• ९ भदौ २०८१, आइतबार

सन्तानको दीर्घायुको कामना गर्दै तीन छठ्ठी पर्व मनाइयाे

blog

कपिलबस्तु नगरपालिकाको निगालिकोटमा पूजा गर्दै ब्रतालु । तस्बिर : नारद कोहार

नारद कोहार

तौलिहवा (कपिलवस्तु), भदौ ९ गते । हिन्दु मधेसी समुदायका महिलाहरुले आफ्ना छोराको दीर्घायुको कामना गर्दै कपिलवस्तुमा धुमधामका साथ तीन छठ्ठी पर्व मनाएका छन् । आफ्ना सन्तान र श्रीमानको दीर्घायुको कामना गर्दै उनीहरुले हर्षोल्लासका साथ सो पर्व मनाएका हुन् । 

घर नजिकै कुश रहेको ठाउँमा उनीहरुले पूजापाठ गरी सो पर्व मनाएका छन् । ब्रतालु महिलाहरुले पर्वका दिन बिहानै महुवाको दतिवनले दाँत माझ्ने चलन छ । सो पर्वका दिन मधेसी समुदायका महिलाले बिहानै स्नान गरी ब्रत, पूजापाठ र भजन कीर्तन गरी तीन छठ्ठी पर्व मनाउने गर्दछन् ।

कपिलवस्तु नगरपालिका थुम्हवाकी अखिलेश यादवका अनुसार छोरा हुने महिलाले सन्तानको सुख शान्ति र दीर्घायु तथा छोरा नभएका महिलाले छोरा जन्मिउन भनि यो ब्रत राख्ने चलन रहेको बताउनुभयो । "यस पर्वमा घासे कुश, महुवा र तिन्नी नाम गरेको चामलको पूजा पाठ गरी आफ्ना छोरालाई टीकाटालो गर्ने गरिन्छ," उहाँले भन्नुभयो ।

त्यस्तै कपिलवस्तु नगरपालिका ६ की सीता ठाकुरका अनुसार तीन छठ्ठी पर्व छोरा भएका महिलाहरुले मनाउने गरेको बताउनुभयो । जब छोरा जन्मिन्छन् तबदेखि यो पर्व मनाउने गरिएको उहाँको भनाइ छ । 

अर्का ब्रतालु मीना कोहारका अनुासर तीन छठ्ठी माईले जसको मनोकमना पूरा गर्नुहुन्छ त्यसैले यो पर्व मनाउने गरेको उहाँको भनाइ छ । मनोकमना पूरा भएपछि विभिन्न किसिमका नाचगान पनि गर्ने गरेको उहाँ बताउनुहुन्छ । उहाँले तीन छठ्ठी माताको ब्रत बस्ने परिवारकै फलिफाप हुने विश्वास व्यक्त गर्नुभयो ।

उपवास सकेपछि हलो नजोतिएको खेतको अन्न अर्थात् (तिन्नीको भात) जङ्गली धानको चामलको भात र साग खाएर महिलाहरुले ब्रत गर्ने गर्दछन् । ब्रतका बेला कुशसँगै देवीहरुको मन्दिरमा पूजाआजा गर्ने प्रचलन छ । पूजाका लागी चिनी नहालेको दहिी, हल्दी, चामल, चनाका र महुवालाई एकै ठाउँमा मुछेर प्रसाद बनाइन्छ । 

विशेषगरी कुशको पूजा गर्नका लागि ब्रतालु महिलाहरु निगालिकोट, तौलिहवास्थित प्रहरी कार्यालय बाहिर र नेपाली सेनाको ब्यारेक, चौबिस हजार नहरलगायतका कुश भएका विभिन्न स्थानमा पुगेका थिए । त्यहाँ भक्तजनहरुको भीड लागेको थियो । कतिपय ब्रतालुले भने आफ्नै घरमा पूजा गरेका थिए । भाद्र कृष्ण षष्ठीको दिन पर्ने सो चाडमा उनीहरुले  ब्रत र पूजापाठ गर्ने गर्दछन् ।