• ९ भदौ २०८१, आइतबार

अफगानिस्तानी सदाचार कानुनप्रति राष्ट्रसङ्घद्वारा चासो व्यक्त

blog

काबुल, भदौ ९ गते । अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय नियोगले तालिबानले हालै पारित गरेको सदाचारसम्बन्धी कानुनप्रति ‘चिन्तित’ रहेको बताएको छ ।

तालिबान अधिकारीहरूले बुधबार इस्लामी कानुनको कडा व्याख्याको आधारमा व्यापक व्यवहार र जीवनशैलीबारे प्रतिबन्धहरूको वर्णन गर्दै ३५ धाराहरू थप गरी कानुनको संशोधन गरेको घोषणा गरेका थिए ।

कानुनमा व्यवस्था भएका धाराहरूको उल्लङ्घन गरेमा मौखिक चेतावनीदेखि, जरिवाना र हिरासतसम्मको प्रावधानको घोषणा सदाचार मन्त्रालयअन्तर्गतका नैतिकता अधिकारीले गरेका हुन् ।

अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घीय सहायता नियोग (यूएनएएमए) का प्रमुख रोजा ओतुनबायेभाले भन्नुभयो, “यो अफगानिस्तानको भविष्यका लागि एक कष्टप्रद दृष्टिकोण हो । यहाँ नैतिक निरीक्षकहरूले उल्लङ्घनको विस्तृत र कहिलेकाहीँ अस्पष्ट सूचीको आधारमा कसैलाई धम्की दिने र हिरासतमा राख्ने ‘विवेकपरक’ अधिकार छ ।”

“दशकौँको युद्धपछि र भयानक मानवीय सङ्कटका बिच अफगानी जनता प्रार्थनाका लागि ढिला भएमा, परिवारको सदस्यभन्दा बाहिरको विपरीत लिङ्गीलाई हेरेमा वा प्रियजनको फोटो राखेमा कारबाही व्यहोर्ने वा जेल जानुपर्नेछ,” ओटुनबायेभाले भन्नुभयो ।

सन् २०२१ को अगष्टमा तालिबान सत्तामा फर्किएदेखि नै कानुनका धेरै बुँदाहरू अनौपचारिक रूपमा लागू भइसकेका छन् र तालिबानले औपचारिक कानुनी संहितालाई कडाइका साथ लागू गर्नेछ वा गर्नेछैन भन्ने स्पष्ट छैन ।

‘लैङ्गिक विभेद’ को संज्ञा दिएको प्रतिबन्धका कारण महिलाहरू सार्वजनिक जीवनबाट वञ्चित भएका संयुक्त राष्ट्रसङ्घले बताएको छ ।

ओतुनबायेभाले भन्नुभयो, “यो कानुनी संशोधनपछि पहिले नै असहनीय प्रतिबन्धहरू विस्तार गरेको तालिबान प्रशासनद्वारा लगाइएका अफगान महिला र बालिकाहरूको अधिकार, घर बाहिर महिलाको आवाजको अधिकारलाई पनि नैतिक उल्लङ्घन मानिएको छ ।”

कानुनअनुसार महिलाले घरबाट बाहिर निस्कँदा आफ्नो अनुहार र शरीर छोप्नुपर्छ र आफ्नो आवाज नसुनिएको सुनिश्चित गर्नुपर्छ ।

संयुक्त राष्ट्रसङ्घले कानुनमा धार्मिक र प्रेस स्वतन्त्रतामाथिको प्रतिबन्धप्रति पनि चिन्ता व्यक्त गरेको छ । कानुनमा मिडियाले ‘सरिया कानुन र धर्मको प्रतिकूल सामग्री’ प्रकाशन गर्न बन्देज लगाएको छ ।

यद्यपि, कानुनमा केही सकारात्मक धाराहरू पनि समावेश भएका छन् । अनाथ र केटाकेटीलाई खेलौनाको रूपमा व्यवहार गर्नबाट प्रतिबन्ध लगाइएको छ ।

अफगानिस्तानमा वृद्ध पुरुषहरूले केटाहरूलाई केटीहरूको रूपमा लुगामा सजाएर उनीहरूको यौन शोषण गर्ने गरेको पनि सुनिने गरिएको छ । रासस/एएफपी