• १० भदौ २०८१, सोमबार

स्वास्थ्य क्षेत्रमा धेरै समस्या छन् : स्वास्थ्यमन्त्री

blog

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै ।

काठमाडौँ, भदौ १० गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै समस्या रहेको बताउनुभएको छ । सोमबार काठमाडौँमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले समस्याको पहिचान नगरी समाधान नहुने भन्दै समस्याको पहिला पहिचान गर्ने काममा आफू लागेको बताउनुभयो । उहाँले अस्पतालहरूमध्येमा प्रसूति तथा स्त्रीरोग अस्पतालको स्वास्थ्य सेवा प्रशंसायोग्य रहेको जिकिर गर्नुभयो ।

मन्त्री पौडेलले अहिलेको साधन स्रोतभित्र रहेर अस्पतालले गरेका कामहरू राम्रो रहेको बताउनुभयो । उहाँले उपलब्ध स्रोतसाधन र जनशक्तिभित्रबाट प्रभावकारी काम गर्न आवश्यक रहेको बताउनुभयो । नेपालमा स्वास्थ्यकर्मीहरूको जनशक्ति सीमित रहेको उहाँको भनाइ छ ।

स्वास्थ्यमन्त्री पौडेलले जनशक्ति उत्पादनको दायरा नीतिगत पक्षबाट फराकिलो बनाउन कोसिस गरिरहेको बताउनुभयो । उहाँले तीन सय शय्या क्षमताको सबै अस्पतालमा निजी क्षेत्रको सहभागितामा जनशक्ति उत्पादनको प्रक्रिया अघि बढाउन सक्नुपर्ने बताउनुभयो ।