• १० मंसिर २०८१, सोमबार

छिमेकी सद्भाव

blog

नेपाल र भारत युगौँदेखि घनिष्ठ मित्रता भएका दक्षिण एसियाली मुलुक हुन् । यी दुई देशबिचको अनुकरणीय सम्बन्ध र मित्रता विश्वमा बिरलै देख्न पाइन्छ । कतिपय मुलुकको छरछिमेक सम्बन्ध राजकीय तथा औपचारिकता मात्र सीमित भएको देखिन्छ । कतिपय मुलुकको छिमेक सम्बन्ध त वैरभावपूर्णसमेत हुन्छ । नेपाल र भारतबिच भने राज्यस्तरको घनिष्ठ सम्बन्धसँगै मित्रताका अनेक आयाम छन् । नागरिक तहको आर्थिक, सामाजिक, सांस्कृतिक मित्रताको युगीय सम्बन्धले दुई देशबिचको मित्रतालाई युगौँदेखि सघन बनाउँदै लगेको छ । यो सम्बन्धलाई दुवै देशका राजनीतिक नेतृत्वको बेलाबखत भइरहने भ्रमणले अझ उचाइमा पु¥याउन सहयोग गरिरहेको हुन्छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको हालैको भारत भ्रमणले दुई देशबिच अझ बढी सद्भाव बढाउने दिशामा महत्वपूर्ण भूमिका खेलेको छ ।

भारतीय विदेशमन्त्री एस. जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा परराष्ट्रमन्त्री डा. राणाले यही भदौ २ देखि ६ गतेसम्म भारतको औपचारिक भ्रमण गर्नुभयो । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) मिलेर गत असारमा नयाँ सरकार बनेपछि आन्तरिक तथा बाह्य जगत्मा सरकारको प्रभावकारी उपस्थिति देखिन थालेको सन्दर्भमै यो भ्रमणलाई हेरिएको छ । नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा यो सरकार बनेसँगै अर्थतन्त्रमा सकारात्मक प्रभाव बढ्दो छ । पुँजी बजारमा लगानीकर्ताको उच्च आकर्षणले लगानीको प्रतिफल बढ्दै जान थालेको छ । सुस्त रहेको अर्थतन्त्र चलायमान हुँदै एकै दिनमा झन्डै ३० अर्ब रुपियाँसम्मको धितोपत्र कारोबारले सरकारप्रतिको विश्वसनीयता बढ्दो छ । त्यही क्रममा नेपालको छिमेकसँगको सम्बन्ध बलियो बनाउन डा. राणाको नयाँ दिल्ली पहलको उच्च कूटनीतिक महत्व स्पष्ट झल्कन थालेको छ ।

पहिलो त यो भ्रमणबाट नयाँ सन्दर्भमा उच्च कार्यकारीको भ्रमण आदानप्रदानको मार्गप्रशस्त भएको छ । प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपालको राजकीय भ्रमणका निम्ति दिनुभएको निमन्त्रणा डा. राणाले भारतीय कार्यकारी प्रमुखसमक्ष हस्तान्तरण गर्नुभयो । प्रधानमन्त्री मोदीले यो निमन्त्रणालाई उच्च महत्व दिनुभएको छ । मोदीबाट उपयुक्त समयमा नेपाल भ्रमणमा आउने वचनले नवीन राजनीतिक सन्दर्भमा दुवै देशका कार्यकारीबिच काठमाडौँ बसेर सम्बन्धका नयाँ आयाममा सँगै मिलेर अगाडि बढ्ने बाटो खुलेको छ । स्वच्छ ऊर्जाको ठुलो माग खेपिरहेको भारतले नेपालबाट १० हजार मेगावाट विद्युत् आयात गर्ने विषयले आकार लिँदै छ । नेपालबाट विद्युत् निर्यातको रेखाचित्र बढ्न थालेको छ । यो मार्गचित्रमा आसन्न भ्रमणले अझ प्रभावकारी भूमिका खेल्न सक्ने विश्वास बढेको छ ।

दोस्रो महत्वपूर्ण पक्ष, यो भ्रमणमा डा. राणा र भारतीय विदेशमन्त्री जयशङ्करबिच आपसी हित र चासोका सबै विषयमा खुलेर कुराकानी भएको छ । नेपालको आर्थिक विकासमा उच्च सहयोग र सद्भाव राख्ने छिमेकीसँग नेपाली जनताको आय, उत्पादन र रोजगारी निरन्तर जोडिनु महत्वपूर्ण विषय हो । जलस्रोतका धनी नेपाल केवल विद्युत् निर्यात गरेर मात्र देशीय अर्थतन्त्र बलियो बढाउन सक्दैन । त्यसका निम्ति बाह्य लगानी आमन्त्रण गर्नुपर्ने हुन्छ । वार्षिक सात/आठ लाख नेपाली रोजगारीकै सिलसिलामा बाहिरिनु परेको सन्दर्भमा भारतीय लगानीकर्ता नेपालमा ल्याई उद्योग, कलकारखाना विस्तार गर्दा देशभित्रै रोजगारी सिर्जना हुने अनुपम वातावरण बन्ने छ । विद्युत् निर्यातसँगै सेतो सुनका रूपमा रहेको नेपालको विद्युत्लाई देशभित्रै रोजगारी सिर्जना गर्ने माध्यम बनाउन पनि यो भ्रमणले आगामी दिनमा आधारस्तम्भको भूमिका खेल्ने विश्वास गरिएको छ ।

कतिपयले यो भ्रमणलाई वर्तमान सत्ता साझेदारीबिच दरार उत्पन्न गर्ने तवरले पनि बुझ्न बुझाउन खोजेको देखिन्छ । यो विल्कुलै गलत हो । डा. राणालाई नयाँ दिल्लीमा गरिएको उच्चस्तरीय स्वागतका विषयमा गलत तवरले टीकाटिप्पणीको दुस्प्रयास उचित होइन । खास गरी विपक्षी दलको उच्च नेतृत्वबाटै डा. राणाको नयाँ दिल्लीमा गरिएको न्यानो स्वागतबाट सत्ता साझेदार नेकपा एमालेमा 

आशङ्का पैदा भएको टिप्पणी गरिएको छ । यो असाध्य नसुहाउने टिप्पणी हो । बाह्य सम्बन्धलाई निहित राजनीतिक स्वार्थमा प्रयोग गरिनु कदापि उचित हुँदैन । आखिर डा. राणालाई दिएको स्वागत र सम्मान उहाँले मात्र पाएको स्वागत र सम्मान होइन, त्यो त पूरै नेपाल र समग्र नेपालीले पाएको सम्मान हो । नेपालप्रति छिमेकीले बढाएको उच्च सद्भाव हो । विपक्षी दल सिङ्गो नेपाल र समग्र नेपालीभन्दा बाहिर हुन सक्दैन । समग्रमा यो भ्रमणबाट नेपाल र नेपालीको हितमा मिलेर काम गर्न नयाँ दिल्लीको उच्च सद्भाव स्पष्ट देखिएको छ । यसलाई आगामी दिनमा संस्थागत गर्दै लैजानु वाञ्छनीय छ ।