• ९ भदौ २०८१, आइतबार

छोरीको नाममा बैङ्क खाता उपहार

blog

मीना कंडेल

कावासोती, भाद्र ९ गते । हुप्सेकोट गाउँपालिकाले पालिकाभित्र छोरी जन्मेपछि पाँच हजार रकम सहितको बैङ्क खाता उपहार दिने गरेको छ । छोरी जन्मँदा खुसी नहुने समाजमा छोरीप्रति सम्मान र आत्म निर्भरताको विकास गर्नुका साथै भ्रूण हत्या रोक्नका लागि यो अभियान सुरु गरिएको हो ।

आ.व. २०७७-७८ देखि सुरु गरिएको ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रममार्फत गाउँपालिकाभित्र जन्मने छोरीहरूको बैङ्क खातामा पाँच हजार रकम जम्मा गर्न सुरु गरिएको थियो । पालिकाले चार वर्षमा दुई सय ५६ जना बालिकाहरूको बैङ्क खातामा पाँच हजारका दरले रकम जम्मा गरिदिएको हो ।

हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले छोरीको नाममा बैङ्क खातामा राखिएको रकम उच्च शिक्षा अध्ययनका बेला उपयोग हुने अपेक्षा सहित बचत गर्ने बानीको विकास गर्न यो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । आव २०७७-७८ मा ३८ जना, ०७८-७९ मा ५९ जना, ०७९-८० मा ९७ जना र ०८०-८१ मा ६२ जना बालिकाहरूको बैङ्क खातामा रकम जम्मा गरिएको उहाँले बताउनुभयो ।

हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पराजुलीले गाउँपालिकाले छोरी जन्मिए पाँच हजार रुपियाँ बैङ्क खातामा जम्मा गरिदिने कार्यक्रम सञ्चालन गरेपछि छोरी जन्माउने अभिभावक शिशुको नामकरणपछि समयमै जन्म दर्तासँगै बैङ्क खाता खोल्न जुट्ने गरेका बताउनुभयो । 

गत आव सम्ममा दुई सय ५६ जना बालिकाहरूलाई पाँच हजारका दरले १२ लाख ८० हजार रकम बैङ्कमा जम्मा गरिएको पराजुलीले बताउनुभयो ।

'हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रम सञ्चालन गरेपछि उमेर पुगेर बच्चा जन्माउने, नियमित स्वास्थ्य चौकी आएर गर्भ परीक्षण गर्ने, अस्पतालमा नै सुत्केरी हुने, बच्चाको समयमै जन्म दर्ता गरिदिने लगायतका सकारात्मक बानीको विकास भएको प्रमुख प्रशासकीय अधिकृत पराजुलीलले बताउनुभयो ।