• १० भदौ २०८१, सोमबार

पाटनमा कृष्णभक्त (फोटो फिचर)

blog

काठमाडौँ, भदौ १० गते ।  आज भाद्रकृष्ण अष्टमी अर्थात् कृष्णजन्माष्टमी । सनातन धर्मावलम्बीहरू भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्दै आजको दिन भव्य रूपमा मनाउने गर्छन् । यसै अवसरमा सोमबार सरकारले सार्वजनिक बिदा दिएको छ ।

पुराणका अनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीको मध्यरात रेवती नक्षत्रमा भगवान् विष्णु आठौँ अवतारका रूपमा कृष्ण जन्मिएका हुन् । मध्यकालमा ललितपुरका राजा सिद्धि नरसिंह मल्लले पाटनमा २१ गजुर भएको कृष्ण मन्दिर बनाउनुभएपछि नेपाल अधिराज्यमा कृष्ण प्रख्यात भएको मानिन्छ ।

जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानव मात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौँ अवतारको रूपमा भगवान् कृष्णले जन्म लिनुभएको मानिन्छ । 

ज्ञान योग, कर्मयोग र भक्ति योगका प्रणेता श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । विश्वभरिका हिन्दु धर्मावलम्बीले भक्ति योग, ज्ञान योग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक श्रीकृष्णजन्माष्टमी पर्व मनाउने प्रचलन छ । 

आज कृष्ण मन्दिरको दर्शन गर्न राष्ट्रप्रमुख पनि जाने चलन रहेको छ । श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्ने दर्शनार्थीको ललितपुरको पाटन कृष्ण मन्दिरमा  भीड लागेको छ । दर्शनार्थीहरुलाई पूजाका लागि महिला पुरुष गरी दुई लाइनको व्यवस्था मिलाइएको छ । स्वयंसेवकहरूले उनीहरूलाई पालैपालो दर्शन गर्ने व्यवस्था गरिएको छ भने प्रहरीलाई मन्दिर परिसरमा सुरक्षाका लागि खटाइएको छ ।



Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।