• १० भदौ २०८१, सोमबार

विकास र समृद्धिका लागि जङ्गी सुधार आवश्यक : महासचिव पोखरेल

blog

नेकपा (एमाले) का महासचिव शंकर पोखरेल प्रचार विभागको बैठकमा धारणा राख्नुहुँदै ।

गोरखापत्र अनलाइन 

काठमाडौं, भदौ १० गते । नेकपा  (एमाले) का महासचिव शङ्कर पोखरेलले विकास र समृद्धिका लागि जङ्गी सुधार आवश्यक रहेको बताउनुभएको छ । एमाले केन्द्रीय प्रचार विभागको १३ औँ बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 

उहाँले नेपाल क्रान्तिमा च्याम्पियन भए पनि लोकतन्त्रको व्यवस्थापनमा भने केही कमजोर भएको उल्लेख गर्नुभयो । उहाँले जनमतकै आधारमा जङ्गी सुधार गर्न सकिने भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली दोस्रो कार्यकाल प्रधानमन्त्री हुँदा जङ्गी सुधारका काम अघि बढाएको स्मरण गराउनुभयो । त्यतिबेला जङ्गी सुधारको अभियानका विरुद्धमा सिन्डिकेट चलाइरहेका, ठेक्कापट्टाका काम गर्नेहरू र सुधारका अभियान चलाउँदा आफूहरूलाई घाटा हुन्छ भन्ने ठान्नेहरू बलशाली भएर जनतालाई भड्काउने काम गरेर जङ्गी सुधारमा अवरोध गरेको स्मरण गराउनुभयो । 

महासचिव पोखरेलले वित्तीय पुँजीवादको होडबाजीले दक्षिण एसियाको राजनीतिमा उथलपुथल भएको स्मरण गर्नुभयो । उहाँले व्यापारिक स्वार्थको टकराबलाई राजनीतिक चस्माले हेर्दा पनि थप समस्या भएको उल्लेख गर्नुभयो । उहाँले राजनीतिमा वैकल्पिक शक्ति भन्ने मनोगत कुरालाई नयाँ र  स्वतन्त्र हुँ भन्नेहरूको आर्थिक, सामाजिक जीवनमा देखिएको छताछुल्ल अवस्थाले बिस्तारै तोड्दै गएको बताउनुभयो ।  

उहाँले सामाजिक सञ्जालको दुरुपयोगमा अयोग्य मान्छेलाई योग्य प्रमाणित गराउन खोज्ने र असललाई पनि खराब देखाउन खोज्ने प्रवृत्ति दुवैले दीर्घकालमा असर गर्ने पनि उल्लेख गर्नुभयो ।