• १० भदौ २०८१, सोमबार

सकियो माओवादी केन्द्र गण्डकीको केन्द्रीय परामर्श बैठक

blog

माओवादी केन्द्र गण्डकीको केन्द्रीय परामर्श बैठक । तस्बिर नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालय

पोखरा, भदौ १० गते । नेकपा (माओवादी केन्द्र) को गण्डकी प्रदेशस्तरीय केन्द्रीय परामर्श बैठक सोमबार सकिएको छ । आइतबारबाट सुरु भएको बैठकमा केन्द्रीय पदाधिकारीसहित सो प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

बैठकमा गण्डकी प्रदेशमा कार्यरत केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारी गरी ५९ जनाले पार्टी निर्माणका लागि सुझाव पेस गर्नुभएको थियो । बैठकलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित केन्द्रीय पदाधिकारीहरूले सम्बोधन गर्नुभएको थियो ।

केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत परामर्श बैठक सुरु गरिएको हो । जसअनुसार बागमती, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशको बैठक सम्पन्न भइसकेको छ । अब भदौ १२ र १३ गते सुदूरपश्चिम प्रदेशमा त्यस प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीसहितको परामर्श बैठक बस्नेछ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय पदाधिकारीले प्रदेशमा कार्यक्षेत्र भएका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको परामर्श लिने गर्नुभएको छ । प्रदेश परामर्श बैठकमा अध्यक्ष प्रचण्डले सुरुमा विषय प्रवेश गराएर नेताहरूको सुझाव सुन्ने गर्नुभएको छ । प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ । केन्द्रीय कमिटीले ठोस निर्णय गरेर नियमित कार्यक्रमिकरुपमा जनतामा जाने माओवादीको तयारी छ ।

यसैगरी, भदौ १४ र १५ गते कर्णाली प्रदेशमा त्यस प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूसहितको परामर्श बैठक बस्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

त्यस्तै, भदौ १६ र १७ गते लुम्बिनीमा, भदौ १९ र १९ गते तीन वटै केन्द्रीय आयोगका सदस्यहरूको बैठक, भदौ २२ र २३ गते मधेश प्रदेशमा, भदौ २४ र २५ गते १ नं प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक, भदौ २७ र २८ गते ज.व.स. मोर्चामा कार्यरत पार्टी केन्द्रीय सदस्यहरू र केन्द्रीय विभागहरूमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठक, भदौ ३१ र असोज १ गते प्रवास प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरू तथा प्रदेश पदाधिकारीहरूको बैठक र असोज २ र ३ गते ज्येष्ठ कम्युनिस्ट मञ्च र केन्द्रीय सल्लाहकारहरूको बैठक बस्ने छ ।