• १० भदौ २०८१, सोमबार

इजरायलका ‘नयाँ सर्त’ अमान्य : हमास

blog

कायरो (इजिप्ट), भदौ १० गते । हमासले युद्धविराम सम्झौताका लागि इजरायलले राखेका ‘नयाँ सर्तहरू’ आफूहरूलाई अमान्य भएको भन्दै हमासको प्रतिनिधिमण्डल वार्ताबाट पछि हटेको छ ।

जुलाई–२ मा अमेरिकाद्वारा प्रस्तावित र संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदबाट अनुमोदित प्रस्तावमा मात्र वार्ता गर्न सकिने भन्दै हमासको वार्ताका लागि इजिप्टको कायरोमा रहेको प्रतिनिधिमण्डल त्यहाँबाट बाहिरिएको सिएनएनले जनाएको छ ।

वार्ताका लागि मध्यस्थकर्तासँग भेट गरेपछि हमास प्रतिनिधिमण्डल आइतबार कायरोबाट प्रस्थान गरेको हो ।

गाजा युद्धको एक पक्षको प्रतिनिधित्व गरेको हमासको प्रतिनिधिमण्डलले वार्तास्थल छोडेपछि युद्ध अन्त्य गर्ने अमेरिकालगायतका मध्यस्तकर्ताको युद्ध विराम सफलताको सम्भावनामा थप जटिलता आएको छ । 

हमासले अमेरिकी राष्ट्रपति बाइडेनको खाका र सुरक्षा परिषद्को प्रस्तावको आधारमा गरिएको जुलाई–२ को सम्झौतामा मात्र सहमत हुने दाबी गरेको हमासको राजनीतिक ब्युरोका सदस्य इज्जात अल–रिस्कले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

अल–रिस्कले सम्झौतामा स्थायी युद्धविराम, गाजा पट्टीबाट पूर्णरूपमा सेना फिर्ता, बासिन्दालाई आफ्नो क्षेत्र फर्कने स्वतन्त्रता, राहत तथा पुनर्निर्माणलगायतका विषय समावेश हुनुपर्नेमा जोड दिनुभयो । 

गत हप्ता हमासका वरिष्ठ अधिकारी ओसामा हमदानले अल अक्सा टिभीसँगको कुराकानीमा इजरायलले सम्झौता स्विकार्नका लागि नयाँ सर्तहरू तय गरेको र पहिलेका कुरा फिर्ता लिएको भन्दै नयाँ सर्त आफ्नो समूहका लागि मान्य नहुने बताउनुभएको थियो ।

हमदानका अनुसार नयाँ सर्तहरूमा इजिप्टसँगको सिमानामा रहेको पट्टी फिलाडेल्फी कोरिडोरमा इजरायली सेनाको पुनः स्थापना र इजिप्टसँगको रफाह सीमापारका लागि गैर–प्यालेस्टिनी व्यवस्थापनसमेत समावेश थियो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ‘नयाँ मागहरू’ थपी वार्ताको प्रगतिको बाधक बनेको हमासको दाबी छ । यसैबिच नेतान्याहूले सम्झौता भए पनि हमासविरुद्धको ‘पूर्ण विजय’ नभएसम्म गाजामा युद्ध जारी रहने कुरामा जोड दिनुभएको छ ।

हमासले गत वर्ष अक्टोबरमा इजरायलमा एक्कासि गरेको आक्रमणमा कम्तीमा एक हजार २०० जनाको मृत्यु भएको थियो भने करिब २५० जनालाई बन्धक बनाएको थियो । बदलामा इजरायलले सुरु गरेको सैन्य कारबाहीमा ४० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

यसैबिच, हमास निकट समूहविरुद्धको कारबाही स्वरूप इजरायलले सुरु गरेको अभियानमा लेबनानका ४० भन्दा बढी प्रक्षेपण क्षेत्रमा आक्रमण गरिएको जनाएको छ । आइतबार इजरायली सेनाले आफ्नो लडाकु विमानले उत्तरी र मध्य इजरायललाई लक्षित गरी हिजबुल्लाह समूहले पठाएका हजारौँ रकेट लन्चरलाई लेबनानको दक्षिणी सिमानामा आक्रमण गरेको जनाएको थियो ।

“करिब १०० आईएएफ लड़ाकु विमानले दक्षिणी लेबनानमा रहेका हजारौँ हिजबुल्लाह रकेट लञ्चर ब्यारेलमा आक्रमण गरी नष्ट गरिएको छ,” इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

तीमध्ये अधिकांश उत्तरी इजरायलतर्फ लक्षित थिए भने केही मध्य इजरायलतर्फ लक्षित थिए । हिजबुल्लाह समूहको आक्रमणपछि शनिबार इजरायलले लेबनानसँगको बढ्दो तनावबिच ४८ घण्टाका लागि सङ्कटकाल घोषणा गरेको थियो ।  रासस/एएनआई