• १० भदौ २०८१, सोमबार

दश हजारभन्दा बढी कन्याको पूजा

blog

सनातन कन्या पूजा प्रबन्ध समितिले कृष्ण जन्माष्टमीको अवसरमा एक सय बाइस वर्षदेखि काभ्रेपलाञ्चोकको बनेपामा मनाउँदै आएको कन्या पूजा अन्र्तगत सोमबार पुजिँदै कन्याहरु । तस्बिर : केदार तिमल्सिना

केदार तिमल्सिना 

बनेपा, भदौ १० गते । कृष्ण जन्माष्टमीको अवसर पारेर काभ्रेपलान्चोक जिल्लाको विभिन्न स्थानमा आयोजना गरिएको कन्या पूजामा दश हजारभन्दा बढी कन्याहरू पुजिएका छन्। एक सय बाइस वर्ष पहिले बनेपाको पुरानो बजारस्थित भोलाखाँ टोलबाट सुरु भएको कन्या पूजा पछिल्लो समय बनेपाको साथै जिल्लाको पनौती, धुलिखेल, नमोबुद्ध नगरपालिकाको विभिन्न स्थानमा समिति बनाएर नै कन्या पूजा सुरु गरिएको हो । 

१२२ वर्ष पहिलेदेखि सनातन कन्या पूजा प्रबन्ध समितिले सोमबार बनेपामा आयोजना गरेको कन्या पूजामा करिब सात हजार कन्याहरू पुजिएको समितिका सचिव सुरकृष्ण वैद्यले जानकारी दिनुभयो । उहाँले कन्याहरूको सुख, शान्ति, समृद्धि र निरोगिताको लागि सनातन कन्या पूजा प्रबन्ध समितिले हरेक वर्ष कृष्ण जन्माष्टमीको दिनमा कन्या पूजा गर्दै आएको बताउनुभयो । उहाँले बनेपालीहरुले वि.सं. १९५९ देखि रजस्वला नभएका कन्याहरूको पूजा गर्दै आएको बताउनुभयो । 

रजस्वला नभएका कन्याहरूको पूजा गर्नाले उनीहरूमा सुःख, शान्ति, समृद्धि छाउने जनविश्वास रहेको पाइन्छ भने यो पूजामा सहभागी भएका कन्यामा रहको रोग समेत हटेर जाने विश्वास छ । कन्याहरूलाई विशेषगरि स्वारी र मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु दिनुको साथै उनीहरूको टाउकोमा तेल हालिदिएर उनीहरूको पूजा गरिँदै आएको सचिव वैद्यले बताउनुभयो । 

बनेपाको भोलाखाँ टोलबाट सुरु भएको कन्या पूजा बनेपाको भित्रीबजारदेखि चार दोबाटोसम्मको दायाँबायाँ सडकमा राखेर कन्याहरू पुजिने प्रचलन रहेको छ । सोमबार भएको कन्या पूजामा सहभागिता जनाउनका लागि बनेपाका साथै जिल्लाका विभिन्न स्थान र भक्तपुर, सिन्धुपाल्चोक लगायतका छिमेकी जिल्लाबाट समेत कन्याको सुःख, समृद्धिका लागि कन्या पुज्न बनेपा ल्याइएको थियो कृष्ण जन्माष्टमीको अवसरमा बनेपाको पुरानो बजारका साथै बनेपा कै बुडो, सिनागाल, पुलबजार, थापागाउँ, भैंसेपाटी, धनेश्वर, धुलिखेल, छत्रेबाँझ दाप्चा, साँगा र खड्पु, पनौतीमा समेत सयौँ कन्याहरू पुजिएका छन् । यस वर्ष बनेपाका साथै अन्य स्थानमा गरी जिल्लामा दश हजार भन्दा बढी कन्याहरू पुजिएका छन्।