• ९ भदौ २०८१, आइतबार

जिम्मेवारी समयमै पूरा गर्न निर्माण व्यवसायीलाई मुख्यमन्त्री आर्चायको निर्देशन

blog

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नेपाल निर्माण उद्योग परिषद लुम्बिनी प्रदेश कमिटिको दोस्रो अधिवेसन उद्घाटन कार्यक्रममा सहभागी हुनुहुँदै । तस्बिर : गणेश खनाल

गणेश खनाल
अर्घाखाँची, भदौ ९ गते ।
 लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कामको जिम्मेवारी लिने, तर पूरा नगर्ने प्रवृत्तिले समस्या निम्तिएको बताउनुभएको छ ।

निर्माण व्यवसायीले आफूले लिएको जिम्मेवारी समयमा पूरा नगर्दा जटिलताहरू देखिएको भन्दै समयमा जिम्मेवारी पूरा गर्ने तर्फ ध्यान दिन आग्रह गर्नुभयो । दिगो निर्माण, विकासको आधार, राष्ट्रको समृद्धि, गुणस्तरीय पूर्वाधार मुख्य नारासहित लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा सुरु भएको नेपाल निर्माण उद्योग परिषद् लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले निर्माण व्यवसायीका समस्या समाधान गर्न सरकारले काम गरिहरेको समेत जानकारी दिनुभयो ।

‘‘निर्माण व्यवसायीले आफ्नो जिम्मेवारी पूरा गर्ने कि नगर्ने । अहिले आयोजनाहरू अलपत्र देखिन्छन्,’’ उहाँले भन्नुभयो, ‘‘काम पूरा गर्न, भुक्तानी लिन असार किन किन्नुपर्छ ? पहिले नै काम सम्पन्न गर्न केले रोक्छ ?’’

सरकारले योजना कार्यान्वयनलाई गुणस्तरीय र प्रभावकारी बनाउन पाँच लाखभन्दा माथिका योजनालाई प्रतिस्पर्धाको माध्यमबाट कार्यान्वयन गर्ने नीतिगत निर्णय गरेको समेत जानकारी दिनुभयो ।

योजना कार्यान्वयनमा हुने चुहावट रोक्न सरकार प्रतिबद्ध रहेकाले निर्माणको कामलाई प्रतिस्पर्धाको माध्यबाट अघि बढाउन खोजेको स्पष्ट पार्नुभयो । ‘‘साना साना योजनालाई जोडेर इ टेण्डर गर्ने छौँ । यसबाट निर्माण व्यवसायीहरूलाई समेत कामको वातावरण बन्नेछ ।,’’ उहाँले भन्नुभयो, ‘‘गुणस्तरीय काम गर्ने, त्यसलाई छिटो छरितो समयमा सम्पन्न गर्ने विषयमा यहाँहरूको प्रतिबद्धता चाहिन्छ । सरकारले त्यसका लागि वातावरण बनाउँछ ।’’

योजना कार्यान्वयन गर्दा सरकारले गत वर्षको दुई अर्ब १३ करोड भुक्तानी दिनुपर्ने जिम्मेवारी थपिएको छ । तर स्रोत जुटाउने गरी सरकारले पहल लिएको भनाइ उहाँको छ । गत वर्ष खानेपानी आयोजनाको लागि ५८ करोड रकम भुक्तानी गरेर बिचमा रोकिएका आयोजनालाई गति दिने काम गरेको समेत बताउनुभयो । निर्माण व्यवसायीले गर्ने राम्रो कामलाई नागरिक स्तरबाट मुक्त कण्ठले प्रशंसा गर्ने वातावरण निर्माण गर्न सकिने र त्यसमा ध्यान दिन आग्रह गर्नुभयो ।