• १० भदौ २०८१, सोमबार

‘ब्लु लाइन’ पार गर्दा क्षेत्रीय सुरक्षामा खतरा : संयुक्त राष्ट्रसङ्घ

blog

न्यूयोर्क, भदौ १० गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले लेबनान–इजरायल सीमाको ‘ब्लु लाइन’मा बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै यस्ता गतिविधिले स्थानीय बासिन्दालाई जोखिममा पार्ने तथा क्षेत्रीय सुरक्षा र स्थिरतालाई खतरामा पार्ने बताउनुभएको छ । 

लेबनान र इजरायलले ‘ब्लु लाइन’ पार गरी गरेको गोलाबारीमा उल्लेखनीय वृद्धि भएकोमा महासचिव चिन्तित रहेको राष्ट्रसङ्घका प्रमुखका प्रवक्ता स्टेफन दुजारिकले  विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ ।

राष्ट्रसङ्घीय प्रमुखले तनाव र यसका लागि जिम्मेवार पक्षहरूलाई तत्काल शत्रुता अन्त्य गरी राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्ताव १७०१ लाई पूर्ण रूपमा कार्यान्वयन गर्न आह्वान गर्नुभएको छ ।

आइतबार, इजरायली संस्थाले दक्षिणी लेबनानका क्षेत्रहरूलाई लक्षित गरी हवाई आक्रमण गर्दा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएका छन्  । 

इजरायली सैन्य इकाईले अक्टोबर ७ देखि गाजापट्टीमा चलिरहेको क्रूर आक्रमणको संयोजनमा दक्षिणी लेबनानका क्षेत्रहरूमा बमबारी बढाउँदा निहत्था नागरिकको हताहत हुनुका साथै सयौँ परिवारलाई घर छोड्न बाध्य पारेको छ । रासस/क्युएनए