• १६ भदौ २०८१, आइतबार

कार्यालय अस्थायी, कर्मचारी स्थायी : स्थानीय तहमा सधैँ अभाव

blog

काठमाडौँ, भदौ १२ गते । अस्थायी प्रकृतिका कार्यालयमा स्थायी कर्मचारी खटाउँदा स्थानीय तहमा सधैँ कर्मचारी अपुग हुने गरेको छ । अहिले पनि २४८ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत रिक्त छन् । यस्तो अवस्थामा समेत सरकारले विभिन्न बोर्ड, परिषद्, समिति, आयोजना तथा कार्यक्रमलगायतका अस्थायी प्रकृतिका निकायमा स्थायी कर्मचारी खटाउँदै आएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अहिले ११ उपमहानगरपालिकामध्ये १० वटा उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त छन् । त्यस्तै २७६ नगरपालिकामध्ये ११६ वटा नगरपालिकामा र ४६० गाउँपालिकामध्ये १२२ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त छन् । मन्त्रालयका सहसचिव विष्णुप्रसाद ज्ञवालीले कतिपय अवस्थामा अस्थायी कार्यालयमा स्थायी कर्मचारी पठाउँदा स्थानीय तहमा कर्मचारी अपुग हुने गरेको स्विकार्नुभयो । उहाँका अनुसार अस्थायी प्रकृतिका आयोजनामा सरकारले हरेक वर्ष अस्थायी दरबन्दी स्वीकृत गर्ने गरेको छ । 

सहसचिव ज्ञवालीले भन्नुभयो, “संवैधानिक निकाय, प्रधानमन्त्री कार्यालय, श्रम तथा रोजगार मन्त्रालय र अर्थ मन्त्रालयलगायतका संवेदनशील कार्यालयको सहमतिबिना कर्मचारी सरुवा गर्न मिल्दैन । त्यसले पनि स्थानीय तहमा सधैँ कर्मचारी अपुग हुने गरेका छन् ।” मन्त्रालयका अनुसार स्वीकृत अस्थायी दरबन्दी रहने (बोर्ड, परिषद्, आयोजना, कार्यक्रम) जस्ता कार्यालयमा अहिले शाखा अधिकृत ५४ जना, उपसचिव २८ र सहसचिव चार जना खटिएका छन् । प्रदेश मन्त्रालय अन्तर्गतका, आयोग, केन्द्र र प्रतिष्ठानमा कामकाज गर्न सहसचिव १३, उपसचिव ३८, शाखा अधिकृत ४२, अध्ययन तथा असाधारण बिदामा सहसचिव चार, उपसचिव १४, शाखा अधिकृत १८, निलम्बनमा रहेका कर्मचारी सहसचिव तीन, उपसचिव छ र शाखा अधिकृत सात र गम्भीर बिरामी तथा असक्त भएका कर्मचारीमा उपसचिव आठ, शाखा अधिकृत ११ जना छन् । अतिरिक्त समूहमा रहने कर्मचारी सहसचिव सात, उपसचिव १६ र शाखा अधिकृत २२ जना रहेका छन् ।  

विभिन्न अस्थायी आयोजनामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी काजमा खटाउने व्यवस्था छ तर त्यसरी खटाइने कर्मचारीको दरबन्दीको गणना नहुने मन्त्रालयले जनाएको छ । अन्य सेवा समूह इन्जिनियरिङ, कृषि, लेखा, परराष्ट्र, शिक्षालगायतका समूहमा पुल दरबन्दी सिर्जना गरी पदपूर्ति गरिँदै आए पनि प्रशासन सेवामा भने पुल दरबन्दी सिर्जना गरी पदपूर्ति नगरिएको मन्त्रालयले स्पष्ट पारेको छ । प्रशासन समूहमा पुल दरबन्दी नहुने र दरबन्दी अनुसारका स्थायी कर्मचारी अन्यत्रै खटाउने गरिएकाले स्थानीय तहमा सधैँ कर्मचारी अपुग हुने गरेको मन्त्रालयले जनाएको छ । 

नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गानाले स्थानीय तहमा दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाउन पुल दरबन्दी आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब स्थानीय तहमा धमाधम विकास निर्माण र सेवा प्रवाहको काम सुरु हुने बेला भएको छ तर २४० भन्दा बढी स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत छैनन् । सरकारले जसरी पनि स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउनु पर्छ ।”