• १० भदौ २०८१, सोमबार

हेटौँडा–काठमाडौँ जोड्ने सडक अवरुद्ध

blog

फाइल तस्बिर ।

अनिल पराजुली

हेटौँडा, भदौ १० गते । निरन्तर वर्षाका कारण हेटौँडा–काठमाडौँ जोड्ने दुई वटा सडक अवरुद्ध भएको छ । माथिबाट खसेको लेदोका कारण सिस्नेरी–कुलेखानी–फर्फिङ–काठमाडौँ सडक र कान्ति लोकपथ सडकखण्ड अवरुद्ध भएको हो । 

सोमवार तीन बजेर ५० मिनेटको समयमा मकवानपुरको इन्द्रसरोबर गाउँपालिका –३ रामचन्द्र भन्ज्याङस्थित सिस्नेरी कुलेखानी फर्फिङ काठमाडौँ सडकखण्डमा वर्षाका कारण लेदो खसेर बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । 

प्रहरी चौकी सिस्नेरीबाट खटिएको टोलीसहित सडक डिभिजन कार्यालयसँग समन्वय गरी जेसिभिले बाटो पन्छाउने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै, आज दिउँसो तीन बजेर २० मिनेटको समयमा मकवानपुरको भिमफेदी गाउँपालिका–८ महादेवटारस्थित हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ सडकखण्डमा वर्षाका कारण लेदो खसेर बाटोमा अवरोध भएको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार इलाका प्रहरी कार्यालय ठिंगन र सडक विभाग तथा फास्टट्रयाकसँग समन्वय गरी पहिरो पन्छाउने काम भइरहेको छ ।