• १३ भदौ २०८१, बिहिबार

कुलमान घिसिङलाई कारबाही गर्नुहुँदैन : सांसद केसी

blog

नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसी । फाइल तस्बिर ।

काठमाडाैं, भदाै १२ गते । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्न नहुने बताउनुभएको छ ।

बुधवार नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद केसीले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बक्यौता रकम उठाउनुपर्छ भनेको आधारमा कारबाही गर्न नहुने बताउनुभएको हो । 

उहाँले सार्वजनिक लेखा समितिले कसैलाई कारबाही गर्ने-नगर्ने भन्दा पनि सम्पूर्ण बक्यौता रकम उठाउन निर्देशन दिनुपर्ने बताउनुभयो । उहाँले घिसिङलाई कारबाही गर्दा राम्रो सन्देश नजाने बताउनुभयो । 

उहाँले भन्नुभयो, "विद्युतीकरण र विद्युत् उपभोक्ता ६७ लाख परिवार छन् । त्यो परिवारसम्म पुग्ने सन्देश, कुलमानजी चाहिँ बाँकी बक्यौता सबै उठाउनुपर्छ भन्ने । अनि हामी कुलमानलाई कारबाही गर्ने भन्यौँ भने त्यसले सन्देश के जान्छ ? त्यसकारणले बाँकी बक्यौतालाई स्पष्ट रुपबाट २१ अर्ब ८८ करोड नै उठाउने । तर यसलाई तत्काल उठाउ भनेर समय, सीमा तोकिदिने र अहिलेसम्मको आयोग, उपसमितिको अध्ययनको सारांश केन्द्रित गराएर अहिलेसम्मका गर्नुपर्ने काम किन भएन र तत्कालै बाँकी बक्यौता असुल गर भन्ने सिवाय लेखा समितिले अरु कसलाई कारबाही गर्ने, नगर्नेमा प्रवेश नै गर्नुहुन्न भन्ने अडानमा म छु ।"

सार्वजनिक लेखा समितिको सदस्यसमेत रहनुभएका सांसद केसीले घिसिङलाई कारबाही गर्ने समितिको निर्णय भएमा आफूले नोट अफ डिसेन्ट लेख्ने पनि बताउनुभयो ।