• १० भदौ २०८१, सोमबार

मङ्गलादेवी सिंहको २८ औँ स्मृति दिवस मनाइयो

blog

काठमाडौँ, भदौ १० गते । नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष तथा नेपाली नारी आन्दोलनकी पहिलो महिला नेतृ मङ्गलादेवी  सिंहको २८ औँ स्मृति दिवस मनाइएको छ ।  स्मृति दिवसको सन्दर्भमा आज बिहान शोभा भगवती डल्लुमा रहेको सिंहको सालिकमा माल्यार्पण गरी उहाँप्रति श्रद्धा सुमन अर्पण गरिएको हो । 

मङ्गलादेवी पुत्रसमेत रहनुभएका उपप्रधान तथा सहरी विकास मन्त्री  प्रकाशमान सिंहले सालिकमा माल्यार्पण गर्नुभयो । माल्यार्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री  सिंहले नेपाली महिलाको हक, अधिकारका लागि आवाज उठाउने पहिलो महिला मङ्गलादेवी सिंह भएको बताउँदै अहिले संविधानमा रहेको समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मङ्गलादेवीकै नेतृत्वमा भएको आन्दोलनको उपलब्धि भएको बताउनुभयो । 

कार्यक्रममा मङ्गलादेवी फाउन्डेसनकी अध्यक्ष सिर्जना सिंहले मङ्गलादेवी सिंह नेपाली महिलाका लागि प्रेरणा रहेकोभन्दै उहाँले नेपाली महिला आन्दोलनमा दिएको योगदान अतुलनीय रहेको बताउनुभयो । 

महिलाको हक, अधिकारलाई सुरक्षित बनाउनका लागि विसं २००४ साउन २४ गते मङ्गलादेवी सिंहको अध्यक्षतामा महिला भेला भई महिला सङ्घको स्थापना भएको थियो  । उहाँले महिलाले पढ्न पाउनुपर्छ भन्दै दिएको दबाबका कारण पद्म शमशेर राणा पद्म कन्या क्याम्पस खोल्न तयार हुनुभएको थियो ।