• १३ भदौ २०८१, बिहिबार

रुपन्देहीका अस्पतालमा डेंगु बिरामीको चाप बढ्याे

blog

लक्ष्मण पाैडेल

भैरहवा, भदौ १३ गते । रुपन्देहीका अस्पतालहरुमा डेंगु सङ्क्रमित बिरामीहरुको चाप बढ्न थालेको छ । वर्षातका कारण पानी जमेका स्थानबाट संक्रमण फैलिने गरेको हो । जिल्लाका भैरहवा, बुटवल, तिलोत्तमा लगायतका क्षेत्रमा सङ्क्रमण बढी पाइएको छ । 

रुपन्देहीमा सङ्क्रमण बढ्दो क्रममा रहेकाले थप फैलिन सक्ने चिकित्सकले चेतावनी दिएका छन् । चिकित्सकका अनुसार जिल्लामा गत पुस, माघदेखि सङ्क्रमण देखिन थालेको थियो । असार र साउनमा सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको हो । जिल्ला स्वास्थ्य कार्यालय, रुपन्देहीका सूचना अधिकारी भेषराज शर्माले रुपन्देहीमा एक सय ६० डेंगु सङ्क्रमित रहेको बताउनुभयो । उहाँका अनुसार महामारीको रुप नलिए पनि विभिन्न अस्पतालमा दैनिक रुपमा सङ्क्रमण भएर आउने गरेका छन् । त्यसैले सावधानी अपनाउन जरुरी रहेको उहाँले बताउनुभयो ।

शर्माका अनुसार थप वर्षा भएसँगै सफा पानी जमेका स्थानमा डेंगीको लार्भा हुर्किने र त्यसबाट संक्रमण फैलिन सक्छ । डेंगु रोकथामका लागि जिल्लाका स्थानीय तह प्रमुख र अस्पताल प्रमुखलाई बोलाएर सावधानी अपनाउन अनुरोध गरिएको उहाँले बताउनुभयो । "हरेक स्थानमा खोज र नष्ट गर अभियान चलाइरहेका छौं," उहाँले भन्नुभयो, "पानी परिरहेकाले सफा स्थानमा पानी जम्ने बित्तिकै लार्भा फैलने संकेत देखिन्छ । हामीले अण्डा नै नष्ट गर्नु बाहेक विकल्प छैन ।" सङ्क्रमण ह्वात्तै फैलिने जोखिम रहेकाले अस्पतालमा आईसीयू बेड र आवश्यक उपचार सामग्री तयारी अवस्थामा राख्न जिल्ला प्रशासन कार्यालयबाट निर्देशन गरिसकिएको उहाँले बताउनुभयो ।

भैरहवास्थित भीम अस्पतालका सूचना अधिकारी तथा बालरोग विशेषज्ञ डा. आरिफ हुसेनले अस्पतालमा भर्ना गर्नुपर्ने सङ्क्रमितको सङ्ख्या भने कम रहेको बताउनुभयो । गम्भीर अवस्थाका नआए पनि संक्रमित भने आइरहेको हुसेनले बताउनुभयो । "मैले नै बालबालिकामा भएको संक्रमणको उपचार गरिरहेको छु," उहाँले भन्नुभयो, "सङ्क्रमणको प्रकृति हेरेर के खाने, कसरी सुरक्षित रहने भन्ने काउन्सिलिङ गरिरहेका छौं ।" बिरामीको चाप बढ्न सक्ने भएकाले आफूहरु उपचारका लागि तयार रहेको उहाँले बताउनुभयो ।