• १३ भदौ २०८१, बिहिबार

बेनी जोमसोम सडक अझै खुलेन

blog

मुस्ताङ र म्याग्दीको सिमानामा रहेको अवरोध हटाउँदै प्रहरी तथा सर्वसाधारण ।

अमृतप्रसाद पौडेल

म्याग्दी, भदौ १३ गते । हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी जोमसोम सडक खण्ड अझै खुल्न सकेको छैन । बेनी–जोमसोम–कोरला कालिगण्डकी करिडोर सडक आयोजनाको अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरस्थित पहिरो जाँदा बुधबार बेलुकादेखि अवरुद्ध भएको थियो । 

रातभरी वर्षाले गर्दा सडक खुलाउने प्रयास गर्न समेत समस्या भएको भएपनि बिहानदेखि प्रयास गर्दा पनि हालसम्म सडक सञ्चालनमा आउन सकेको छैन। 

बेनी जोमसोम कोरला कालिगण्डकी करिडोर सडक आयोजनाका सुपरभाईजर इन्द्रसिंह शेरचनका अनुसार बिहानैदेखि सडक खुलाउने प्रयास गरिएको भएपनि लगातार पहिरो झरी रहेकोले अहिलेसम्म अझै सडक सुचारु गर्न सकिएको छैन । "मेसिन प्रयोग गरेर सडक खुलाउने प्रयास भैरहेको छ तर कति समय लााग्छ यसै भन्न सक्ने अवस्था छैन", शेरचनले भन्नुभयो । 

त्यस्तै बेनी–जोमसोम सडक खण्डकै अन्नपूर्ण गाउँपालिका–३ दाना र मुस्ताङको थासाङ गाउँपालिका–२ घाँसाको सिमानामा पहिरो आएर थुप्रेको ढुङ्गाहरु प्रहरी चौकी घाँसा प्रहरी र स्थानीयले हटाएका छन् । प्रहरीसँगै पुगेका स्थानीयले काभ्रे भिरमा रहेको ढुङ्गाहरु हटाएर सडक सुचारु गरेको मुस्ताङ प्रहरीले जनाएको छ । काभ्रे घाँसा सडक खुलाएको भए पनि सुकेबगरको पहिरोले भएको अवरोध नहट्दा आवतजावतलाई समस्या भएको छ ।

त्यसैबिच गएको असार तेस्राे साताको सरुदेखि नै रोकिएको पोखरा–जोमसोम उडान दुई महिनामा खुलेको छ । गत असार १५ गतेदेखि रोकिएको हवाइ उडान भदौ १३ देखि सुरु भएको मुस्ताङका प्रहरी नायब उपरीक्षक(डिएसपी) भोजराज पाण्डेयले जानकारी दिनुभयो । भदौ १३ गते बिहीबार मुस्ताङमा समिट एयरको पाँच वटा फ्लाइट भएको छ । उक्त पाँच वटा फ्लाइटबाट पाँच जना नेपाली सहित ८४ जना यात्रु मुस्ताङ आइपुगेका थिए ।

पोखरा–जोमसोम रुटमा वर्षातकाे सुरुवात भएसँगै असार १५ पछि हरेक वर्ष हवाइ उडान बन्द हुने र भदौ दोश्रो सातापछि उडान सुचारु हुने गरेको छ । यस वर्ष पनि वर्षात्को सिजन सुरु भएपछि बन्द भएको हवाइ उडान वर्षात् कम हुँदै गएपछि पुनः सुचारु भएको मुस्ताङका पूर्व सांसद प्रेमप्रसाद तुलाचनले बताउनुभयो । "मेरो गाडी पनि थियो गाडीमै मुस्ताङ जाने योजना बनाएको भएपनि प्लेन सुरु भएपछि त्यसैबाट पुगेँ मेरो गाडी स्थलमार्ग हुँदै बेनी आइपुगेको होला दिउँसो साढे १ बजे," तुलाचनले भन्नुभयो । "आजै उडानबाटै म जोमसोम आएँ, अब पोखारा जोमसोमको हवाइ उडानसँगै मुस्ताङ आउने आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्ने आशा गर्न सकिन्छ", उहाँले भन्नुभयो । तुलाचनका अनुसार आजका सबै उडानहरु फुल फेजमा आएको र अधिकांश भारतीय पर्यटक थिए ।