• ९ भदौ २०८१, आइतबार

मिर्गौला पीडितलाई आर्थिक सहयोग

blog

गुणबहादुर रोका 

सुलीकोट, भदौ ९ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ लापुबेशीका मिर्गौला पीडित ११ वर्षीया अनुजा गुरुङलाई आर्थिक सहयोग प्रदान गरिएको छ । धार्चे–७ लापुबेशीका स्थायी घर भएका हाल हङकङमा बसोबास गर्दै आएका तमु प्ये ल्हु सङ्घ प्रवास शाखा हङकङले गोरखा शाखामार्फत नगद सहयोग गरेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रवास शाखा हङकङले ११ वर्षीया गुरुङको उपचारको लागि एक लाख ८० हजार सहयोग गरेको उहाँले बताउनुभयो । त्मु प्ये ल्हु सङ्घले आइतबार एक कार्यक्रम गरी मिर्गौला पीडित गुरुङको आमालाई नगद हस्तान्तरण गरेको तमु प्ये ल्हु सङ्घ गोरखाका अध्यक्ष सूर्य गुरुङले बताउनुभयो ।  

आर्थिक अवस्था कमजोर भएका मिर्गौला पीडित गुरुङको उपचारमा थप सहयोग पुगोस् भन्ने उद्देश्य सहित जिल्ला सङ्घले सहयोग अपिल गर्दे आएको छ। धार्चेका वैदेशिक रोजगार वा विदेशमा व्यापार व्यवसाय गर्दे आउनुभएका धार्चे बासीहरूसँग अनुज गुरुङलाई सहयोग गर्न रकम सङ्कलन गर्ने काम भइरहेको पनि उहाँले बताउनुभयो । 

आइतबार गोरखा सदरमुकाममा एक कार्यक्रमका बिच धार्चे गाउँपालिकाले अध्यक्ष लक्ष्मण गुरुङले नगद सहित हस्तान्तरण गर्दै मिर्गौला पीडितलाई गाउँपालिकाले पनि सक्दो सहयोग गरिने उहाँको भनाइ छ ।