• ९ भदौ २०८१, आइतबार

पहिरोले मुख्य सडकहरू अवरुद्ध , स्कोर्पियो बगायो

blog

बेनी–बागलुङ सडक अन्तर्गत बेनी नगरपालिका–२,हुलाकेमा पहिरोले बगाएको स्कोर्पियो । तस्बिर ः साधन घर्ती

साधन घर्ती 

म्याग्दी (दरबाङ), भदौ ९ गते । म्याग्दी सदरमुकाम जोड्ने मुख्य सडकहरू अवरुद्ध भएका छन् । गयरातीदेखि परेको भारी वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खस्दा बेनी–जोमसोम ,बेनी–दरबाङ ,बेनी–बागलुङ र बेनी–माल ढुङ्गा सडकमा सिधा यातायात अवरुद्ध भएको हो । बेनी–दरबाङ सडक अन्तर्गत मालिका–६,बाङ्गेभीरमा,मङ्गला–२,लाम्पाटामा तथा बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिकाको वडा नम्बर २को सिमाना घुमाउने पहिरोमा पहिरो खसेको छ । 

बेनी–बागलुङ सडक अन्तर्गत बेनी नगरपालिका–१,स्थित हुलाके भन्ने ठाउँमा ग २ च ९३ ५५ नम्बरको स्कोर्पियो बगाएर सात मिटर तल पुर्याएको छ । राती पोखराबाट बेनी आउने क्रममा भेल सँगै आएको बाढीले गाडी बगाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ  । गाडीमा क्षति भए पनि मानवीय क्षति भने भएको छैन । गाडी निकाल्ने प्रयास भइरहेको छ ।बेनी –जोमसोम सडक अन्तर्गत अन्नपूर्ण–३,गुइँठे र खामभित्ता ,रघुगङ्गा– २,उपल्लो बैसरी र कुनौटेमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले जानकारी दिनुभयो ।  

यसै गरी बेनी–अर्थुङ्गे सडकमा पनि पहिरो खसेको छ । त्यस्तै बेनी नगरपालिका–९,गलेश्वर स्थित जडभरत माध्यिमक  विद्यालय भवनमा लेदो सहितको बाढी पसेर क्षति पुर्याएको छ । भने बेनी–माल ढुङ्गा सडकमा विभिन्न ठाउँमा पहिरो खस्दा सिधा यातायात अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा यात्रु ,यायायात व्यवसायी र मुक्तिनाथ जाने तीर्थयात्रीले सास्ती व्यहोर्नु परेको छ । भने ढुवानीमा समस्या भइरहेको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो । ‘‘गयरातीदेखि परेको भारी वर्षाका कारण  म्याग्दीका मुख्य सडकहरू अवरुद्ध भएका छन् । अवरुद्ध सडकहरू मर्मत गरी सिधा यातायात सुचारु गर्ने प्रयास भइरहेको छ ,’’प्रजिअ ढकालले भन्नुभयो ।