• १० भदौ २०८१, सोमबार

पुरुषोत्तमलाई राष्ट्रिय एमेच्योर बुद्धिचाल उपाधि

blog

बुद्धिचालमा उपाधि विजेता खेलाडी ।

काठमाडौँ, भदौ १० गते । नेपाल बुद्धिचाल महासङ्घको आयोजनामा सम्पन्न राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताको उपाधि पुरुषोत्तम चौलागाईंले जित्नुभएको छ । झापा जिल्लाको मेचि नगर नगरपालिका काँकडभिट्टामा सोमबार सम्पन्न चारदिने प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरि सिएम पुरुषोत्तमले उपाधि जित्नुभएको हो ।

छैटौँ राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताका विजेता १९३७ रेटेड पुरुषोत्तमले सात चरणको क्लासिकल खेलमध्ये पाँच जित दुई बराबरी खेल्दै ६ अङ्क जोड्नुभयो । उहाँले २१७७ रेटिङ्ग पर्फोम गर्दै ५० हजार रुपियाँ हात पार्नुभयो । 

५.५ अङ्क जोड्नुभएका राजेन्द्र राई दोस्रो हुनुभयो । उहाँले २५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । समान ५.५ अङ्क बनाउनुभएका धिरेन राई डाइरेक्ट इन्काउन्टर, बुकोल्ज वान टु र मोष्ट वीन नियमका आधारमा तेस्रो हुनुभयो । उहाँले १५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

यस्तै १७०० मुनिको विधामा २३६२ रेटिङ्ग पर्फोमेन्स गर्दै रञ्जित राई पहिलो हुनुभयो । राईले ६५.२ रेटिङ्ग बढाउदै सबै खेल जित्नुभएको हो । उहाँले ५० हजार रुपियाँ पुरस्कार पाउनुभयो । रामहरि कार्की दोस्रो बन्दै २५ हजार र तेस्रो हुनुभएका कपिल गुरुङले १५ हजार रुपियाँ पाउनुभयो । चोथो बन्न सफल महिला खेलाडी पूजा भण्डारीले १२ हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

मेचिनगर नगरपालिका र पशुपति बोर्डिङ स्कुलको प्रमुख प्रायोजनमा सञ्चालित प्रतियोगिताका विजेतालाई कोसी प्रदेशसभा सदस्य गोपाल तामाङ, नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जनलगायतले पुरस्कार प्रदान गर्नुभयो ।