• १० मंसिर २०८१, सोमबार

युक्रेनी ऊर्जा केन्द्रमा भएको रूसी हमलाको राष्ट्रपति बाइडेनद्वारा निन्दा

blog

अमेरिकी राष्ट्रपति जो बाइडेन

वासिङ्टन, भदौ ११ गते । अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसले सोमबार युक्रेनी ऊर्जा केन्द्रमा गरेको हमलाको निन्दा गर्दै कियभलाई आफ्नो निरन्तर समर्थन रहने वाचा गर्नुभएको छ । 

रूसले सोमबार युक्रेनमा सयौं ड्रोन तथा क्षेप्यास्त्र प्रहार गर्दा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै युक्रेनको ऊर्जा केन्द्र ध्वस्त भएको अधिकारीहरूले बताएका छन् ।

यसै सन्दर्भमा अमेरिकी राष्ट्रपति बाइडेनले भन्नुभयो, “युक्रेनविरुद्ध रूसको निरन्तर आक्रमण र युक्रेनी जनतालाई अन्धकारमा डुबाउने प्रयासको कडा रुपमा निन्दा गर्दछु ।”

युक्रेनमा पछिल्लो समय मस्कोले गरेको आक्रमणले “ब्ल्याकआउट” (उर्जा सङ्कट) सुरु भएको छ । कियभले रूसको कुर्स्क क्षेत्रको भूभाग नियन्त्रणमा लिएको दाबी गरेपछि यो अवस्था आएको जनाइएको छ । 

सन् २०२२ फेब्रुअरीको  आक्रमणपछि रूसले युक्रेनमा बारम्बार उर्जा केन्द्र लक्षित ड्रोन तथा मिसाइल आक्रमण गरेको छ ।

युक्रेनको “सैन्य–उत्पादन परिसर” लाई सहयोग गर्न प्रयोग भइरहेको दाबी गर्दै ऊर्जा केन्द्रहरुमा प्रहार गरेको रूसी रक्षा मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । 

रूसले सोमबार गरेको आक्रमणमा परी निर्दोष युक्रेनी नागरिकहरूको मृत्यु भएको, २० जनाभन्दा बढी घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । रासस/एएफपी