भवन क्षतविक्षत भएपछि जोखिम पूर्ण भवनबाट सेवा दिइएकोमा अब भने नयाँ भवनबाट सेवा सुचारु गरिने धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले जानकारी दिनुभयो।  

धार्चे गाउँपालिकाको स्वास्थ्य चौकीको ६ कोठे पक्की भवन निर्माण गर्नका लागि भारतीय राजदूतबासको आर्थिक सहयोगमा सहरी विकास तथा भवन निर्माण संघीय आयोजना कार्यान्वयन एकाइ पोखरा मार्फत धुलीखेल जेएल जिभी सेवासँग २०७८ साल माघ ११ गते सम्झौता भएको थियो। २०८० साल माघ ११ गतेसम्म भवन निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख थियो।

समयमा काम सम्पन्न नभएपछि निर्माण कम्पनीले भौगोलिक विकटताका कारण देखाउदै २०८१ माघ ११ गतेसम्म म्याद थपिए अनुसार काम सम्पन्न भएको सहरी विकास तथा भवन निर्माण संघीय आयोजना कार्यान्वयन एकाइ पोखराका इन्जिनियर नरेन्द्र बुढाले बताउनुभयो।