• ९ भदौ २०८१, आइतबार

तालिबानद्वारा महिलालाई सार्वजनिक रुपमा बोल्न र अनुहार देखाउन प्रतिबन्ध

blog

काबुल, भदौ ८ गते । तालिबान सरकारको मन्त्रालयले महिलालाई सार्वजनिक रूपमा बोल्न र अनुहार देखाउन प्रतिबन्ध गर्ने नयाँ कानुन लागू गरेको ग्लोबल न्युजले जनाएको छ । यो कानुनले अफगानिस्तानमा महिलाको जीवन अझ सीमित गर्ने भएको छ ।

अफगानिस्तानमा तालिबानको कब्जापछि सन् २०२१ मा स्थापना भएको “सद्गुणको प्रचार र दुराचारको रोकथाम” मन्त्रालयले बुधबार नयाँ कानुन जारी गरेको हो ।

एक सय १४ पृष्ठको कानुनी दस्ताबेजले अफगानिस्तानको सार्वजनिक जीवनका पक्षहरूलाई समेटेको छ ।

मन्त्रालयका प्रवक्ता मौलवी अब्दुल गफर फारूकले बिहीबार भन्नुभयो “हामी आश्वासन दिन्छौँ कि यो इस्लामिक कानुनले सद्गुणको प्रवर्द्धन र दुराचार उन्मूलनमा ठुलो मद्दत गर्नेछ ।”

दस्ताबेजको धारा १३ मा महिलाले सार्वजनिक रूपमा प्रस्तुत हुँदा कसरी लुगा लगाउनु पर्छ र कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुराको व्याख्या गरिएको छ ।

महिलाले आफू प्रलोभनमा नपर्न र अरूलाई प्रलोभनमा नपार्न सार्वजनिक रूपमा प्रस्तुत हुँदा अनुहारसहित आफ्नो सम्पूर्ण शरीर ढाक्न आवश्यक रहेको नयाँ कानुनले जनाएको छ । महिलाहरूले सामान्यतया लगाउने हिसाब जसले कपाल र घाँटी मात्र ढाक्छ अब नयाँ कानुनअनुसार स्वीकार्य नभएको ग्लोबल न्युजले जनाएको छ । 

महिलाको आवाज बढी ‘लालाहित’ हुने व्याख्या गर्दै नयाँ कानुनले अब महिलालाई सार्वजनिक रूपमा गाउन वा चर्को स्वरमा बोल्न निषेध गरेको छ ।

महिलालाई रगत वा विवाहद्वारा सम्बन्धित नभएका पुरुषलाई हेर्ने अनुमति नभएको व्याख्या नयाँ कानुनले गरेको छ ।

यी नियमहरू उल्लङ्घन गर्दा सजायस्वरुप सम्पत्ति जफत वा तीन दिनसम्म हिरासतमा राख्न सकिने चेतावनी दिइएको छ । मन्त्रालयले पहिले नै समान नैतिक मापदण्डहरू लागू गर्दै यसको उल्लङ्घनका लागि हजारौँलाई हिरासतमा लिएको छ ।

ह्युमन राइट्स वाचको महिला अधिकार विभागका सहयोगी निर्देशक हिथर बारले नयाँ नियमको टिप्पणी गर्दै भन्नुभयो “यी नियमहरू पहिले नै थिए तर औपचारिक थिएनन्, अब औपचारिक बनाइएको छ । मलाई लाग्छ यो हामीले विगत तीन वर्षदेखि देखिरहेका कुराको सङ्केत हो, दमनको क्रमिक वृद्धि हो ।”

तालिबानले अफगानिस्तान कब्जा गरेदेखि महिलाको स्वतन्त्रतामा कडा प्रतिबन्ध लगाउँदै आएको छ । सन् २०२२ मा तालिबानले महिलाहरूलाई छैटौँ कक्षाभन्दा माथि विद्यालय जानबाट प्रतिबन्ध लगाएको थियो ।

त्यसैगरी सन् २०२२  मा तालिबानले महिलालाई गैरसरकारी संस्था (एनजिओ)मा काम गर्न प्रतिबन्ध लगाएको थियो । ग्लोबल न्युजसँग कुरा गर्ने एक महिलाले एनजिओमा जागिर गुमाएपछि आफ्नो परिवार गरिबीमा डुबेको बताउनुभएको छ ।

“म मेरो परिवारको आर्थिक भार बोक्ने एकमात्र आधार हुँ । हामी परिवारमा चार जना मात्रै छौँ: म, मेरी बहिनी र मेरा आमाबाबु । मेरो बुबा अहिले बिरामी हुनुहुन्छ । हामीलाई बिहान बेलुका खान पनि समस्या छ”, उहाँले भन्नुभयो ।

महिलामाथि लगाइएको नयाँ प्रतिबन्धका अतिरिक्त बुधबार पारित भएको कानुनले सङ्गीत बजाउन पनि निषेध गरेको छ । यसले  पुरुषलाई दाह्री काट्न पनि निषेध गरेको छ । यस कानुनले चालकहरूलाई पुरुष अभिभावकबिना महिलालाई ओसारपसार गर्न निषेध गरेको छ ।

गत महिना संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनले मन्त्रालयले आफ्नो आदेश र कार्यान्वयन विधिमार्फत अफगानीबिच डर र धम्कीको वातावरणलाई बढावा दिइरहेको सङ्केत गरेको थियो ।

तालिबानले संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनलाई अस्वीकार गरेको छ । रासस/एएनआई