• १६ भदौ २०८१, आइतबार

विश्वविद्यालयमा सरकारले हस्तक्षेप गरेको छैन : शिक्षामन्त्री भट्टराई

blog

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई

काठमाडौँ, भदौ १३ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरकारले कुनैपनि विश्वविद्यालयमा हस्तक्षेप नगरेको बताउनुभएको छ ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका विषयहरूको सन्दर्भमा जवाफ दिनुहुँदै मन्त्री भट्टराईले सरकारले कुनैपनि विश्वविद्यालयमा हस्तक्षेप नगरेको बताउनुभएको हो ।

‘‘उच्च शिक्षा पढ्न विदेश जाने लहर बढ्दो छ । विश्वविद्यालयमा योग्यता प्रणालीको सुरुवात भएको थियो । प्रधानमन्त्रीबाट हस्तक्षेप भयो । शिक्षामन्त्रीबाट विश्वविद्यालयमा राजनीतिक हस्तक्षेपका लागि गुहारिएको देखियो भन्ने प्रश्नमा, शिक्षामा प्रणालीगत सुधार हुन नसक्नु, विद्यार्थीहरूले पढ्दै कमाउने अवसर हामीले दिन नसक्नु हो । देशमा सबैखाले श्रमको सम्मान नहुनु पनि हो ।,’’ शिक्षामन्त्री भट्टराईले भन्नुभयो, ‘‘युवाहरूमा सजिलो रोजगारीको आकाङ्क्षा बढिरहेको छ । सजिलो रोजगारी पाउने अवस्था अझै हामीले सिर्जना गर्न सकेका छैनौँ । यस्ता विषयलाई राजनीतिक नारा मात्रै नबनाई राजनीतिक प्रणालीले नै सम्बोधन गर्नुपर्छ ।’’

उहाँले प्रधानमन्त्रीबाट कुलपतिको हैसियतले निर्देशन दिने बाहेक अन्य कुनै पनि विश्वविद्यालयमा हस्तक्षेप नभएको स्पष्ट पार्नुभयो । उहाँले आफूले प्रधानमन्त्रीलाई हस्तक्षेप गर्नका लागि नगुहारेको पनि बताउनुभयो ।

मन्त्री भट्टराईले विद्यमान नियम, कानुन बमोजिम कुलपति र सहकुलपतिका हैसियतले प्रधानमन्त्री र शिक्षामन्त्रीले आवश्यक निर्देशन दिनुपर्ने भन्दै सो काम आफूहरूले संयुक्त रूपमा गरिरहेको जिकिर गर्नुभयो ।

उहाँले विश्वविद्यालयका व्यवस्थापकीय कार्यमा सरकारले कुनैपनि हस्तक्षेप नगरेको र आगामी दिनमा पनि नगर्ने बताउनुभयो ।

‘‘प्रधानमन्त्रीबाट कुलपतिको हैसियतले निर्देशन दिने बाहेक अन्य कुनैपनि विश्वविद्यालयमा हस्तक्षेप गरिएको छैन । मैले पनि प्रधानमन्त्रीलाई हस्तक्षेप गर्नका लागि गुहारेको छैन । विद्यमान नियम, कानुन बमोजिम कुलपति र सहकुलपतिका हैसियतले प्रधानमन्त्री र शिक्षामन्त्रीले आवश्यक निर्देशन दिने काम हामी संयुक्त रूपमा गर्ने गर्छौ ।,’’ शिक्षामन्त्री भट्टराईले भन्नुभयो, ‘‘विश्वविद्यालयका व्यवस्थापकीय कार्यमा सरकारले कुनैपनि हस्तक्षेप गरेको छैन । गर्ने पनि छैन । तर म अहिले पनि भन्न चाहन्छु, हामीले राजनीतिक प्रतिबद्धता र कानुनी शासनलाई विश्वविद्यालयभित्र नस्विकार्ने हो भने विश्वविद्यालयहरू हस्तक्षेपकारी अवस्थामा पुग्छन् । दबाबमा पुग्छन् ।’’

मन्त्री भट्टराईले राजनीतिक प्रतिबद्धता र कानुनी शासनलाई विश्वविद्यालयभित्र नस्विकारे विश्वविद्यालयहरू हस्तक्षेपकारी अवस्थामा पुग्ने भन्दै यसतर्फ सबैलाई सचेत गराउनुभयो ।