• ९ भदौ २०८१, आइतबार

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सहिद लखन प्रथम

blog

गुणबहादुर रोका 

सुलीकोट, भदौ ९ गते । गोरखामा रहेका ११ वटा स्थानीय तहहरूमध्ये सहिद लखन गाउँपालिका सबैभन्दा धेरै अङ्क ल्याएर स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा प्रथम भएको छ । गत आर्थिक वर्ष २०८०-२०८१ मा सहिद लखन गाउँपालिकाले ८४.२५ प्रतिशत अङ्क ल्याएर जिल्ला प्रथम हुन सफल भएको हो । 

सहिद लखन गाउँपालिकाले शासकीय प्रबन्धमा ९, सङ्गठन तथा प्रशासन र वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ८-८ अङ्क पाएको छ । वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ९, सेवा प्रवाहमा १३, न्यायिक कार्य सम्पादनमा ७, भौतिक पूर्वाधारमा ११, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ६.७५ सहकार्य तथा समन्वयमा ४. ५ अङ्क ल्याएको छ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नतिजा अनुसार बारपाक सुलीकोट गाउँपालिकाले ८३.५० प्रतिशत, गण्डकी गाउँपालिकाले ८१.७५ प्रतिशत, भीमसेन थापा गाउँपालिकाले ८१.२५ प्रतिशत अङ्क प्राप्त गरेका छन् । 

त्यस्तै, पालुङटार नगरपालिकाले ७४.५० प्रतिशत, अजिरकोट गाउँपालिकाले ६८ प्रतिशत, धार्चे गाउँपालिकाले ६७ प्रतिशत, सिरानचोक गाउँपालिकाले ६२.५० प्रतिशत, गोरखा नगरपालिकाले ४८.५० प्रतिशत र सबैभन्दा कम अङ्क ल्याउनेमा उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले ४८.२५ प्रतिशत अङ्क प्राप्त गरेका छन् । 

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा १० वटा सूचकमा एक सय प्रश्नहरू हुन्छन् । विभिन्न सूचकमा ९ देखि १६ अङ्कसम्म पूर्णाङ्क तोकिएको हुन्छ । नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र अन्त सरकारी वित्त व्यवस्थापन ऐन २०७४ लगायतका कानुनले स्थानीय तहको कार्य जिम्मेवारी तोकेका विषय, कार्यविधि र उपलब्धिका बारेमा लेखाजोखा गर्न स्वमूल्याङ्कन गर्ने गरिएको छ । 

स्थानीय तहको सबल दुर्बल पक्षहरूको विशेषण गर्ने प्रायोजनका लागि स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ अनुसार स्वमूल्याङ्कनको नतिजा कार्यपालिकाबाट स्वीकृत गरी आ आफ्नो वेबसाइट र सूचना पाटीमार्फत सार्वजनिक गर्नु पर्ने कार्यविधिमा उल्लेख छ ।  

सहिद लखन गाउँपालिका उत्कृष्ट २५ भित्रमा पर्न सफल हुनुमा कार्यविधिले तोके बमोजिमका इन्डिकेटरका आधारमा जनप्रतिनिधिले नीति, कार्यक्रम र आवश्यक निर्णय गर्ने तथा कर्मचारीको कुशलतापूर्वक जिम्मेवारी कार्यसम्पादन गरी अभिलेखीकरण गर्ने सकेमा उत्कृष्ट नतिजा ल्याउने सकिने सहिद लखन गाउँपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले बताउनुभयो ।